सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुननिर्माणपछि चिरीच्याट्ट बिहार

पुननिर्माणपछि चिरीच्याट्ट बिहार


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

बागलुङ/दाताहरुको सहयोगमा पुनर्निर्माण गरिएपछि बागलुङ नगरपालिका वडा नं. ३ गुठीस्थित ज्ञानोदय बुद्व बिहार चिरीच्याट्ट बनेको छ । बौद्व धर्मालम्बीहरुको आस्थाको केन्द्र बिहारलाई मौलिक शैलीमा पुननिर्माण गरेपछि आकर्षक बनेको हो ।

कामको खोजी गर्दै टक्सार छाप्न ललितपुरको पाटन र भक्तपुरबाट बागलुङ आएका शाक्य समुदायले २००७ सालमा बुद्व बिहारको जग बसालेका थिए । त्यतिबेला आफ्ना बाउबाजेले १० देखि २५ पैसा संकलन गरेर बुद्व बिहारको जग बसालेको बिहारका संरक्षक सदस्य मुकुन्द शाक्य स्मरण गर्छन् । २००९ सालमा काठमाडौंबाट आउनुभएका वैद्य पद्मरत्न बज्राचार्यले ज्ञानोदय बुद्व बिहारको नामाकरण गरेका थिए । बज्राचायले नै बुद्व जयन्तीमा यहाँको बिहारमा पूजा गर्ने तिथि बसालेको शाक्यले भने ।

बिहारमा बौद्व धर्मालम्बी र भिक्षुहरुको आगमन बढ्न थालेपछि प्यागोडा शैलीको बिहारले २०३१ सालमा चैत्यको स्वरुप धारण गरेको थियो । २०५८ सालमा शाक्य समुदायले आफन्तको स्मृतिमा कसैले कोठा बनाइदिने त कसैले आर्थिक सहयोग गरेपछि झण्डै १६ लाखको लागतमा तीन कोठा र हलसहितको तीनतले चैत्य निर्माण गरिएको थियो ।

त्यसको लागि स्थानीय र काठमाडौंमा बसोबास गर्ने शाक्य समुदायले आफन्तको स्मृतिमा ८ लाख ५ हजार रुपियाँ बराबरको कलात्मक अष्टमंगल ढोका, आँखीझ्याल, दाच्या इट्टा, बुद्वको प्रतिमा र बुद्वको मुर्ति उपलब्ध गराएको ज्ञानोदय बुद्व बिहार व्यवस्थापन समितिका अध्यक्ष लिलम्बर बज्राचार्यले जानकारी दिए । बिहार पुनर्निर्माणमा स्थानीय सरकारले खासै चासो नदिँदा आफ्नै बलबुताले हेर्नलायक बनाएका छौं,’ अध्यक्ष बज्राचार्यले भने ।

आफन्तको स्मृतिमा पोखरा निवासी टेक नारायण र रश्मी शाक्यले ३ लाख २३ हजार रुपैयाँको अष्टमंगल ढोका, काठमाडौंकी रञ्जना बज्राचायले १ लाखको दुई थान आँखी झ्याल र राजकुमार राजभण्डारीले १ लाख दुई हजार रुपियाँको दाच्या इट्टा तथा निलिमा, निलु, सुमी, कुन्दन र इन्द्र शाक्यले बुद्वको प्रतिमा तथा लिलम्बर/हिमाली बज्राचार्यले बौद्व स्तूप बिहार पुनर्निर्माणका लागि सहयोग गरेका हुन् ।

यस्तै, ललितपुरको पाटन निवासी मोतिलाल सिल्पकारले ५ लाख मुल्यको चार फिट अग्लो ढलोटको बुद्व मूर्ति हस्तान्रण गरेका छन् । ‘बिहार पुनर्निर्माण स्थानीयबासीको पनि ठूलो योगदान छ,’ बिहारका निवर्तमान अध्यक्ष विकास शाक्यले भने । बिहार व्यवस्थित बनेपछि देशभरबाट बुद्व धर्मको प्रचारप्रसार, ध्यान गर्न र ज्ञान बाँड्न आउने भीक्षुलाई व्यवस्थापन गर्न, ध्यान शिविर संचालनदेखि नेवारी समुदायमा हुने सामूहिक बेलविवाह, व्रतबन्ध तथा सामाजिक कार्यमा सहज भएको शाक्यको भनाई छ । विशेष गरी असार पूर्णिमादेखि आश्विन कोजाग्रत पूर्णिमासम्म लामो ध्यान गर्न भिक्षुहरु ज्ञानोदय बद्व बिहार आउने गर्छन् । बुद्व धर्मालम्बीले अष्टमी, औंशी र पूर्णिमामा भगवान बुद्वको पूजाआराधना गर्ने प्रचलन छ । ज्ञानोदयमा हरेक शनिबार पूजा गर्ने गरिन्छ ।

सहरको बीचमा रहेको बिहारमा ध्यान बस्न कोलाहल बाधक बनेपछि दाताहरुको सहयोगमा अहिले ध्यान कक्ष निर्माणको काम चलिरहेको छ । बागलुङ बजार घर भई अध्ययन र रोजगारीको शिलशिलामा अमेरिकाको टेक्ससमा रहेका अनिता बज्राचार्य, राखी क्षेत्री शाक्य, सुमी शाक्य राजभण्डारी र लण्डनमा रहेकी मिनु शाक्य श्रेष्ठले ४ लाख ४२ हजार रुपियाँ सहयोग गरेपछि ध्यान केन्द्र बनाउने काम चलिरहेको अध्यक्ष बज्राचार्य बताउँछन् ।

मौलिक परम्परा र संस्कृतिका धनी शाक्य समुदायलाई जोगी नाच, रोपाईं नाच, कटुवाल नाच, सिकारी तथा लाखे लगायतका नाँचलाई बागलुङमा थालनी गरेको श्रेय जान्छ । ‘बागलुङ बजारमा थालनी गरिएका मौलिक नाच र प्रचलनहरु विस्तारै जिल्लाका विभिन्न ठाउँमा फैलिएको हो,’ संरक्षक सदस्य मुकुन्द शाक्यले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->