पोखरा/पोखरामा आजदेखि वुमन्स च्यालेन्जर कप २०८१ सुरु हुँदैछ । पुस अन्तिम साता प्रधानमन्त्री (पीएम) कप र फागुन महिनामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । त्यसैको तयारी गर्दै कास्की जिल्ला क्रिकेट संघले दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप क्रीकेटको आयोजना गर्न लागेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा कास्की जिल्लाभित्रका महिला खेलाडीहरुलाई समेटेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । कास्की जिल्ला क्रिकेट संघका र प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पीएम कप र दशौंको तयारी गर्दै कास्की जिल्लास्तरीय छनौट खेलको रुपमा प्रतियोगितालाई लिइएको बताए ।
उनका अनुसार कास्कीमा विभिन्न क्रिकेट क्लब भएपनि महिला खेलाडी विकास हुन नसक्दा खुल्ला क्याम्पको आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको क्याम्पमा ६५ जना खेलाडीको सहभागिता रहेपछि उनीहरुलाई चार टिममा बाडमाफ गरेर प्रतियोगिताको आयोजना गर्न लागेको उनले जानकारी दिए ।
‘हामीले पुरुषतर्फ क्लबस्तरीय प्रतियोगिता गरेका थियौं । महिला खेलाडी कम भएकाले हामीले खुल्ला क्याम्प गरायौं । त्यहाँ ६५ जनाको सहभागिता भएपछि हामीले चार टिम तयार गरेका छौं,’ उनले भने, ‘चार प्रशिक्षकलाई टिम दिएका छौं । यो दशौं राष्ट्रिय खेलकुद र प्रधानमन्त्री महिला क्रिकेट कप (पीएम कप) का लागि जिल्ला छनोट समेत हो ।’ उनका अनुसार पीएम कप यो महिनाको अन्तिम साता हुने भनिएको छ ।
प्रतियोगितामा भद्रकाली, बाराही, विन्ध्यवासिनी र अकला टिमको सहभागिता रहेको छ । पहिलो खेलमा टिम अकलाले टिम बाराहीको सामना गर्नेछ । यस्तै टिम भद्रकालीले टिम विन्ध्यवासिनीसँग दोस्रो खेल खेल्नेछ ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा पुस ११ गते अकलाले विन्ध्यवासिनी र भद्रकालीले बाराहीको सामना गर्नेछ । यस्तै १२ गते भद्रकालीले अकला र विन्ध्यवासिनीले बाराहीको सामना गर्नेछ । प्रतियोगिताको शीर्षस्थानमा रहने टिम विजयी हुनेछ । जिल्ला छनोट पछि कास्कीको महिला टिम राम्रो बन्नेमा आशावादी रहेको उनी सुनाउँछन् । उनका अनुसार यस पटक खुल्ला क्याम्पमा धेरै खेलाडी आएकाले १४–१५ जना खेलाडी निकाल्न त्यति समस्या हुनेछैन ।
यी हुन खेलाडीहरु ः
टिम विन्ध्यवासिनी – कप्तान चन्द्रमाया बराल, करिमा जैसवाल, सुप्रिया गुरुङ, सन्जिला रानामगर, सुस्मीता माझकोटी, एलिना श्रेष्ठ, मेघा खड्गी, सफलता भुजेल, कन्चन विक, पुजा वैजु, सोनिमा थापा मगर, अन्जु बिक र श्रीषमा विक, प्रशिक्षक विजय राउत ।
टिम भद्रकालीमा कप्तान रेजिना विश्वकर्मा, मेलिना शर्मा, रोजिना परियार, कृपा गुरुङ, निस्मा विक, कुशुम बास्तोला, सुस्मा पौडेल, सुप्रिया भट्टराई, करिस्मा तिवारी, पूर्णिमा गुरुङ, रेखा तामाङ, सम्झना विक, सिमाना रेग्मी, मुस्कान जैसवाल र मोनिका विक, प्रशिक्षक चन्द्रकुमार गुरुङ (जिम्मी) ।
टिम अकलामा कप्तान सिर्जना पौडेल, स्मारिका चौधरी, हिरा घर्तीमगर, विनिता सिग्देल, रिशा तामाङ, सुस्मीता श्रेष्ठ, सुशिला डिमडुङ तामाङ, आस्था गुरुङ, सिम्रन अधिकारी, कृष्टीना अर्याल, अनुस्का थापा, रिया परियार, सन्ध्या सुनार, अस्मीता सुनार र अन्जिली गुरुङ तथा प्रशिक्षकमा दिपेश खत्री छन् ।
टिम बाराहीमा कप्तान यशोदा भुजेल, दिप्सा विक, लक्ष्मी तामाङ, कुशुम आचार्य, नेहा गौतम, सोफिया गुरुङ, एलिशा थापा, रिया तामाङ, विनिता नेपाली, सुरक्षा क्षेत्री, रिया गुरुङ, रेविका गुरुङ, विन्दु ठकुरी, प्रतीक्षा पौडेल, जेनिशा दिस्वा र राधा परियार तथा प्रशिक्षकमा ऋीषिकेश शर्मा पौडेल रहेका छन् ।





