पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ ।
चैँपर लेम भाईखलक घान्द्रुकको आयोजनामा पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा बुधबारदेखि पहिलो संस्करणको प्रदीप मेमोरियल बास्केटबल प्रतियोगिता सुरु भएको हो ।
उक्त प्रतियोगिताअन्तर्गत खुल्ला पुरुषतर्फ आज ६ खेल सम्पन्न भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । पहिलो खेलमा छोम्रोङ रातोले एमवाइसी घान्द्रुकलाई ५८–४० अङ्कले पराजित ग¥यो । दोस्रो खेलमा मर्दी खोलाले छोम्रोङ सेतोलाई ४१–२१ अङ्कले पराजित ग¥यो ।
यस्तै तेस्रो खेलमा टिम ख्याङले रामघाट बीलाई ७०–२३ अङ्कले पराजित ग¥यो । चौथो खेलमा कास्की बास्केटबल एकेडेमीको अनुपस्थितिमा वाकओभरमार्फत बेगा गाउँ विजयी बन्यो ।
पाँचौ खेलमा पुन युनाटेड नदीपुरले अघौँ पुनमगर समाजलाई ७२–३५ अङ्कले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । छैटौं खेलमा छोम्रोङ रातोले मनकामना क्लब दीपलाई ७०–३७ अङ्कले पराजित गर्दै छोम्रोङ रातो क्वाटरफाइनलमा प्रवेश गरेको अर्जुन गुरुङले जानकारी दिए ।
उनका अनुसार बिहीबार पनि पुरुषतर्फकै खेलहरु हुनेछन् । प्रतियोगितामा खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले उद्घाटन गरेका थिए ।





