पोखरा/मोफसल अर्थात राजधानीभन्दा बाहिरका क्षेत्र । अहिले मोफसलमा दुई ठूला र चर्चित गोल्डकप चलेका छन् । ति हुन पोखराको आहा रारा पोखरा गोल्डकप र धरानमा हुने बुढासुब्बा गोल्डकप । मोफसलको गोल्डकपको समान समस्या भनेको फुटबलको नियमन निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) हो । एन्फासंग हरेक वर्ष मोफसलको एउटै युद्ध भनेको गोल्डकपको वार्षिक क्यालेन्डर बनाइ मिति घोषणा गर्नु । तर, एन्फाले सद्यैँ यसलाई नजरअन्दा गर्दै आइरहँदा यसको प्रभाव समग्र फुटबलमा देखिएको छ । बिहिबार पोखरामा जारी आहा रारा गोल्डकपमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्वाटरफाइनल प्रवेशका लागि भिड्दै थियो । बिहिबारनै धरानमा जारी बुढा सुब्बाको फाइनल प्रवेशका लागि एनआरटीले खर्साङ फुटबल क्लब युके संग खेल्दै थियो । उता एनआरटीले बुधबार भुटानको आरटीसीसंग सेमीफाइनल खेल्यो । अब यि दुई टिम धरानमा फाइनलमा भिड्दैछन् । एकै पटक गोल्डकप हुँदा टिमको खेलाडी नै बाडफाड हुन प¥यो । एनआरटी बुढा सुब्बाको डिफेन्डीङ च्याम्पियन हो उता चर्चब्वाइज पनि फाइनलमा पुगेको टिम हो यसले गर्दा दुवै टिमलाई समस्या आयो कि कुन प्रतियोगितामा कुन खेलाडी पठाउने ? एन्फाको यो कम्जोरीले मोफसलका आयोजलाई ठूलो घाटा पर्न गएको छ । गण्डकी प्रदेशको फुटबललाई जिवन्त राख्दै आएको आहा रारा गोल्डकपमा बिहिबार यि दुई टिमको खेल हेर्न टिकट काटेर आठ सय ४० जनामात्रै दर्शक आए । यो आयोजकको भन्दापनि एन्फाको गल्तिका कारण हो । जुन कुरा दुवै टिमले बताएका छन् । एनआरटीले आहा रारामा अग्रता जोगाउन नसक्दा हार व्यहो¥यो । पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा टाइब्रेकरमा ६–५ को हार व्यहोर्न बाध्य भएको हो । खेलको २५ औं मिनेटमा रिचार्ड विल्सनले उत्कृष्ट गोल गर्दै एनआरटीलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा चर्च ब्वाइजले पेनाल्टिको अवसर पाएपछि खेल बराबरीमा धकेलिएको थियो । चर्चब्वाइजका लागि नविन लामाले गोल गरे । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएसंगै ३० मिनेट अतिरिक्त समय थप गरिएको थियो । सो समयमा समेत दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
त्यसअघि चर्च ब्वाइजले खेलमा निकै अवसरहरु प्राप्त गरेको थियो । खेलको सुरुवात देखी नै एनआरटी माथि दबाब बनाइरहेको चर्चब्वाइजका मिलन लामाले ७ औं मिनेटमा अवसर पाएपनि खेर फाले । नवौं मिनेटमा नविन लामाको शसक्त प्रहारलाई एनआरटीका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे । २२ औं मिनेटमा एन्जल महर्जनको प्रहारलाई विशालले बचाए । ३३ औं मिनेटमा नविन लामाको फ्रिकिक प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८५ औं मिनेटमा मिलनको पासमा परिवर्तित खेलाडी राज भुषालले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारले जाली चुम्न सकेन । हारपश्चात एनआरटीका प्रशिक्षक जिवन सिन्केमानले एन्फका कारण खेल जुध्दा टिमहरुलाई समस्या परेको सुनाए । उनका अनुसार एकै समयमा दुइ ठाउँमा खेल हुँदा टिम बाडिदा परिवर्तन गर्ने खेलाडी नै थिएन । अहिले क्लबलाई कुन खेल खेल्ने भन्ने अन्योल पनि भएको छ । ‘अहिलेको मुख्य समस्या भनेको टुर्नामेन्ट जुध्नु हो । अहिले खेलाडीहरु धरानमा पनि खेलिरहेका छन् । खेलाडी कम हुँदा परिवर्तन गर्ने खेलाडी पनि थिएन त्यही कारण सेकेन्ड हाफमा घाइते हुँदा पनि हामीले खेलाउन बाध्य हुने स्थिति हुँदा गाह्रो भयो र हामीले अग्रता लिएको पनि गुमाउन पुग्दा त झन नरमाइलो भयो’ उनले भने, ‘जतिपनि आज हामी संग खेलाडी थिए त्यो अनुसार त राम्रै भएको हो । यो एन्फाले मिति दिदाँ यो मिलाउनुपर्ने हो नेपालमा गेम हुदैन गेम भएन भन्छ तर, गेम हुँदा एकैपटक हुन्छ यसले न अर्गनाइरजलाई राम्रो हुन्छ न खेलाडीलाई । यो कुराहरु मिलाउन पर्छ ।’
चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले दुइ ठाउँमा एकै पटक खेल हुँदा केही खेलाडी नयाँ लिएर आएको सुनाए । उनले एकैपटक खेल हुँदा टिम सेट नभएको र खेलाडीमा स्टामिनाको कमि भएको देखिएको बताए । ‘हाम्रो आजको खेलमा अलि स्टामिना नपुगेको जस्तो भयो । हाम्रो आधा टिम धरानमा छ त्यसले गर्दा दुइ चार जना नपुगेको हो अरु खेलाडीलाई लिएर आएको भएर सेट नभएको हो तर, पनि राम्रो खेल्यो केटाहरुले’ उनले भने, ‘२४ जना खेलाडी नै कन्ट्याक्टमा हुनुहुन्छ सेम टाइममा उता पनि गेम यता पनि गेम भएकाले केही खेलाडी नयाँ लिएर आउन परेको हो ।’





