पोखरा/उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको छ । सहारा क्लब पोखराको आयोजनामा शनिबार सम्पन्न २४ औं संस्करणको फाइनलमा खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।
इतिहास रच्ने दाउमा रहेको पुलिस ब्ल्याक बुल्ससामु निरीह रह्यो । यो जितले गोल्डकपमा नयाँ च्याम्पियनमात्रै पाएन, पुलिसको सातौं पटक च्याम्पियन बन्दै इतिहास रच्ने सपनासमेत भंग गरिदिएको छ । खेलको सुरुवातमा पुलिसले केही दबाब दिए पनि त्यो पर्याप्त हुन सकेन । डेडबलमा सिकार गर्न खोजेको पुलिसले खासै अवसर पाउन सकेन । पहिलो हाफमा १–० को अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल गर्दा पुलिसले एक गोल फर्कायो । ३९ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै उज्वे टोलीले अग्रता लियो । एजिलबेकको क्रसपासलाई स्लोमजोनले नियन्त्रणमा लिन खोज्दा पुलिसका प्रज्वल चौधरीले खुट्टामा हान्न पुगेका थिए । सोही क्रममा पाएको फ्रिकिकमा ज्याकहोंगिरले गरेको प्रहारलाई गोलरक्षकले समाएको बल फुत्किएर गोल हुन पुगेको थियो । त्यसपछि भने पुलिसले लय विगा¥यो । ५९ औं मिनेटमा एजिजबेकको पासलाई नियन्त्रणमा लिँदै एजिलबेकले एक डिफेन्डरलाई विट गर्दै गरेको प्रहारले जाली चुम्यो । ६६ औं मिनेटमा पुलिसका भक्तजंग खड्काले गल्तीको फाइदा उठाउँदै सावक्तजोनले सुन्दर गोल गरे । प्रज्वलले दिएको ब्याक पासलाई नियन्त्रणमा लिन प्रयास गर्न भक्तजंग चिप्लिन पुगे । सोही बललाई सावक्तजोनले अघि बढाउँदै गरेको प्रहारालाई अनमार्क रहेका पुलिसका गोलरक्षक शत्रुधन चौधरीले कुनै बचाउने अवसर नै पाएनन् । खेलको ७४ औं मिनेटमा पुलिसले १ गोल गर्दै ३–१ को स्थितिमा ल्यायो । पुलिसका उज्वल राईले प्रहार गरेको उत्कृष्ट फ्रिकीक ब्ल्याबुल्सका डिफेन्डर एलिजोनको हेडमा लाग्दै जाली चुम्यो ।
विधागत पुरस्कारमा समेत ब्ल्याक बुल्सकै दबदबा
ब्ल्याक बुल्सले खेलमा मात्रै होइन विधागत पुरस्कारहरुमा दबदबा कायम ग¥यो । ब्ल्याक बुल्सका सावक्तजोन स्याटरोभ सर्वोत्कृष्ट खेलाडीसँगै उच्च गोलकर्ता समेत घोषित भए । उनले स्कुर र उच्च गोलकर्ताको पुरस्कार प्राप्त गरे । टोलीलाई उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उत्कृष्ट गोलरक्षक ब्ल्याक बुल्सकै जसुरवेक राजाभोव घोषित भए । उत्कृष्ट डिफेन्डर समेत ब्ल्याक बुल्सकै एजिजवेक खुर्सोनवोव र प्रशिक्षक अब्दुलाजिज निशोनवेव घोषित भए । उत्कृष्ट मिडफिल्ड र इमर्जिङ प्लेयर भने पुलिसको पक्षमा रह्यो । राम वाजि मिडफिल्डर र संजिव लामा इमर्जिङ खेलाडी घोषित भए । फेयर प्ले अवार्ड थन्डर बोल्ट नर्थ युनाइटेड सिक्किमले पायो ।





