
बागलुङ/ढोरपाटन उपत्यका र सिकार आरक्षबारे धेरैको चासो रहन्छ । त्यहाँ पुग्न चाहने पनि धेरै छन् । तर सडक संजाल अप्ठ्यारो छ । न ढोरपाटनमा आरामदायी होटल नै पाइन्छ । हरेक वर्ष दुइ पटकसम्म यहाँ सिकार खुल्छ । त्यसका लागि हेलीकोप्टरमार्फत विदेशी सिकारी जान्छन् । सिधै ब्लाकमा पुगेर सिकार गरेपछि फर्कन्छन् । त्यसले ढोरपाटन उपत्यकाको पर्यटन प्रवद्र्दनमा खासै फरक परेको छैन ।
त्यतिमात्र हैन, ढोरपाटन उपत्यकामा अझै सडक अभाव छ । बुर्तिवाङदेखि कच्ची सडकको यात्रा गर्नुपर्छ । हाल बुर्तिवाङदेखि ढोरपाटन सम्मको ३६ किमी कच्ची सडक पर्यटकका लागि समस्या बनेको छ । सालझण्डी ढोरपाटन सडक आयोजनाको काम १६ वर्षसम्म सम्पन्न नभएपछि पर्यटक सहजै ढोरपाटन पुग्न नपाएका हुन् ।
ढोरपाटन उपत्यकालाई रुकुमको तकसेरा र मध्यपहाडी लोकमार्गको पातीहाल्नेसम्म जोड्नका लागि भने आरक्षले साथ नदिएको स्थानीय सागर घर्तीले बताए । ‘उक्त सडक जोड्न सकेमा कर्णाली प्रदेशबासीले पनि सहजै ढोरपाटन घुम्न पाउने छन्’ घर्तीले भने, ‘सोह्र वर्षदेखि निर्माणाधिन सडक पनि अलपत्रै छ ।’ बुर्तिवाङदेखि ढोरपाटन सम्मको सडक तत्काल कालोपत्रे गर्नुपर्ने उनीहरुको माग छ ।
सडक निर्माणको काम १६ वर्षअघि थालिएपनि २०७७ सालको बाढीपहिरोले भत्केको सडक समेत अझै बन्न नसकेकोले जवरजस्त जाने यात्रीले पनि सास्ती खेप्ने गरेका हुन् । संघीय वन राज्यमन्त्री, गण्डकी प्रदेशका वन मन्त्रीसहित प्रदेशसभाका सदस्यहरुले ढोरपाटनमै पुगेर विकासका संभावनाको खोजी गरेका छन् ।
उनीहरुले विकासका लागि कानूनी र प्रकृयागत समस्या समाधानमा पहल गर्ने बताएका छन् । हाल निर्माण भैसकेको गाडीखोला चामेद्वार ढोरपाटन सडकको १० किमी बढी कालोपत्रे भैसक्दा पनि आरक्ष नजिकै सडकको ट्रयाक खोल्न नपाएपछि सडक अलपत्र छ । प्रस्तावित सडक पनि खुल्न नसकेपछि विकासमा पछाडि परेको ढोरपाटन नगरपालिका वडा नं. ९ का अध्यक्ष खिमबहादुर घर्तीले बताए ।
त्यस बाहेक ढोरापटनमा खानेपानी पर्याप्त नहुनु र पर्यटक पुग्दा बस्ने आरामदायी होटलको अभावले पुगेका पर्यटक पनि छोटो समय घुमेर फर्कन बाध्य छन् । स्थानीयले भने पर्यटक बढाउन ढोरपाटन उपत्यकालाई सिकार आरक्षको क्षेत्रबाट अलग गर्नुपर्ने माग गर्छन् । आरक्षका सूचना अधिकारी पशुपति अधिकारीका अनुसार गत आर्थिक वर्ष ढोरपाटनमा स्थानीयबाहेक १५ हजार ७ सय ७० जना नेपाली पर्यटक र १ सय ६ जना विदेशी पुगेका थिए । जबकी यसको महत्व अनुसार लाख पर्यटक पुग्नुपर्ने थियो । चालु वर्षको फागुन मसान्त सम्ममा १० हजार ७ सय बढीले भ्रमण गरिसकेका छन्भने १ सय २० विदेशी नागरिकले घुमेका छन् । यो अनुपातले चालुवर्ष १८ हजार बढी पर्यटक आउने अनुमान छ ।
अधिकारीका अनुसार, नेपालीलाई प्रतिव्यक्ति १ सय रुपैयाँ, सार्क राष्ट्रको भए एक हजार ५ सय र विदेशीलाई ३ हजार प्रवेश शुल्क लिने गरिएको छ । यहाँ पुग्न बागलुङ सदरमुकामदेखि १ सय २६ किमी यात्रा गर्नुपर्छ ।
आरक्षले जिविकोपार्जनमा पनि समस्या सिर्जना गरेको स्थानीयको आरोप छ । सिकार आरक्षभित्र सडक निर्माण गर्न नपाएको, आइईइ र इआईए गरेर आरक्षको अनुमतिले मात्र काम गर्न पाउने भएपछि विकास निर्माणका काम ठप्प भएको उनीहरुको गुनासो छ । ‘स्तरीय होटल निर्माणमा पनि आरक्षको अनुमति पाउन सकिएको छैन’ स्थानीय धिरेन्द्र घर्तीले भने, ‘जंगलमा ढलेको रुख र घाँसदाउरा काट्न पनि पाइदैन ।’ ढोरपाटन उपत्यकामा ६ सयबढी घरधुरी छन् ।
खेतीपाती, घाँसदाउरा गर्न पनि आरक्षले रोक्दा जिविकोपार्जनमा पनि सास्ती खेपेको स्थानीय नरमती पुनले बताइन् । आरक्षका प्रमुख संरक्षण अधिकृत पशुपति चौधरीले राज्यको कानून र नीति अनुसार तथा आरक्षको नीतिगत व्यवस्था अनुसार काम गरेको बताए । राज्यले आरक्षको क्षेत्र सिमित गरेको खण्डमा वा काम कर्तव्यमा हेरफेर गरेमा आरक्षले पनि सोही अनुसार काम गर्ने बताए ।





