
पोखरा/गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति माध्यमिक विद्यालयले जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेपबाइस्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहीद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहीद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेपबाइस्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहीद स्मृतिले ४ वटै गोल गर्दै उपाधि चिम्न सफल भयो ।
उपाधि जितेसँगै शहीद स्मृति माविले एक लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको स्टेपबाइस्टेपले ५० हजारमा चित्त बुझायो । शहिद स्मृति माविका कप्तान केशबहादुर रोकामगर प्लेयर अफ द टुर्नामेन्ट चुनिए । उनले १५ हजार प्राप्त गरे । विजेता उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्रा.डा. नवराज देवकोटासहितले शिल्ड हस्तान्तरण गरेका थिए ।
विजेतालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै उनले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् ।
विश्वविद्यालयले खेलकुदको शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने,‘प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनुपर्छ भनेर नै विश्वविद्यालय स्थापना भएको हो । शिक्षाको क्षेत्रमा सरकारको प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य स्वरुप अगाडि बढिरहेका छौं ।’





