आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पाँच लाखको दाउमा नारायण मावि

पाँच लाखको दाउमा नारायण मावि


  • संजय रेग्मी
  • पुष ५ २०८१, शुक्रबार

फाइल तस्बिर
पर्वत/स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मा नगरपालिकामा यही पुसको २५ गतेदेखि सुरु हुने भएको छ ।
कुश्मा नगरपालिकाको तेस्रो संस्करणको यो प्रतियोगिता पुसको २५, २६ र २७ गते बडागाउँमा रहेको खेल मैदान तथा सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतको खेल मैदानमा आयोजना हुँदै छ । चालु शैक्षिक सत्र २०८१ मा विद्यालयमा अध्ययनरत १८ वर्षसम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याइभलिन थ्रो, कराँते र तेक्वान्दो विद्याभित्रका विभिन्न समूहमा प्रतिस्पर्धा हुँदै हुने छ ।
विभिन्न २७ प्रकारका खेलहरूमा छात्र र छात्रातर्फ गरेर कुल ५४ स्वर्ण, ५४ रजत र ५४ कांस्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ । जुन विद्यालयले सबैभन्दा बढी स्वर्ण पदक जित्ने छ सोही विद्यालय विजेता बन्ने छ ।
प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीहरूको नामावली सम्बन्धित विद्यालयहरूले पुसको २२ गते अपराह्न चार बजे भित्र कुश्मा नगरपालिकाको शिक्षा शाखामा दर्ता गराइसक्नुपर्ने छ । चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिश रेकर्ड अनुसार १८ वर्षभन्दा मुनिका छात्र÷छात्राहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन् । गैर विद्यार्थी तथा उमेरको सन्दर्भमा दाबी विरोध परी प्रमाणित भएमा सहभागी खेलाडी, विद्यालय र प्रधानाध्यापकलाई अनुशासनको कारबाही गरिने नगर शिक्षा शाखाले बताएको छ ।
कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा भइसकेको छ । लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्न सफल हुने विद्यालयले सधैँका लागि ‘शिल्ड’ समेत राख्न दिने कुश्माको निर्णय छ ।
पहिलो र दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेकाले यस वर्षको तेस्रो संस्करण समेत जित्नै पर्ने दबाबमा नारायण मा.वि. छ। प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको उक्त विद्यालयले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक जितेको थियो ।
दोस्रो संस्करणमा ९ स्वर्ण, ६ रजत र ५ कांस्य गरी २० पदक प्राप्त गर्दै कुश्मा नगरपालिका–५ मा रहेको पर्वत गुरुकुल एकेडेमी दोस्रो तथा ९ स्वर्ण, १४ रजत र ११ कांस्य ३४ पदक प्राप्त गरेको कुश्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालय तेस्रो स्थानमा आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->