आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आजबाट केपी ओली कप राष्ट्रिय टी २० क्लब क्रिकेट हुँदै

आजबाट केपी ओली कप राष्ट्रिय टी २० क्लब क्रिकेट हुँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८१, शनिबार

पोखरा/मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा आजबाट केपी ओली कप टी२० क्लबस्तरीय क्रिकेट हुँदैछ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगिताअन्तर्गत उद्घाटनमा पोखरा महानगरपालिका र स्याङजा क्रिकेट क्लब आम्नेसाम्ने हुने भएका छन् । दोस्रो खेल सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबीच हुनेछ ।

१६ टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब रहेका छन् । समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन रहेका छन् ।

समूह ‘सी’ मा लुम्बनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब रहेका छन् । यस अघि पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको थियो । उक्त संस्करण मधेश प्रदेशले जितेको थियो ।

चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीका अध्यक्ष धु्रब आचार्यले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ । अध्यक्ष आचार्यले हालसम्म २९ भन्दा बढी टिमले पत्र पठाए पनि अन्तिम चरणमा १६ टिमको मात्रै सहभागिता गराएको बताए । उनले क्रिकेट विकासका लागि अब ग्रासरुट स्तरमा जानुपर्छ भन्ने अवधारणा अनुरुप यसपटक खुल्ला क्लबस्तरीय क्रिकेटको आयोजना गरेको सुनाए । उनका अनुसार हरेक टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई समेत समावेश गराउन पाउनेछन् । उनले भने, ‘सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गरेर १६ टिम मात्र सहभागिता गराएका छौँ ।’

पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । प्रतियोगितालाई सफल बनाउन सबैसँग आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका उनले युवा खेलाडी उत्पादनमा समेत यसको भूमिका हुने बताए । उनले भने,‘अहिले धेरै यूवा खेलाडीहरूलाई यस्तो प्रतियोगिताहरूको खाँचो छ । जहाँ बाट उनीहरूको भूमिका राष्ट्रले प्राप्त गर्न सक्नेछ ।’

प्रतियोगिता लिग कम नक आउटका आधारमा हुनेछ भने प्रतियोगितामा प्रवेश निशुल्क गरिएको छ । दर्शकका लागि अस्थायी प्यारापिटसमेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->