पोखरा/सहारा क्लब पोखराको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले हार व्यहोरोको छ । उज्वल राईको कर्णर गोलमा आयोजक टोलीलाई पुलिसले १–० ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा मंगलवार भएको खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गरे । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार सिधै गोलमा परिणत भयो । पहिलो हाफको सुरुवातमा दबाब बनाएको सहारा फिनिसिङमा चुक्न पुग्यो । पाचौँ मिनेटमा विलियम सेसेनोङको प्रहार पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीले बचाए । १२ औं मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार पनि बिफल भयो । १७ औं मिनेटमा पुलिसका विवेक पाण्डेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २१ औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रि किक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए । खेलको ५६ मिनेटमा सहाराका कप्तान सुशीलको प्रहार पुलिसका गोलरक्षकले पन्च गर्दै बचाए ।

क्लबले प्रदान गर्दै आइको वर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट सनिष श्रेष्ठ सम्मानित भएका छन् । सनिषलाई ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो । उक्त सम्मान यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलानले प्राप्त गरेका छन् ।





