शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मेरी आमा

मेरी आमा


  • देवेन्द्र खत्री
  • बैशाख १४ २०८२, आइतबार

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । अघिल्लो दिनको कार्ययोजना अनुरूप बिहानै उठेर नुहाइधुवाइ गरिसकेपछि चोखनिष्ठपूर्वक माथि उक्लेर पूजा कक्षमा  पुगेर पूजा आराधना गरेँ । तल झरेर मेरै कार्यकक्षमा बाबासहितका आमाका तस्विरहरू राखेर फूलमाला अवीर चढाएर, अगरबत्ती बालेर टुपुक्क ढोग गरेर अन्य मेरा नजिकका बाबा आमा तथा मान्यजनका मृत्तात्महरुलाई सम्झँदै उहाँहरुको रुपरङ्ग र आनीबानी व्यवहारलाई स्मरण गर्दै, शरण पर्दै आशीर्वाद मागेँ ।

मेरा त आमाहरू पनि तीन वटी, हुन त्योभन्दा बढी पनि हुन् अरे ! तर मैले देखे-जानेको, भोगेको र काजक्रिया गरेको, मेरा बाबासँगै तस्विरमा गाँसिएका दिपी, पुनी र तेजकुमारी । जे होस्, जति हुन्, त्यो बाबाको भोगविलास होइन, हिन्दू धर्मसंस्कृति अनुरूपको छोराको महत्व हो । छोराको लागि मेरा बाबाले बाटो खन्ने, चौतारो चिन्ने, भागवत-पुराण लगाउने, महादीप बाल्नेजस्ता धेरै धार्मिक कार्यहरू गर्नु भएछ । ज्योतिषिले सात घरबारको योग छ भनेकोले अरू दुईचारजना आमाहरू पनि थप्नु भएको रहेछ । धेरै आमा र धेरै सन्तति मध्यको म कान्छो छोरो । म मेरो बाबा अन्ठाउन्न वर्षको हुँदा जन्मेको, सबैको प्रियपात्र, अझै आमाको त प्राणै थिएँ । आज मलाई जन्म दिने मेरी स्वर्गबासी आमाको सम्झना र सम्मानमा पूजा आराधना गरेर बाहिर निस्किँदा मेरो मुबाइलमा र ल्यापटपमा सँगसँगै ट्याङट्याङ  घण्टी बज्यो । यसो फर्केर के रहेछ भनेर ल्यापटप खोलेर हेरेको त नवीनको यस्तो चिठी रहेछ;

गुरु प्रणाम ! कोटी कोटी नमन गर्छु गुरु !

मैले हजुरलाई धेरै पटक भेट्ने विचार गरेँ । झ्याप्प फोन हान्न पनि सकिन । हजुरको निवास वा कार्यकक्षमा जान पनि सकिन । मलाई सानैदेखि पढाएको, हात समाएर लेखाएको, समय र परिस्थिति अनुरूपका कथा, कविता र लेख रचनाहरू सुनाएर बुझाएर सही दिसाबोध गराउनुभएको मेरो आदरणीय गुरुलाई के कोसेली लैजाऊँ,गुरु भेटी केचढाऊँ, गुरु दक्षिणा के बिसाऊँ, खाली हात कसरी जाऊँ भन्ने कुरामै अड्किएँ । एक पटक कुशे औँसी भाद्र शुक्ल प्रतिपदा बाबाको मुख हेर्ने दिन जान्छु भने त्यही उपहारले रोकिएँ । अर्को पटक गुरु पुर्णिमाको दिन गुरुकै घरमा गएर गुरुको सम्मान गर्छु भनेर योजना बनाएँ त्यहाँ पनि त्यही उपहारले रोकिएँ ।

