पोखरा/माछापुच्छ्रे गाउँपालिकाले तेस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्दा महिला विधा थपिएको छ । महिला विधा थप गरिएसंगै पुरुषतर्फको पुरस्कार रकम भने घटाइएको छ । फागुन १४ गतेदेखि आयोजना हुने प्रतियोगिताबारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मिनबहादुर गुरुङले तेस्रो संस्करणको प्रतियोगिता धम्पुसमा आयोजना हुने सुनाए । उनका अनुसार गाउँपालिका खेलकुद विकास समितिको आयोजना, वडा नम्बर ७ को व्यवस्थापन र पालिकाको संयोजनमा गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन भने सेमीफाइनलमा हार व्यहोर्ने टिमले ५०÷५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले एक लाख तथा दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमीफाइनलमा हार व्यहोर्ने टिमले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ हालसम्म १४ र महिलातर्फ पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिता अवधिभर धम्पुस पुग्ने पर्यटकका लागि एक हजार रुपैयाँमा आवाससहितको व्यवस्थापन समेत गरिएको छ । पर्यटकीय क्षेत्र भएकाले खेलकुद संगै पर्यटन प्रबद्र्धन गर्नका लागि स्थानीयको सहयोगमा एक हजार रुपैयामा खाजा, खाना र आवासको व्यवस्थाप गरिएको बताए ।





