
बागलुङ/जिल्लाको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनकोसमेत उपयोगमा लाग्न थालेका हुन् ।
निसीखोला गाउँपालिका ५ पुतलीबजारकी ५७ वर्षीया पुनीकला घर्तीमगरको दैनिकी आजभोली फेरिएको छ । पुतली बजारमा चलिरहेको ऊनको धागो बनाउने र कपडा तयार गर्ने तालिममा उनको दिन बित्छ । बिहान–बेलुका घरको काम सकेर दश नबज्दै उनी पुतली बजार पुग्छिन् । गाउँबाट संकलन गरेको भेडाको ऊनलाई सफा गर्ने, कोर्ने, बाँट्नेदेखि तानमा कपडा बनाउनेसम्मका काम उनले सिकिरहेकी छन् ।
पुन सानो छँदा गाउँमा बुढापाकाले ऊनका कपडा बनाउँथे । उनको बाल्यकला गाउँमै बनेका उनका कपडा लगाएर बिते । विस्तारै विश्व बजारका कपडा गाउँ पुगे । उनका कपडा बनाउनेहरु काम छोड्दै गए । ‘हिजोआज उनको कपडा खस्रो हुन्छ भनेर लाउनै छोडे, बनाउनेले पनि छोडे,’ पुनिकला भन्छिन्, ‘बजारतिर ऊनका कपडा खोजी हुन्छ भन्ने सुनेको छु, पहिला सिकिएन्, बुढेसकालमा भएपनि दिन कटाउने बाटो होला भनेर ऊनका कपडा बनाउन सिकिरहेको छु ।’ परम्परागत रुपमा भेडाको ऊनबाट बनेका कपडाको बिक्री वितरण बिस्तारै सेलाउन थालेपछि यहाँका महिला समुहमा आबद्ध भएर भेडाको ऊनबाट तयारी सामग्री बनाउन सिक्दैछन् ।
बिवाईसी बागलुङले जिल्लाको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन गरिरहेको दिगो पर्यटन परियोजनाले उनीहरुलाई तालिमको व्यवस्था गरेको छ । रुकुमको टकसेराबाट आएका महिला प्रशिक्षकहरुले निसीखोलाको पुतली बजारमा १३ जना र ढोरपाटन नगरपालिकाको सुपुर्दुङमा १३ जना महिलालाई ऊन निकाल्नेदेखि कपडा तयार गर्नेसम्मको काम सिकाईरहेका छन् ।
‘खेर गैरहेको ऊनलाई प्रयोगमा ल्याउन सके आम्दानी गरौंला, नभए घरको काम त चल्छ,’ ढोरपाटन नगरपालिका–९ सुपुर्दुङकी २१ वर्षिया आशा घर्तीमगरले भनिन्, ‘पहिलाभन्दा अहिले प्रबिधिले सजिलो बनाएको छ, बजार पनि ऊनका कपडाको राम्रो छ भनेका छन् ।’ गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छोडेको ऊनका कपडा दशक अगाडिसम्म गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने उनीहरु बताउँछन् । कम्बल, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ ।
ढोरपाटन र निसीखोलामा एउटै परिवारले ५ सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका छन् । ती भेडाबाट प्रत्येक वर्ष निकाल्न सकिने ऊनको प्रयोगमार्फत महिलालाई आयआर्जनसँग जोड्नेगरी सिपमुलक तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका समुह संयोजक अमर थापाले बताए । मासु स्थानीयस्तरमा बिक्री हुने र ऊनको पनि स्थानीय र विदेशी बजारमा समेत निर्यात गर्नेगरी उत्पादनमा प्रेरित गरिने उनले बताए । एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्छ । एउटा ऊनको कपडाको मूल्य न्यूनतम १५ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ ।
महिलाहरुलाई तालिमका लागि प्रशिक्षक, आवश्यक उपकरण, ऊन र खाजा खानाको व्यवस्था परियोजनाले मिलाएको छ । तालिमपछि तयार हुने सामग्रीको बजारीकरणमा महिलाहरुले समुह बनाउने बताउँछन् । ऊनको प्रयोग नभएकाले चरीचरण क्षेत्रमा नै किसानले ऊन निकालेर फाल्ने गरेकोमा स्थानीय महिलाहरुको सक्रियताले ऊनको प्रयोग बढ्ने प्रशिक्षक रमी बुढा मगरले बताईन् । उनीहरुले किसानबाट सेतो ऊन प्रतिकिलो ५० रुपैयाँ र कालो ऊन प्रतिकिलो एक सय रुपैयाँमा खरिद गर्ने गरेका छन् । बजारमा कालो ऊनको तयारी कपडा सेतो र खैरो ऊनको भन्दा दोब्बर पर्छ ।





