फाइल तस्बिर
नेपालको झन्डै मध्यभागमा रहेको नेपालकै नक्साको झल्को दिने जिल्लाको रुपमा रहेको बागलुङ थुप्रै विशेषतायुक्त ठाउँको रूपमा चिनिँदै आएको छ । उहिलेको बागलुङ र अहिलेको बागलुङमा ठूलो परिवर्तन भएको पाउछौं । तर, १६ हजार पर्वतयुक्त बागलुङको घुम्टेको लेक, रूमको धुरी, बुर्तिवाङको लेक, तुलाचन धुरीले यथावतरूपमा बागलुङको इज्जत बढाएको छ । बागलुङमा रहेको उत्तरगंगा,तयान,भूजी निशी,दराम,ताराखोलालाई महत्वपूर्ण पानीको श्रोत मानिआएको अवस्थामा कालीगण्डकी र बाडेखोलाले थप प्राकृतिक सौन्दर्य थपेको छ । यसैलाई आधार बनाएर देवीस्थान, बागलुङ बलेवा, विहुँ, हटिया हरिचौर, गलकोट, थन्थाप बुर्तिवाङ, घुम्टे, ढोरपाटनजस्ता व्यापारिक केन्द्रहरु निर्माण भएका छन् । काठेपुल,फटके, बाँसको पुलको माध्यमबाट कयौं खोलाहरु तर्दै पूर्वी बागलुङबाट पश्चिम ढोरपाटनसम्म पैदल हिँडने नियतिलाई मध्यपहाडी राजमार्गको निर्माणले अन्त्य गरिदिएको छ । मध्यपहाडीले बागलुङलाई सामाजिक र आर्थिक रुपले ठूलो रूपान्तरण प्रक्रियामा प्रवेश गराएको छ । बलेवा र ढोरपाटनमा रहेका साना विमानस्थललाई बागलुङले समुचित उपयोग गर्न सकेको छैन ।
बागलुङले आफूलाई सधैँ अगग्रमन र परिवर्तनको पक्षमा उभ्याएको छ । गलकोटका चौबीसे राज्यले त्यसताका शक्तिशाली पाल्पाका राजा मुकुन्दसेनका छोरी विवाह गरेर आफूलाई शक्तिशाली बनाउने सफलता प्राप्त गरेको थियो । त्यही बेला दाइजोमा ल्याइएको देवीमूर्ति आज प्रख्यात कालिका भगवती रूपमा बागलुङको शान बढाएको छ । गलकोटका राजाले नेपालको स्वतन्त्रता आन्दोलन मा शहीद बनेर नेपाललाई ठूलो गुन लगाएका थिए ।
स्वतन्त्रतापछि गलकोटका राजाले नेपालबाट राजा रजौटाहरु अन्त्यको लागि सरकार समक्ष माग गरेको कुरा कम ऐतिहासिक हैन । स्वतन्त्रताको आन्दोलन अगाडी बागलुङ, पाल्पा गांैडाअन्तर्गत प्रशासनिक कार्यहरू चल्ने गर्दथ्यो । तर, क्रान्तिकारी चरित्र भएका बागलुङ क्षेत्रका जनताहरुले छुट्टै गौंडा माग गरेर पाल्पाको अधिनस्थ नबस्ने गरी आन्दोलन गरेको कुरा आज पनि स्मरणीय छ । त्यसको फलस्वरूप बागलुङमा छुट्टै प्रशासनिक निकायको स्थापना भएको हो ।
त्यतिमात्र हैन, राणा सरकार अन्त्य गरी नयाँ नेपाल सुरुवात गर्न प्रजातन्त्रका लागि गरिएको आन्दोलन मा बागलुङका नागरिकले महत्वपूर्ण योगदान पु¥याएका छन् ।
फलस्वरूप पश्चिम क्षेत्रमा पहिलो प्रजातात्रिक सरकारको गठन बागलुङमा नै भएको थियो । र त्यो सरकारको नेतृत्व बागलुङकै समाज सुधारक व्यापारिक केन्द्र स्थापना गर्न अगुवा भूमिका निभाएका ओमप्रसाद गौचनले गरेका थिए । ओमप्रसाद गौचन ले नै १९८५ सालमा ठूलो व्यापारिक कारोबार सुरु गरेर बागलुङलाई महत्वपूर्ण व्यापारिक केन्द्र बनाउन योगदान पुयाएका हुन् । त्यसताका साना संस्कृत पाठशालाहरुमा अध्ययन गर्ने चलनलाई आधुनिक शिक्षालय स्थापना गर्न तिनै ओमप्रसाद गौचनले मेघकुमार वैद्यसँग मिलेर ७० हात लामो भवन निर्माण गरेर विद्यामन्दिर नाम दिएका थिए । यो १९९७ सालको समय थियो ।

