बलेवा एफसिविरुद्व बलका लागि संघर्ष गर्दै श्रीमेहर गणका खेलाडिहरु । तस्बिर : अर्जुन कार्की
बागलुङ/साविक विजेता बागलुङ सुधार केन्द्र र बलेवा एफसी बागलुङमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगिताको पाँचौं दिन बागलुङ सुधार केन्द्रले जिल्ला प्रहरी कार्यालय बागलुङलाई र बलेवा एफसीले साविक उपविजेता श्रीमेहर गणलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । यससँगै सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगितामा गुरास गुठी युनाईटेड र पर्पल हेज÷एभिएम सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
बिहिबारको पहिलो खेलमा बलेवाले श्रीमेहरलाई सडेन डेथमा ६–५ ले पाखा लगाउदै अन्तिम चारको स्थान पक्का गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी सकिए संगै सडेन डेथमा बलेवा भाग्यमानी बनेको हो । सडेन डेथमा बलेवाले जित निकाल्दै सेमिफाइनल प्रवेश गर्दा साविक उपविजेता श्रीमेहर गण भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पेनाल्टीमा बलेवाको लागि विनेक खत्री, विवेक नेपाली, रोशन थापा क्षेत्री, आकाश बसेल, सुदिप माझी र सुशान्त श्रेष्ठले गोल गरेभने आयुष पौडेलको प्रहार श्रीमेहरका गोलरक्षक विप्लप गुरुङले रोकेका थिए । श्रीमेहरका मदन लिम्बु, विकास मगर, सुमन थापा, विप्लप गुरुङ र सागर कृष्ण परियारको प्रहार गोलमा परिणत हुँदा घनेन्द्र तुम्बापोको प्रहार बलेवाका गोलरक्षक कुशल नेपालीले बचाएका थिए । श्रीमेहरका खुमबहादुर कटवालको प्रहार गोलपोष्टमा लाग्दै बाहिरियो ।
यस्तै बिहिबारको दोस्रो खेलमा साविक विजेता बागलुङ सुधार केन्द्रले जिल्ला प्रहरी कार्यालय बागलुङलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ५६ औं मिनेटमा प्रशन्न श्रेष्ठको गोलबाट सुधार केन्द्रले अग्रता लिएको थियो । सुधार केन्द्रको लागि अतिरिक्त समयको छैठौं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै अन्तिम चारको यात्रा निश्चित गरे ।
प्रतियोगितामा भोली शुक्रबार दुवै सेमिफाइनल खेल हुने जेसीज बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । शुक्रबार बलेवा एफसीविरुद्व गुराँस गुठी युनाइटेड र पर्पल हेज÷एभिएमविरुद्व बागलुङ सुधार केन्द्र बीच हुनेछ ।





