सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चैतेदशैं मेलामा स्थानीय उत्पादनको व्यापार (फोटो फिचर)

चैतेदशैं मेलामा स्थानीय उत्पादनको व्यापार (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८१, आइतबार

बागलुङ/आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरुको बिनिमय हुन्थ्यो । बर्षभरी घरयासी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरीकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो । आफ्नो घरमा उपभोग गरेर बचेको वस्तु मेलामा पुर्याउने र अरु कसैले उत्पादन गरेको वस्तुको उपभोग गर्नेगरी घर ल्याउने चाँजोपाँजो चैत्राष्टमी मेलाले जुराउँथ्यो ।

चैतेदशैं मेला धार्मिक दृष्टिकोणले जति महत्वपूर्ण छ त्यति नै महत्वपूर्ण वस्तु विनीमय गर्ने थलोको रुपमा छ । मेलामा परम्परागत रुपमा घरेलु सीपबाट उत्पादित वस्तुहरुको बिक्री वितरण हुने गर्छ । निगालोको चोयाबाट बन्ने डोको, डाली, नाङ्लो, सोली थुन्से, मान्द्रो, दारका ठेका, भान्सादेखि कृषि क्षेत्रमा प्रयोग हुने औजारहरु र मनोरञ्जनका साधनहरु डम्फु मादलको व्यापार हुने गर्छ ।

बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघाजस्ता गाउँबाट किसानले वर्षभरी निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री मेलामा ल्याउने गर्छन् । अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी पनि मेलाको आर्कषण छन् ।

मेलामा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका काठ, बाँस र बेतबाट बनाएका सामग्रीहरुको बिक्री गर्ने चलन छ । ठेका, डाला र नाङ्ला किन्न पाइने भएकाले गाउँ गाउँबाट सयौं मेला भर्न आउने गर्छन् । मेला सुरु हुनु साताअघि नै कालिका मन्दिर परिसरमा ग्रामीण क्षेत्रबाट साना व्यवसायी आइसकेका छन् ।

चैत्र शुक्ल प्रतिपदादेखि नै मन्दिरमा चहलपहल सुरु भएपनि बुधबारदेखि भने विशेष मेलाकै आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउँछन् । देशभरबाट मेला अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकाले मेलालाई विशेष पर्वका रुपमा लिने गरिन्छ ।

चैतेदसैंको प्रतिपदादेखि रामनवमीसम्म पाँच लाख भक्तजन तथा आन्तरिक पर्यटक आउने गुठीको आँकलन छ । चैतेदसैंको अवसर पारेर गाउँगाउँ र विभिन्न जिल्लाबाट कालिका मन्दिरको दर्शन र मेला भर्न आउनेहरुको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको समेत व्यवस्था गरेको छ ।

घरेलु उत्पादनका सामाग्रीहरु मेलामा रुचाउन छोडेको जलजला डाली व्यवसायी शशीराम खातीको भनाई छ । वर्षभरी उत्पादन गरेको निगालोको चोयाँको डाली, नाङ्ला र डालो चैतेदशै, रिडि र शान्तिपुरको मेलामा व्यापार गर्दै आएपछि सोचेजस्तो नाफा कमाउन नसकेको दिक्दारी व्यक्त गर्दै भने, ‘अब चोयाको उत्पादनबाट जीवन धान्न सकिन्न ।’

घरेलु हात हतियार, खुकुरी, बाउसो, हँसियाका साथै स्थानीय मास्टहरुले तयार गरेका इष्टकोट र दौरासुरवाल मेला देखिनै छाडेको स्थानीय समाजसेवी दुर्गा बहादुर आचार्य बताउँछन् । बढ्दो आधुनिकताले नेपाली समाजलाई छपक्क छोप्दा मेलापर्वको मौलिकता लोप हुँदै जान थालेकोप्रति आचार्यले दुखेसो पोखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->