लेखक आनन्दराज मुल्मी ।
लेखक
यो संभवतः पश्चिम क्षेत्रमा पाल्पापछि स्थापना भएको आधुनिक विद्यालय थियो । त्यस विद्यालयमा शिक्षा ग्रहणसँगै सिकर्मी, डकर्मी, नकर्मी, कपडा बुन्ने, संगीतजस्ता व्यावसायिक शिक्षासमेत दिइन्थ्यो । त्यति मात्र हैन, २००३ सालमा पहिलो पुस्तकालय स्थापना गरी नागरिक चेतना अभिवृद्धि गर्न उल्लेखनीय योगदान पु¥याएको बागलुङमा अहिले पनि सो पुस्तकालय संचालन भएको पाइन्छ । जबकि, अन्य खुलेका पुस्तकालयहरु बन्द भएका छन् ।
बागलुङका नागरिकले संचालन गरेको शैक्षिक र सांस्कृतिक जागरण अभियान एउटा उपलब्धिपूर्ण र सबैलाई उदाहरणीय बन्न पुगेको छ । बागलुङ गौंडामा बाइसखानी अड्डा खोलिएको थियो । बागलुङको पाण्डवखानी, ताराखोला र अन्य क्षेत्रमा प्रचुरमात्रामा पाइने तामा र फलामका खानी, ढुङ्गा र स्लेट खानी भएको हुनाले उपयोगको लागी त्यो अड्डा स्थापना भएको थियो । त्यसअन्तर्गत नै टकमरी गर्ने टकमरीमार्फत् विभिन्न ठाउँमा तामाका पैसाहरु पठाउने गरिन्थ्यो ।
यसले पनि के देखाउँछ भने बागलुङ क्षेत्र आर्थिक कारोबार हुने संभावनायुक्त जिल्ला हो । बागलुङका नागरिकहरू पहिले देखि नै विदेशमा काम गर्न रुचि राख्नेका रुपमा पाइन्छ । यो कुरा निसीभूजी का कुलवीर थापाले प्रथम विश्वयुद्धको लडाइँमा उत्कृष्ट युद्ध लडेबापत् भिक्टोरिया क्रस जस्तो उच्च पदक प्राप्त गरेकोबाट पुष्टि हुन्छ । यस्तै, दोस्रो विश्वयुद्धमा थन्थापका लालबहादुर थापाले पनि उच्च समान भिक्टोरिया क्रस प्राप्त गरेका थिए ।
यसले के देखाउछ भने आजभन्दा १००÷ १२५ वर्ष अगाडी बागलुङका नागरिक वैदेशिक रोजगारीमा जाने वातावरण तयार भएको रहेछ । आज त वैदेशिक रोजगारीमा जानेमा बागलुङको स्थान उच्च नै छ । यसले बागलुङको गरिबी दरलाई कम गर्न ठूलो योगदान पु¥याएको छ ।तर, वैदेशिक रोजगारमा जानेहरूले आर्जन गरेको ठूलो रकम बागलुङ भन्दा अन्य जिल्ला मा बढी रकम लगानी भएको पाइन्छ । यसले बागलुङको आर्थिक वृद्धिदर उच्च हुन सकेको छैन ।
आर्थिक समृद्धिको कुरा गर्दा परम्परागत रूपमा लेकबस्ती को रूपमा रहेको बुर्तिवाङ निशी–भूजी, तमानखोला, पातीहाल्नेमा भेडापालन हुने गर्दथ्यो । अहिले पनि प्रायः घरहरुमा ५०–१०० – ५०० वटा भेडापालन गर्ने गरेको पाउँछौँ । भेडापालनले गर्दा निस्कने भेडा उनका सामग्री भाांग्रा,घुम, गलबन्दी, राडीपाखीजस्ता उत्पादनहरु प्रख्यात थिए । बागलुङमा पाइने बाँस र निगाला उत्कृष्ट जातका छन् । त्यसैले पनि होला– निगालाबाट बन्ने बुट्टेदार नली, काँइयो नेपालका अन्य ठाउँहरुमा पनि निकै प्रचलित थियो ।
