बागलुङ/नेपाल मगरसंघ बागलुङले चौथो संस्करणको लखन कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघले आइतवार पत्रकार सम्मेलन गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म ५ दिवसीय कार्यक्रम गर्न लागेको जानकारी दिएकी हुन् । मगर संघ स्थापना दिवशको अबसर पारेर ती खेल हुन लागेको पत्रकार सम्मेलनमा मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले जानकारी दिए ।
लखन कपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, पुरुष तथा महिला रस्काकस्सी प्रतियोगिता समेत आयोजना गरिने भएको हो । भलिबलतर्फ वडा स्तरीय समूहले भाग लिन पाउने छन् । अन्य खेलमा स्वतन्त्र र खुला रहने छ । पत्रकार सम्मेलनमा पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ८१ हजार १ स ८१ र द्वितिय हुनेलाई ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार दिइने छ । महिलातर्फ प्रथम हुनेलाई ३० हजार र द्वितिय हुनेलाई १५ हजार रुपैयाँ दिइने भएको हो । छेलो प्रतियोगितामा पुरुषतर्फ प्रथमलाई ८ हजार र द्वितिय हुनेलाई ४ हजार र महिलातर्फ प्रथम हुनेलाई ५ हजार र द्वितिय हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार राखिएको छ । रस्साकक्सीतर्फ पनि पुरषको प्रथम ५ हजार र द्वितियलाई ३ हजार, महिलातर्फ प्रथमलाई ४ हजार र द्वितियतर्फ २ हजार पुरस्कार दिइने जनाइएको छ । चार वर्षदेखि संघले लगातार लखनकप आयोजना गर्दै आएको छ । खेल आयोजनाकालागि ४ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
त्यस बाहेक फागुन १५ गते मुल समारोह समेत गर्ने भएको छ । सो दिन पहिचान झल्कने भेषभुषा सहितको झाँकी प्रर्दशनी, मुल समारोह समेत हुनेछ । जिल्लाको कुल जनसंख्याको ३० प्रतिशत मगर समुदाय रहेकोले पहिचानका लागि पनि दिवश मनाउने गरिएको हो भने दिवशलाई रचनात्मक बनाउन खेलकुद आयोजना गरिंदै आएको बताइएको छ ।





