आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा राष्ट्रिय बास्केटबल प्रतियोगिता सुरु

पोखरामा राष्ट्रिय बास्केटबल प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८१, सोमबार

पोखरा/गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरा कप राष्ट्रिय बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सोमबारदेखी सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले विजयी सुरुवात गरेको छ । गण्डकीले लुम्बिनीलाई ८२–५३ स्कोरले हराउँदै पहिलो जित हासिल गरेको हो ।
गण्डकीका लागि पुस्कल छन्त्यालले व्यक्तिगत ३० पोइन्ट गरे । सोमबार नै गण्डकीले अर्को खेलमा मधेश प्रदेशलाई ८७–२८ को स्कोरले पाखा लगाउँदै दोस्रो जित दर्ता गरेको हो । उक्त खेलमा समेत पुस्कल छन्त्यालले २८ पोइन्टको योगदान दिए । तेस्रो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १००–२० को स्कोरले पाखा लगाएको छ । बागमतीका सम्पन्न गुरूङले १९ पोइन्टको योगदान दिए । प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको छ । सुदुरपश्चिम बाहेक अन्य सबै प्रदेशले सहभागिता जनाएको हो ।
यस अघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकारले खेलकुदलाई समेत अघि सारेको बताए । पर्यटनका साथै खेल पर्यटनबाट समेत गण्डकी प्रदेश चिनिदैँ आइरहेको र यहाँ निर्माण भइरहेको पुर्वाधारहरुले समेत खेल पर्यटनको सम्भावना बोकिरहेको उनको भनाइ छ । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरूङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात पहिलो पटक बास्केटबलको ठूलो प्रतियोगिता पोखरामा भएको सुनाए । प्रदेश स्तरीय प्रतियोगिताहरु हुँदै आए पनि राष्ट्रियस्तरका प्रतियोगिताहरु भने हुन सकिरहेको थिएन । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई नगद रु एक लाख ११ हजार १११, उपविजेतालाई नगद रु ६६ हजार ६६६ र तेस्रो हुने टिमलाई नगद ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->