बाँसबाट बनेका सामग्रीहरु माग तथा घरेलु उद्योगलाई बढावा दिन व्यापारी र समाजसुधारक ओमप्रसाद गौचनले १९५८ सालमा नै कपडा बुन्ने तानलाई घरघरमा पु¥याउने र कपडा तयार गर्न महिला दिदीबहिनीहरुलाई प्रोत्साहित गरेका थिए ।
उत्पादित सबै कपडा आफैले किनेर बेचबिखन गर्दथे । टाढा लेकमा उत्पादन भएका उनका सामानहरू पनि उनी आफैले किनेर अन्यत्र पठाउने काममा सघाउने काम गरेका थिए । यस कामलाई अगाडी बढाउन र दक्ष कामदार तयार गर्ने उद्देश्य राखेर स्थापना भएको विद्यामन्दिरमा कपडा बुन्ने, सिकर्मी डकर्मीजस्ता व्यवसायिक शिक्षा सुरु गर्नु शिक्षा र उत्पादनलाई जोड्ने दूरदृष्टि थियो । बागलुङको लोक्ताको हातेकागज आज पनि त्यतिकै लोकप्रिय र उच्च माग छ । तर, त्यस कागज उद्योगलाई निरन्तरता दिन सकिएको छ/छैन ? एकपटक मन्थन गरौँ ।
झन्डै ८०/८२ वर्ष अगाडीबाट सुरु गरिएको कपडा उद्योग छ/छैन ? पुनर्विचार गरौं । बाइसाखानी अड्डा नभए पनि तामा वा फलाम उत्खनन गरेर व्यावसायिक प्रयोग गर्न बागलुङ उत्साहित र सक्रिय छ/छैन विश्लेषण गरौँ । आधुनिक बागलुङमा मध्यपहाडी राजमार्गको कारणले प्रचुर संभावनाहरू त छँदैछ, आधुनिक सहर र व्यापारिक केन्द्र क्रमश विकसित हुँदैछन् । तर, अहिलेदेखि नै व्यवस्थित बनाउन ध्यान नपुयाउने हो भने पछि पछुताउने सम्भावना पनि उत्तिकै छ । आज बागलुङको पहुँचले छलाङ मारेको छ । अब गैंडाकोट वा नारायणघाट जान पोखराको सडक प्रयोग गर्न पर्दैन । रिडी, वामीटक्सार, गुल्मी, अर्घाखाँची हुँदै पश्चिम तराई क्षेत्र पुग्न सहज भएको छ । पातीहाल्नेबाट पूर्वी रुकुम हुँदै पश्चिमी पहाडी क्षेत्रका सहरबस्ती पुग्न सहज छ । ढोरपाटन–सालझन्डी सडकले उत्तर–दक्षिण मोडिन पुगेको छ । तमानाखोला, तामखोला काठेखोलाबाट म्याग्दी हुँदै कोराला नाका पुग्ने सहजता हुँदैछ । कालीगण्डकी कोरिडरले जैमुनी नगरपालिकाको सुन्दर भविष्य कोरिँदै छ । ढोरपाटन क्षेत्र आफै अलौकिक छँदैछ । त्यसमाथि उत्तरगंगा आयोजना संचालन सकेमा निशीखोला र ढोरपाटन क्षेत्रको कायापलट हुने छ ।
अब बागलुङका जनताको अर्जुनदृष्टि बलेवा र ढोरपाटनका साना हर्वाअड्डाको अधिकतम् उपयोग कसरी गर्ने भन्नेमा केन्द्रीत हुनुपर्छ । झन्डै ६० वर्ष अगाडी ढोरपाटनको तुलाचनधुरी मा भएको २ वटा जहाज दुर्घटनाले त्यसताका नै त्यसक्षेत्रको हवाइ मैदानको ध्यानाकर्षण गराएको थियो । तर आजसम्म कुनै– प्रगति र सुधार भएको छैन । अब त त सोच्ने हो कि ? झोलुङ्गे पुलहरुले भरिपूर्ण बागलुङ आफ्ना अनगिन्ती नदीनालाहरुको उचित सदुपयोग र व्यवस्थापन बारे गन्थन–मन्थन बेला आएको छ । ताराखोला, बडीगाड,निशीखोला, ढोरपाटन क्षेत्रमा मनग्य कृषि उत्पादन गर्न सकिने अवसरमात्र हैन छुट्टै ‘ब्रान्ड’ स्थापना गर्न मनन गर्ने कि !
