पोखरा/युआरएल हेल्थ केयर प्रालिले पोखरामा भारतकोविश्व प्रसिद्ध अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना गरेको छ । प्रालिले पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि स्थापना गरेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर शनिबार आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक अभिषेक दुगड र वरिष्ठ पेट रोग विशेषज्ञ डा. सत्यदीप भट्टाचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा डा भट्टाचार्यले जटिल प्रकृतिका क्यान्सर, अंग प्रत्यारोपण जस्ता समस्याको निदानका लागि अपोलो लोकप्रिय रहेको बताए । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी जान्छन् ।
अपोलोमा उपाचारका लागि जार्नैपर्नेलाई आवश्यक सहजीकरण गर्न र कतिपय सेवा यही उपलब्ध गराउन इन्फर्मेसन सेन्टर खोलिएको हेल्थ केयरका अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
‘फलोअपका लागि अपोलो नै जानुपर्ने झन्झट कम गर्न टेलिमेडिसिन सेवासमेत यही उपलब्ध छ । अध्यक्ष कोइरालाले भने,‘यहीँ परिवारसहित बसेर विशेषज्ञसँग छलफल गरी परामर्श र उपचारको सेवा पनि दिन्छौँ । त्यसका लागि ठूलो स्क्रिन र छुट्टै कक्षको व्यवस्था छ ।’ हेल्थ केयरका सल्लाहकार ठाकुरप्रसाद पन्तले युआरएलले रोगहरुको निदानमात्र नभई पोखरामै जटिल प्रकृतिका उपचार सेवा दिनेतर्फ ध्यान दिएको जनाए ।
शिविरमा १ सय ५१ जनाले सेवा लिएका छन् । कार्यक्रममा क्यान्सरलाई जितेकी लक्ष्मी शर्मा भट्टराईले ७४ पटक किमोथेरापी लिएको जनाइन् । उनले नेपालमै क्यान्सरको राम्रो उपचार हुनेमा आफू विश्वस्त रहेको जनाउँदै औषधि, उपचारसँगै क्यान्सर जित्न आत्मबल चाहिने अनुभव सुनाइन् ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङ सरकारले सुरु गर्न नसकेका सेवा निजी क्षेत्रबाट आरम्भ हुनु सुखद् भएको बताए । वरिष्ठ सर्जन प्राडा अर्जुन आचार्यले विश्वसनीय रेफरेन्स ल्याब चलाइरहेको युआरएलले अपोलोको सूचना केन्द्रसहित जटिल रोगहरुसहितको विशेषज्ञ सेवा सुरु गर्दा सर्वसाधारणलाई उपचारमा सहज हुने उल्लेख गरे । कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप थापाले पनि बोलेका थिए ।





