बागलुङ/धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शैयाको धौलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शैयामा सुविधायुक्त अस्पतालमा स्तरवृद्धिको तयारी गरिरहेको छ ।
स्तरोन्नतिको निर्णयपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित गर्दैछ । प्रदेश सरकारले ४४ लाख रुपियाँ बजेट विनियोजन गरेपछि हाल पाँच शैयाबाट सेवा प्रवाह गरिरहेको अस्पताललाई स्तरवृद्वि गर्ने तयारी स्वरुप पूर्वाधार विस्तारको काम चलेको हो ।
पछिल्लो समय आयुर्वेद पद्वतीबाट उपचार गर्ने बिरामीहरुको संख्या बढ्दै गएको र अस्पतालको साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाई भएपछि पूर्वाधार विस्तारको काम थलिाएको अस्पतालका प्रमुख डा. शरद पन्थीले जानकारी दिए । अस्पतालले पूर्वाधार निर्माणका लागि भ्याटसहित ३१ लाख रुपियाँमा काम सम्पन्न गर्नेगरी बलेवा भैरव निर्माण सेवासंग ठेक्का सम्झौता गरी काम थालेको हो ।
अस्पतालको छतमा प्रि–फ्याव प्रविधिको पाँच कोठे र भुईं तलामा तीन कोठे संरचना निर्माणको काम चलिरहेको छ । दोस्रो तलमा निर्माणाधिन भवनमा हाल रहेको प्रशासनलाई स्थान्तरण गरिने छ भने प्रशासन रहेको तलाबाट अन्तरंग सेवा प्रदान गरिने डा. पन्थीले बताए । भईंतलामा निर्माण गरिएको तीन कोठे संरचना भने चमेना गृह, फार्मेसी, चुर्ण औषधि उत्पादनको लागि प्रयोग गरिनेछ ।
गत कात्तिक १२ गतेको मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षमा धवलागिरि आयुर्वेद औषधालयलाई २५ शैयामा स्तरवृद्धि गर्ने निर्णय गरेको थियो भने मंसिर १९ गते औषधालयको नाम संशोधन गर्दै अस्पताल राखिएको थियो । अस्पतालको स्थलगत अनुगमन तथा मूल्यांकन (ओएनएम) प्रतिवेदन मन्त्रिपरिषदले पास गरेपनि प्रदेशका प्रमुख सचिवले प्रमाणिकरण गर्न बाँकी रहेको डा. पन्थीले जानकारी दिए ।
ओएनएम प्रमाणिकरण भएमा अस्पतालमा ३९ जना स्थायी जनशक्ति हुने छन् । हाल अस्पतालमा ६ स्थायी दरबन्दी र १४ जना करारका डाक्टर, नर्स, पारामेडिक्स र थेरापिष्ट कार्यरत छन् । ओएनएम प्रमाणिकरण भएमा जनरल, काय चिकित्सक, शल्य चिकित्सक, स्त्री प्रसुती र अकुपञ्चर गरी पाँच जना विशेषज्ञ डाक्टरहरु थपिने छन् । हाल अस्पतालमा आर्युेवेदिक र प्राकृतिक चिकित्सकले सेवा दिईरहेका छन् ।
अस्पतालमा भौतिक पुर्वाधार विस्तार भईरहेपनि मौजुदा संरचना पर्याप्त भने नहुने डा. पन्थी बताउँछन् । ‘‘२५ शैयाको अस्पताललाई धेरै नै संरचना चाहिन्छ, आयुर्वेद उपचार पद्वतीमा बिरामीलाई अस्पतालमै भर्ना गरेर बढी गर्नुपर्छ, अहिले आउने बिरामीको चाप हेर्दा यहिं संरचनाबाट सहज रुपमा सेवा प्रवाह गर्ने अवस्था छैन’’ पन्थीले भने । थप संरचना निर्माणको लागि अस्पताल जग्गाको खोजीमा छ । जग्गा प्राप्त भए बजेटको अभाव नहुने डा. पन्थीको भनाई छ ।
आयुर्वेदिक उपचारमा नागरिकको विश्वास बढ्दा केही वर्ष अघिसम्म सुनसान जस्तै देखिने अस्पतालमा अहिले दैनिक बिरामीको चाप बढेको डा. पन्थीले बताए । गतवर्ष ११ हजारभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिँदा त्यो बढेर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १५ हजार बढी बिरामीले सेवा लिएका छन् ।
विशेष गरी नसर्ने रोगको प्रकोपलाई निवारण गर्न आयुर्वेद उपचार पद्वति अति नै उपयुक्त हुने भएकाले बिरामीमा आयुर्वेद अस्पतालप्रति भरोसा जागेको डा. पन्थी तर्क गर्छन् । ‘‘नेपालमा नसर्ने रोगको अवस्था विकराल बन्दैछ, एक सयमा ७१ जनामा नसर्ने रोग देखिएको र पूर्ण रुपमा निको बनाउन नसकिने यस्ता प्रकोपलाई निर्मुल गर्न आयुर्वेद उपचार अत्यन्तै फलदायी छ ।’’ डा. पन्थीले भने ।
जीवनशैली र आहारबिहारबाट उत्पन्न हुने मधुमेह, रक्तचाप, दम र क्यान्सर लगायतका नगर्ने रोगबाट नागरिक आक्रान्त भईरहेको र यस्ता समस्यामा देशकै हिमालय क्षेत्रमा पाइने विश्वकै उत्कृष्ट मानिने जडिबुटीबाट बनेका औषधिहरुले न्युन दुश्प्रभावमा राम्रो नतिजा दिँदा बिरामीहरु आयुर्वेद उपचारप्रति आर्कषित भएको डा. पन्थीको भनाई छ ।





