सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘ताराखोले ढुंगा’ उत्पादनमा सहज, निकासीमा सास्ती

‘ताराखोले ढुंगा’ उत्पादनमा सहज, निकासीमा सास्ती


  • ढोरपाटन संवाददाता
  • चैत्र ३१ २०८१, आइतबार

बागलुङ/अधिकांश गाउँमा सदरमुकामबाट खाद्यान्न बोकेर ट्रयाक्टर पुग्छन् र रित्तै फर्कन्छन् । तर, ताराखोलाबाट फर्कने ट्रयाक्टरले केही न केही ल्याएका हुन्छन् ।

गाउँमा उत्पादन हुने ढुंगा बोकेर यहाँको रिजालचोक हुँदै बागलुङ र पोखरा पुग्ने धेरै छन् । कतिपय गाडी त ढुंगा बोकेर बुटवल र लुम्बिनीसम्म पनि पुग्छन् । घरको भित्तामा टाँस्ने र भुइँ छाप्ने ढुंगा ताराखोलाबाट बजारमा पुग्ने गरेका हुन् ।

ताराखोलाबाट ल्याएकै ढुंगाले सदरमुकामका अधिकांश घरका भित्ता सजिएका छन् । विद्यालय, क्याम्पस र मठमन्दिर पुग्ने बाटाहरु पनि ताराखोले ढुंगा छापिएका छन् । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिर जाने सडकदेखि शालीग्राम संग्राहलय र रंगवेंकटेश्वर मन्दिर, तित्याङ र उपल्लाचौरका शिवालयमा ताराखोले ढुंगा बिच्छ्याएको देख्न सकिन्छ ।

ढुंगा टाँस्ने काम रंगभन्दा सस्तो र टिकाउ हुने प्रयोगकर्ता बताउँछन् । होटल पिस प्यालेसका संचालक निलेश राजभण्डारीले त दशकअघि नै होटलको आँगनमा ताराखोले ढुंगा छापेका थिए । ती ढुंगाले सफा र आर्कषक मात्र नभइ सिमेन्ट भन्दा बलियो भएको उनको अनुभव छ । ताराखोलाबाट सहरी क्षेत्रमा प्रसस्त ढुंगा निकासी हुने गर्छ । त्यहाँ उत्खनन् गरिने ढुंगा घर छाउने, भित्तामा टाँस्ने र आँगन तथा सडक छाप्ने काममा पनि प्रयोग गरिन्छ । पोखराका अधिकांश घरमा पनि आजकल ताराखोले ढुंगा पुगेका छन् ।

ताराखोलादेखि बुटवल, सैनामैना र सालझण्डीका लागि दैनिक जीप र पिकअप चल्न थालेपछि तराइका बजार र घरघरमा पनि ताराखोले ढुंगा पुग्न थालेको छ । रुपन्देहीको सालझण्डी, सैनामैना, कपिलबस्तुको पिपरा, गोरुसिंगे र तिलौराकोटका बस्तीमा समेत बागलुङको ताराखोले ढुंगा छ्यापछ्याप्ति देखिन थालेको हो ।

बागलुङको गलकोट, ताराखोला, बडिगाड, ढोरपाटन सम्मका मानिस बसाइ सरेर गएकाहरुले ताराखोले ढुंगा लगेर तराइको बस्तिमा प्रचार गरेका हुन् । उनीहरुको सम्पर्ककै कारण तराइका होटलमा ताराखोले ढुंगाले स्थान पाउन थालेको स्थानीय बताउँछन् । म्याग्दीको बेनी नगरपालिका ३ स्थायी घर भइ हाल कपिलबस्तुको पिपरामा होटल गरेर बसेका नारायण महतले त होटलमा ताराखोलाको ढुंगा लगेर फराकिलो आँगन छापेका छन् । उनको सम्पर्कले तिलौराकोटका अधिकांश घर र होटलमा पनि ताराखोले ढुंगा प्रयोगमा आउन थालेको हो ।

‘गाई फर्म गर्नेले समेत ढुंगा बिच्छाउन पोखराका डिपोबाट मगाएका छन्,’ उनले भने, ‘कतिपयले ताराखोलाबाटै ट्रयाक्टर रिर्जभ गरेर ल्याउँछन् ।’ पोखराको डिपोबाट ल्याउँदा प्रति वर्गफिट ढुंगाको दुई सय रुपैयाँ पर्छ । ताराखोलाबाट सिधै लगेमा १ सय ५० रुपैयाँ सम्ममा पाइने उनले बताए ।

ताराखोला गाउँपालिकाले स्थानीय सरकार संचालन ऐनको दफा ११ को उपदफा २ (क) अनुसार ढुंगा गिटी वालुवा, माटो खरिढुंगा प्राकृतिक एवं खानीजन्य वस्तु बिक्री निकासी, शुल्क लिएर साना उद्योग संचालन अनुमति दिएको अध्यक्ष धनबहादुर बिकले बताए । सोही ऐनको उपदफा २ (प) ७ मा ढुंगाखानी, बालुवा, स्लेट जस्ता खानीजन्य वस्तुको सर्भेक्षण, उत्खनन्, उपयोगको दर्ता, अनुमति दिने, नवीकरण गर्ने र व्यवस्थापन गर्ने अधिकार पनि स्थानीय तहलाई दिएकोले खानी संचालन गर्न दिंंदा ठूला सहरमा पनि सामान बिक्री भएको बिक बताउँछन् ।

ताराखोला गाउँपालिकाले उद्योग दर्ता नियमाबली समेत बनाएपछि बिक्री समेत बढेको हो । ‘हामीलाई २० रोपनी सम्मको निजी जग्गाको ढुंगा उत्खनन् गर्न उद्योगको रुपमा दर्ता गरिदिने अनुमति खानी विभागले दिएको छ,’ बिकले भने, ‘यो नियम र निर्देशिका टेकेर १३ उद्योग दर्ता भएर संचालनमा आएका छन् ।’ वातावरणीय प्रभाव मूल्यांकन गरेर ती उद्योग संचालन गर्न दिएको उनले बताए । सार्वजनिक जग्गाको खानी संचालन गर्न भने संघीय सरकारको अनुमति चाहिन्छ ।

प्र्रशासनले भने संघिय कानून देखाएर ती उद्योगलाई खानी भन्दै बेलाबेला अवरोध गर्ने उनले टिप्पणी गरे । निकासीका लागि खानी उद्योगमा दर्ता हुनुपर्ने प्रशासनको दाबी छ । स्थानीय तहले बनाएको कानूनले अर्को पालिकामा निकासीमा बाधा आएको प्रशासनका एक अधिकारीले बताए । उद्योग संचालनमा रोक नलगाएको प्रहरी र प्रशासनले निकासीमा भने बखेडा झिक्दा सहजै बिक्री गर्न नसकेको स्थानीयले गुनासो गरे । अधिकांशले आफ्नै खेतबारी र पाखोका ढुंगा काटेर बजारीकरण गर्दा पालिकालाई पनि राजश्व बढेको छ । तर, निकासीमा सास्ती भएको हो । पिके स्टोन सप्लायर्सका पृथ्वी सुवेदीले निकासीमा झण्झट खेपेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->