बागलुङ/बागलुङ जेसीजले आयोजना गरेको तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको पहिलो खेल बलेवा फुटबल क्लबले जितेको छ । बलेवाले हाइकर्स युनाइटेडलाई ३–२ गोलको अन्तरले पराजित गरेको हो ।
सोमबार बागलुङ नगरपालिका वडा नं. १ को बाङगेचौर खेल मैदानमा भएको प्रतियोगितामा बलेवाका रोशन थापा क्षेत्रीले खेलको २३ औं मीनेटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । लगत्तै २५ औं मीनेटमा हाइकर्सका सोनम घर्तीले गोल फर्काएर खेललाई बराबरीमा पु¥याएका थिए ।
दोश्रो हाफको खेल शुरु भएलगत्तै बलेवाका विवेक नेपालीले ४८ औं मीनेटमा गोल फर्काएर खेललाई अग्रता दिलाए । खेलको ५० औं मीनेटमै बलेवाकै नविन सुवेदीले दोस्रो गोल गरेपछि हाइकर्स स्तब्ध बन्यो । खेललाई बराबरीमा फर्काउने हाइकर्सको प्रयास असफल भयो । ५३ औं मीनेटमा हाइकर्सका विप्लब भण्डारीले गरेको गोलपछि हाइकर्स निराश बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलमा उत्कृष्ट खेलाडीको रुपमा बलेवाकै सुशान्त श्रेष्ठ घोषित भए । प्रतियोगितामा ११ टिम सहभागि रहेको जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए । भोलि मंगलबार नेपाली सेनाको श्रीमेहर गणविरुद्व रुद्रे पिपल युवा क्लब र पर्पल हेज÷एभिएमविरुद्व बागलुङ युनाइटेडले खेल्ने छन् ।
खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । द्वितिय हुनेलाई १ लाख नगद पुरस्कारसहित ट्रफी र मेडल दिइने आयोजकले बतायो । खेलमा बिधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।





