पोखरा/नेपाल सरकारका प्रवक्ता एवम् सुचना तथा सञ्चारमन्त्री पृथ्वीसुुब्बा गुुरुङले शनिबार दर्शक नै नभएको मैदानमा आफ्नो भनाइ राखे । मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगितामा खेलाडीबाहेक आयोजक र पत्रकार गरि मुस्किलले २५–३० जना थिएन होलान् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दई टिमका खेलाडी आयोजक, खेलकुदसम्बन्धी केही व्यक्तिबाहेक दर्शकको संख्या नगन्य थियो । मञ्चमा भने अतिथि टनाटन नै थिए । प्रतियोगिताको उद्घाटन मन्त्री गुुरुङले गरे । त्यसपश्चात उनको मन्तव्य सुरु भयो ।
सोही क्रममा उनले पोखरामा अन्तर्राष्ट्रिय मैदान बनाउन सके भारत–पाकिस्ताको खेल ल्याउन सक्ने अभिव्यक्ति दिए । जुन नेपाली खेलकुदमा ‘घाउमा नुन छर्कने काम’ जस्तै भयो । यसलाई फुटबलले प्रष्ट पार्छ । अहिले नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदानमा अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन । दशरथ रंगशालालाई स्तरोन्नति गर्न नसक्दा फिफाको मापदण्डअनुसार नहुँदा मार्च २५ मा एएफसी एसियन कप क्वालिफायर्स २०२७ अन्तर्गत तेस्रो चरणको छनोटको खेल दशरथ रंगशालामा हुने भनिए पनि यहाँ हुन नसक्दा मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा भयो । खासमा नेपालले मलेसियासँग पहिले होम म्याच खेल्ने र पछि अवे म्याच खेल्नुपर्ने हो । तर, दशरथ रंगशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त फुटबल खेल खेलाउने स्वीकृति नपाउँदा नेपालले होममा हुने पहिलो खेल बाहिर गएर खेल्नुपर्ने अवस्था आएको हो । नेपालले मलेसियासँग होम म्याच सन् २०२५ नोभेम्बरमा खेल्ने उल्लेख गरिएको छ ।
सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कप खेल्ने लक्ष्यका साथ तेस्रो चरणमा एसियाका २४ राष्ट्रहरू तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्दैछन् । एएफसीले रंगशालको सुरक्षा व्यवस्था, पिचको अवस्था र फ्लड लाइट कारण देखाउँदै नेपालमा खेल हुन नसक्ने बताएपछि नेपालले बहराइन विरुद्धको खेल बहराइनमै गएर खेलेको थियो । पोखरामा समेत फुटबलको मैदान छ तर त्यो पनि फिफा मापदण्ड अनुसारको छैन् । यि नेपालले नै विदेशमा गएर खेल्नुपर्ने अवस्थामा गुुरुङले भने पोखरामा बनाउन आवश्यक पहल गर्ने बताए उसो त पोखराकै फुटबल मैदान अरबौ रुपैयाँ खर्चेर बनाएपनि त्यो अन्तर्राष्ट्रिय मापदण्डको छैन भएकालाई अन्तर्राष्ट्रिय बनाउन छाडेर उनले शुन्य दर्शकका माझमा क्रिकेट मैदान अन्तर्राष्ट्रिय बनाउनुपर्नेमा जोड दिए ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङले द्वन्द्व, विवाद वा विभिन्न कारणले भारत–पाकिस्तानजस्ता राष्ट्रले अन्य देशमा गएर खेल्नुपर्ने बाध्यता रहेको सुनाउँदै त्यस्ता प्रतियोगिता पोखरामा गराउन सम्भव रहेको बताउता भएका संरचनालाई नै अन्तर्राष्ट्रिय बनाउनेमा भने एक वाक्य पनि बोलेनन् ।
‘अहिले पाकिस्तान र भारतको बीचमा झगडा हुँदा क्रिकेट खेल्न दोस्रो देश जानु परेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता युएइ र कतारमा जान थालेको छ । एसियाको सबै ठाउँमा इस्ट एसिया होला वा साउथ एसिया सबै ठाउँमा त्यही छ । भौगोलिक रुपमा यो सुन्दर ठाउँ छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाउन सक्यौँ भने त्यस्ता राष्ट्रहरु जो आफ्नो देशमा खेल्न मान्दैनन्, उनीहरुलाई पोखरा ल्याउन सक्याँै भने नेपालको नाम रहन्छ गण्डकीको नाम रहन्छ । क्रिकेटको पपुलारिटी हुन्छ,’ उनले भने, ’ यो वर्ष कति बजेट हाल्छ युवा तथा खेलकुद मन्त्रालयबाट आउला तर मेरो तर्फबाट मैले के गर्नु पर्छ, म पनि पहल गर्नेछु । पोखरामा मेघा स्ट्क्चर बनाउन जरुरी छ ।’
स्याङ्जा र काठमाडौको विजयी सुरुवात
पोखरामा शनिबारबाट केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन ।
प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ । १६२ रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो । ओपनर आशिष न्यौपाने ५ रनमै आउट भएको पोखराका लागि सुमित श्रेष्ठले ५३ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४७ बलमा ८ चौका प्रहार गरे । प्रमोद बास्तोला २७ रनमा आउट भए । उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । अभिनव शाह ३, धिरज अधिकारी ९, विष्णु प्रसाद शर्मा २८, हरि शंकर १, अन्जन केसी ४ रनमा आउट भए । स्याङजाका लागि लक्ष्मण डुम्रेले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै तुल्सिराम न्यौपानेले २ तथा मिलन लुटेल र किरण भट्टराईले १/१ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । स्याङजा कालागि अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर करण पगेनी २० रनमा आउट भए । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । इशवर क्षेत्रीले १६ बलमा २ चौका र २ छक्काको मद्धतमा २४ रन बनाउँदै आउट भए । विशाल कोइराला शुन्य, सुजन गौतम १४, मिलन क्षेत्री ६, सन्दिम खत्री क्षेत्री २३ रनमा आउट भए । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान २/२ विकेट लिए भने सुवाष वास्तोला र मार्सल बरालले १÷१ विकेट लिए ।
दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । १५२ रनको विजयी लक्ष्य पाएको हेटौडा २० ओभरमा १४० रनमै अलआउट हुन पुग्यो । हेटौडाका लागि शुभ कंशाकरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा ९ चौका र २ छक्का प्रहार गरे । ओपनर गौरभ खड्का ८ रनमै आउट भए । सुमन सुनार ३८ रनमा आउट भए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । य’विन बुढाथोकी १२, अकिलेश ठाकुर १, सक्षम वस्ताकोटी १३, रामनरेश गिरि ४, विशाल फुयाल १, अशिम श्रेष्ठ शुन्य र समिर चौलागाईँ १ रनमा आउट भए । काठमाडौका लागि सुर्य तामाङ र युशिन विक्रमसिंह ठकुरीले समान ३/३ विकेट लिए भने मनोज यादवले २ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै शिवम तिवारी १८ रनमा नटआउट रहे । उनले ८ बलमा २ चौका र १ छकका प्रहार गरे । ओपनर सुशान्त सिंह थापा १५ रनमा आउट भए । रित गौतम २९ रनमा र सचिन लेखक २२ रनमा आउट भए । हेटौडाका लागि समिर चौलागाईँ, सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १/१ विकेट लिए ।





