स्याङ्जा/प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबलमा सेमिफाइनल समिकरण पुरा भएको छ । छ वटा पालिका रहेका प्रतियोगितमा लिग चरणका खेल सकिएसँगै सेमिफाइनमा प्रवेश गर्नेको टुङ्गो लागेको हो ।
लिग खेलमा अपराजित रहेको वालिङलाई सिधा सेटमा गल्याङले २५–१९, २५–१९ र २५–१९ अंकले पराजित गरको हो । गल्याङको जितसँगै दुबै टिमको समान १२÷१२ अंक रहेपनि सेट जितेको आधारमा गल्याङ पहिलो बनेको हो । पहिलो बनेको गल्याङ चौथोँ भीरकोटसँग फाइनल प्रवेशको लागि भिड्ने छ ।
वालिङ चेम्बर अफकमर्सद्वारा आयोजित प्रथम पिंक सिटि महोत्सवमा पालिका स्तरीय पुरुष भलिबलमा समान अंक भएपनि सेटको आधारमा दोस्रो बनेको वालिङले तेस्रो स्थानको बिरुवासँग सेमिफाइनमा भेट पक्का गरेको हो । बिरुवाले भीरकोटलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो र चौथो भएका हुन् ।
तीन जना खेलाडी बाहिरका समावेश गर्न पाउने पालिका स्तरिय खेलमा राष्ट्रिय खेलाडी धनबहादुर भट्ट, दुर्गा महतो, प्रदेश स्तरका खेलाडी हिमाल सुनारी, बिष्णु बस्नेत, जिवन सुनार, उमेश सेन्चुरी लगायतका सहभागि रहेका छन् ।
प्रतियोगितामा वालिङ, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकासहित छ पालिकाको सहभागिता छ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक उमराज गुरुङ (राज)ले जानकारी दिए । उपविजेताले नगद एक लाख ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रोले ५५ हजार र चौथोँ हुनेले ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छ ।
फागुन २६ गतेबाट शुरु भएको खेलकुद चैत ३ गते समापन हुने छ ।





