पोखरा/पोखरामा बुधबारदेखि पार्क भलिबल प्रतियोगिता हुने भएको छ । चिर्को युनिटी पोखराको आयोजनामा गण्डकी प्रदेशमै पहिलोपटक पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अञ्चल शाही ठकुरीले पार्क भलिबल भनेको चार–चार जना खेल्ने भलिबल रहेको सुनाए । उनका अनुसार गण्डकीमा यो भलिबल नयाँ हुनेछ । पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा उक्त प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको विजेताले ६० हजार तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्भर, डिफेन्डर, सेटर, स्पाइकर, ब्लकर र प्रशिक्षकलाई ट्रफी प्रदान गरिनेछ । उपाध्यक्ष मनोज खड्काले प्रतियोगिता सञ्चालनका लागि पाँच लाख आम्दानी र चार लाख ८१ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान रहेको सुनाए ।
प्रतियोगितामा २० बढी टिमको सहभागिता हुने अनुमान रहेको उनले बताए । प्रतियोगितासंगै सांस्कृति तथा मनोरञ्चनात्मक कार्यक्रम समेत आयोजना गरिने उनको भनाइ छ । २० गतेदेखि सुरु हुने प्रतियोगिता २४ गतेसम्म सञ्चालन हुनेछ ।





