पोखरा/विभागीय क्लब नेपाल पुलिस २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल स्टेडियममा जारी प्रतियोगिताको क्वाटरफाइनलमा बिग्रड ब्वाइज युकेलाई २–० गोलले हराउँदै सेमीफाइनल पुग्ने पहिलो टोली बनेको हो । पुलिसले दुवै गोल डेडबलमा (कर्नर) गर्न सफल भयो । खेलको १२ औं मिनेटमा राम वाजिको प्रहार बाहिरियो । १५ औं मिनेटमा विग्रेडका कर्मा शेर्पाले प्रहार गरेको फ्रिकीक बाहिरियो । २० औं मिनेटमा विवेक पाण्डेको पासमा आसिष राइको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । २८ औं मिनेटमा पुलिसले अग्रता लियो । विवेक पाण्डेले कर्नर बललाई गरेको प्रहार सोझै गोलमा परिणत भयो । यस्तै खेलको ४० औं मिनेटमा विवेकले नै प्रहार गरेको कर्नर बलमा राम वाजिले हेडर गोल गरे । पहिलो हाफमा २–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा समेत केही राम्रा अवसरहरु खेर फाले । ६५ औं मिनेटमा विवेकको पासमा आसिष राइको प्रहार बाहिरिदा पुलिसले अर्को अवसर खेर फाल्यो । ६७ औं मिनेटमा पुलिसका सन्जिव लामाको पासलाई उज्वलराईले नियन्त्रणमा लिन नसक्दा स्वर्ण अवसर खेर गयो लगत्तै काउन्टरमा आश्रय तामाङको पासमा निश्चिल शाहीले गरेको प्रहारमा पुलिसका डिफेन्ड प्रज्वल चौधरी बाधक बने । ७० औं मिनेटमा आश्रयले विशाल तामाङलाई पास दिएपनि उनी अनियन्त्रित हुँदा अग्रता घटाउनबाट चुके । ७२ औं मिनेटमा विग्रडले पाएको फ्रिकीकमा कर्मा शेर्पाको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ७७ औं मिनेटमा शक्तिम लिम्बुको क्रसमा विशालको हेडर बाहिरिदा विग्रेडको अर्को अवसर खेर गयो । निर्धारित समय सकिएसंगै थप गरिएको चार मिनेटमा कर्माले उत्कृष्ट प्रहार गरेपनि पुलिसका गोलरक्षक शत्रुधन चौधरी बाधक बन्दा २–० को हार व्यहोर्दै विग्रेड युके बाहिरियो । पुलिसले यसअघि आयोजक सहारा क्लबलाई कर्नरमै गोल गर्दै १–० ले हराएको थियो । जितपश्चात आफ्नो प्रतिक्रिया दिदैँ पुलिसका प्रशिक्षक चेतन घिमिरेले डेडबलमा स्कोर निकाल्दा जित हासिल गरेको बताए । उनले प्रशिक्षणको क्रममा समेत डेडबलमै फोकस गरेको र युके विरुद्ध फिजिकल गेम खेल्दा जित हासिल गरेको सुनाए । ‘ गेम आज पनि फिजिकल नै थियो स्कोर पनि डेड बलमै भयो अस्ति पनि डेडबलमै स्कोर भयो आज पनि डेडबलमै भयो । दोस्रो हाफमा हामीले काउन्टरमा अट्याक गर्ने भनेर खेल्यौ र केही अवसरहरु पनि पायौं तर, त्यसलाई सदुपयोग गर्न सकेनौं’ उनले भने । उता विग्रेडका प्रशिक्षक सुरेश रानाले आफुहरुले पुलिसको जुन क्षेत्रलाई ध्यान दिएको त्यसैमा समस्या आएको सुनाए । सहारा क्लब संगको खेलमा कर्नरबाटै गोल भएको र आजको रणनीति अनुसार कर्नरमा ध्यान दिने योजना भएपनि त्यहि कम्जोरी देखिएको स्विकार गर्दै पिच हार्ड हुँदा खेलाडीलाई निकै समस्या परेको सुनाए । युकेमा सफ्ट पिचमा खेलेका खेलाडीहरु बल होल्ड गर्दै खेल्ने बानी हुँदा पोखराको मैदानमा बल होल्ड हुनै नसक्दा समस्या भएको बताए । हार्ड पिच हुँदा खेलाडीहरु घाइते भएको उनी सुनाउछन् । ‘हामीले यो भन्दा राम्रो खेल्छौं तर आज सेट पिसमा गोल खाएपछि समस्या भयो । हाम्रो केटाहरु घाइते छन् । उनीहरु घाइते हुँदा हामीलाई समस्या आएको छ । हाम्रो गेम प्लान नै फरक थियो । ग्रासरुटबाटै आएका खेलाडी हुन पिच अलि फरक भयो यहाँ हार्ड छ एक महिना अघि आएमात्र हामीले केहि गर्न सक्थ्यौ हामी बल राख्ने टिम हौं यहाँ बल राख्नै नमिल्ने रहेछ । उता पिच सफ्ट हुन्छ त्यसैले सजिलो हुन्छ’ उनले भने । प्रतियोगितामा आज थ्रीस्टार र मछिन्द्र भिड्दैछन् ।





