पोखरा/गण्डकी प्रदेशमा महिला फुटबलको खडेरी छ । पुरुष फुटबलका विभिन्न गतिविधि हुँदै आएको गण्डकी प्रदेशमा महिला फुटबलको गतिविधि विरलै हुने गरेका छन् । एका दुई बाहेक गण्डकी प्रदेशमै महिलाका प्रतियोगिता हुँदैनन् । यहि खडेरी अन्त्य गर्न गण्डकी प्रदेश फुटबल संघले अब महिलाको गोल्डकप गर्ने तयारी गरेको छ ।
संघको केही समय अघि स्याङ्जामा सम्पन्न बैठकले गण्डकी प्रदेशमा महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो । यो संगै प्रदेशले महिला टिम तयारीसमेत थालेको छ । आगामी साउनमा आयोजना गर्ने तयारीका साथ महिला टिम तयार थालेको हो । गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले महिला फुटबलको विकास र विस्तारका लागि प्रदेशले नै गोल्डकपको आयोजना गर्ने योजना अघि सारेको सुनाए ।
उनका अनुसार आगामी असारमा तीन विभागीय क्लब, संकटा क्लब लगायतका क्लबसहित पोखरामा महिलाको पहिलो पटक ठूलो प्रतियोगिता हुनेछ । ‘हामीले अहिलेसम्म महिला फुटबललाई अघि बढाउन सकेनौँ, यो हाम्रो कमजोरी हो तर अब भने महिला फुटबललाई अघिबढाउन पर्छ भनेर बैठकबाटै पारित भएको छ । यो साउनमा महिला गोल्डकप गराउने तयारी गरेका छौँ,’ उनले भने, ‘त्यसैको तयारीका लागि मंगलबार हामीले पहिलो चरणको खेलाडी छनौट कार्यक्रमको समेत आयोजना गरेका छौं अब गण्डकीको महिलाले फुटबल खेल्नेछन् ।’
गण्डकी प्रदेशको फुटबललाई चलायमान बनाउन संघले महिला र पुरुषतर्फ मुख्य प्रशिक्षक समेत नियुक्ति गरेको छ । गण्डकी प्रदेशले महिलातर्फ सुविन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको हो भने पुरुषतर्फ सुनिल रानामगरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ यस्तै पुरुषतर्फ सहायक प्रशिक्षकमा ओम गुरुङ नियुक्त भएका छन् । नियुक्त भएसंगै प्रशिक्षक सुविन श्रेष्ठले गण्डकीको महिला फुटबल पछाडी पर्नाको प्रमुख कारण प्रतियोगिता नहुनु भएको बताए । उनले ढिला भए पनि गण्डकीले महिला फुटबललाई अघिबढाउनका लागि प्रशिक्षक नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो लक्ष्य दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने सुनाए । यस्तै अर्का प्रशिक्षक सुनिलले गण्डकीको फुटबल विकासका लागि संघले चालेको कदम राम्रो भएको सुनाए । प्रशिक्षक नियुक्त गरेपनि यसले निरन्तरता पाउने वा नपाउने भन्नेमा भने अझै अन्योलता देखिएको छ ।
यी हुन् छनोटमा परेका महिला खेलाडी
गण्डकी प्रदेश फुटबल संघले महिला टोलीको घोषणा गरेको छ । यही १३ गतेबाट २० गतेसम्म नुवाकोटमा हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि महिला टिमको छनोट गरेको हो । मंगलबार १८ सदस्यीय टोली र ७ जना वैकल्पिक खेलाडीको नाम सार्वजानिक गरेको छ ।
छनोट हुनेमा स्याङजाबाट भावना परियार, अंशु विश्वकर्मा, दीपिका शाही, शुक्रिया मिया, माया मास्की, नवलपुरबाट मनिषा तामाङ, मुना महतो, सेनु परियार रहेकी छन् । कास्कीबाट विनिशा राई, विपना परियार, गीता श्रेष्ठ, तनहुँबाट पूर्णिमा थापा, पर्वतबाट यमकुमारी विक, गोरखाबाट रविना बराम, लमजुङबाट आयुषा गुरुङ र रेजिना लामा तथा म्याग्दीबाट दिपा मगर छनोटमा परेका हुन् ।
यस्तै वैकल्पिक खेलाडीमा गोर्खाकी रिमा गुरुङ, वागलुङकी सुमिना केसी, कास्कीका सरिता रोकाया, प्रिया लामा, पर्वतकी गंगा गुरुङ रहेकी छन् ।