अब आधुनिक बागलुङका सचेत नागरिकले त्यो क्रान्तिकारी छवि, पाल्पा गौंडा अधिनमा बस्न विद्रोह गरेको वा राजारजौटा उन्मूलनको लागि गरेको प्रथम प्रयास वा त्यसताका नै टकमरी अड्डामार्फत् आफ्नो अमूल्य प्रभुत्व देखाएको कुरा सम्झनुपर्ने भएको छ । त्यस्तै बागलुङमा १९८५ मा सुरु भएको व्यापार विविधिकरण, १९९७ मा खोलिएको आधुनिक विद्यालय र व्यावसायिक शिक्षा, २००३ मा खुलेको पुस्तकालय वा विश्वयुद्धमा प्राप्तगरेको सबैभन्दा उच्चपदक वा थीरबम मल्लजस्ता शहीदले दिएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने भएको छ । स्रोत–साधन सम्पन्न बागलुङका सचेत नागरिकले त्योभन्दा महत्वपूर्ण कामहरु अगाडी बढाउने बेला भएको छैन र ?
नयाँ संविधान जारी भएपछि बागलुङबाट ६ जनाले संघीय संसदमा प्रतिनिधित्व गरेका छन । प्रदेश सभामा १९ जना प्रदेश सांसदहरुले प्रवेश पाएका छन् । संभवतः गण्डकी प्रदेशमा सबैभन्दा बढी अवसर पाउने सांसदहरु यसै जिल्लाका छन् । निश्चित रूपमा बागलुङको आर्थिक,सामाजिक, राजनीतिक र सांस्कृतिक सुधारहरु भएको छ । मध्यपहाडी राजमार्गलगायत अन्य राजमार्ग, कोरिडर÷बाटोले ठूलै आर्थिक रूपान्तरण गर्न सकिने अवस्था रहेकै छ । रेमिट्यान्सले त्यो कामका लागि पूँजीको अभाव नहुने अवस्था पनि छ । तर, यति धेरै संघीय र प्रदेश सांसदहरु हुँदाहुँदै पनि जनताले अपेक्षा गरेको आर्थिक र सामाजिक समृद्धि प्राप्त गर्न सकेको छैन । बागलुङ थातथलो छाडेर बसाइँ सर्ने क्रम रोक्न सकिएको छैन । आखिर किन ? सोचौं !
बागलुङ आफ्नो क्रान्तीकारी छविलाई निरन्तरता प्रदान गर्न अब सोच्न जरुरी छ । सामाजिक चेतना र शैक्षिक जागरण अभिवृद्धि गर्न कटिबद्ध रहेको त्यो समय सम्झनैपर्ने हुन्छ । आर्थिक समृद्धिको लागि सुरु गरेको त्यो अभियान मनन गर्दै प्राप्त स्रोतको उपयोग र उत्पादन केन्द्रीत हुनै पर्दछ । इतिहास मनन गर्नैपर्छ, इतिहासप्रति गर्व गर्र्ने पर्दछ । इतिहास सिकेर त्यौभन्दा अब्बल बन्ने प्रयत्न गर्नै पर्दछ । ती ऐतिहासिक कार्यहरुप्रति कृतज्ञता व्यक्त गर्नै पर्दछ ।
सबैभन्दा महत्वपूर्ण कुरा, स्व. ओमप्रसाद गौचनले सुरु गरेको आर्थिक र व्यापारिक गतिविधिलाई मनन गर्दै अहिलेका निजी क्षेत्रमा संलग्न व्यवसायीले बागलुङलाई आर्थिक र. व्यावसायिक क्षेत्रमा अब्बल बनाउन निस्वार्थ रूपले समर्पित हुन सक्नेतर्फ चिन्तन–मनन गर्नुपर्ने भएको छ । जसरी १÷२ जना नेपाली धनाढ्य हुँदैमा नेपाल धनी बन्न सक्दैन । त्यसरी नै २÷४ जना बागलुङकै धनाढ्य बन्दैमा बागलुङ धनी बन्दैन भन्ने कुरालाई मिथ्या सावित गर्न सबैलाई समृद्ध बनाउन लागौँ ।
(लेखक मुल्मी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । सं.)





