आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज सेमीफाइनलसँगै उपाधि भिडन्त

आज सेमीफाइनलसँगै उपाधि भिडन्त


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

पोखरा/प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागीय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जीतमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे । समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् ।
समूह ‘बी’ तर्फ आर्मीले लुम्बिनीलाई ३७–२१ ले हराउँदै कुल ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे । सो समूहबाट एपीएफ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । एपीएफले आइतबार लुम्बिनी प्रदेशलाई हराएको थियो । एपिएफको ३ अंक रहँदा लुम्बनी अंकविहीन हुँदै बाहिरियो ।
समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदुरपश्चिमलाई ३७–२७ गोलले हरायो । कर्णालीको जीतमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराए पनि कोशीले सेमीफाइनलमा स्थान बनाएको छ । तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अंक रह्यो । सोही समूहबाट कोशी र कर्णालीको समान चार÷चार अंक रहे पनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णालीभन्दा ३ गोल कम खाएको थियो ।
अब सेमीफाइनलमा घरेलु टोली गण्डकीले एपिएफको सामना गर्नेछ भने आर्मीले कोशीको । प्रतियोगिताको उपाधि भिडन्त मंगलबार नै हुनेछ ।
प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागीय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि बिजेता टिमले नगद १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्याण्डबल संघ गण्डकीकी उपाध्यक्ष शान्ती थापा बैद्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->