लेखक, देबेन्द्र खत्री

आज मातातीर्थऔँसी, आमाको मुख हेर्ने दिन लोकतन्त्र दिवस, प्रतिलिपि दिवस,अन्तर्राष्ट्रिय पुस्तक दिवस, आफूलाई शिक्षाको बाटो देखाउने गुरुजनहरूको सम्मान गर्ने दिन । बिहानै उठेर घरमा आमाको सम्मान गरेँ, ढोग गरेँ र आमाको आशीर्वाद लिएपछि कलंकिबाट नैकाप, गुर्जुधारा, सतुङ्गल हुँदै मातातीर्थ पुगेँ । त्यहाँ एउटा महात्माले प्रवचन गरिरहेका थिए । उनले बडो गम्भीर मुद्रामा एउटा कथा भने अनि हामी दर्शक तथा श्रोतागणहरुलाई यसको शीर्षक के होला भनेर पत्ता लगाउने जिम्मा दिए । मैले धेरे कोशिस गरेँ पत्ता लगाउन सकिन । त्यही कथा गुरुलाई उपहार हुनेछ भनेर गुरुकहाँ जाने निर्णय गरेँ । तर अहिलेको समय लकडाउनको, हिँड्न डुल्न पनि नमिल्ने । मिले पनि मेरो गुरु कहाँ यहाँ हुनुहुन्थ्यो र उहाँ त पहाडको गाउँमा म काठमाण्डौको सहरमा । अहिलेको जवानमा घण्टौँ  लगाएर शारीरिक कष्ट भोगेर कुराकानी गर्ने नि त होइन । यो त सेकेन्ड मिनेटमा हुने कुरा हो । तर यसलाई पहिला मैले मेरो भाषा, शैली र शब्दमा साभार गर्नुपर्छ र त्यही गुरुको मेलमा पठाइ दिनुपर्छ भन्ने निर्णय गरेँ ।

कथा यस्तो छ ;

हाम्रो गाउँको कस्तो राम्रो परम्परा, कसैले घर गोठ बनाउनु पर्यो भने वरपरका सबै छिमेकहरूले सहयोग गर्नुपर्ने त्यसलाई ग्वारेखेतालो भनिन्छ । पल्लाघरे मिठेले गोठ बनाउन लागेको सबै छिमेकीहरू डढेलोको बनतिर लागे, धने पनि श्रीमती सुन्तलीलाई म वनतिर लागेँ तिमीले घर र छोरो हेर्नु भन्दै जङ्गलतिर लाग्यो । सुन्तलीले डेढबर्षे छोरो खेलाउँदै घरधन्दा सम्हाल्न थालिन् । दिनको मध्यान्न ढल्किसकेपछि जङ्गलबाट भोकाएर आउलान् स्वामिराजै भनेर भित्र अगेनुको छेउमा छोरोलाई फकाउँदै रोटी पकाउँदै ” मेरो बाबुलाई पापा, तिम्रो बाबालाई खाजा,मेरो लागि राजा, काफल गेडी कुटुक्क, बाबुले खान्छ सुटुक्क ” भन्दै थिइन् ।

निरल बोक्न गएको धने निरल बोकेर तलतिर झर्दा अँधेरी गौँडाको चिप्लो ढुङ्गामा खुट्टो चिप्लिएर निरलसितै भीरबाट झरेको अँधेरी खोलाको दर्शन ढुङ्गामा ठोकिएको टाउको कच्याककुचुक ठाउँको ठाउँ स्वर्ग बास । धनेलाई टाटको डोलामा गुटुमुटु पारेर छिमेकहरूले आँगनमा ल्याएर बिसाइ दिए । एकै क्षणमा गाउँलेहरू सबै जम्मा भए । मेरो राजा भन्दै भुँईमा ढलेकी सुन्तलीलाई कसैले पानीले छेपेर ब्यूँझाउन थाले, कसैले शरीरको ऐभाँत रित्याउन थाले । सिउँदोको सिन्दूर पखालिदिए , निधारको टिको र ओठको लाली पुछिदिए, हातका चुरा फुटालिदिए, घाँटीको पोते छिनालिदिए, खुट्टाका पाउजु पनि निकालिदिए, नाक कान रित्याइदिए, सबै राता बस्त्रहरू च्यातिदिए,भित्र गएर बाकासबाट विवाहको बउचो निकालेर ल्याएर धनेकै छातिमाथि राखिदिए । पुरुषहरुले बाँस, बाटो कात्रो तयार पारेर सुन्तलीलाई उचालेर ल्याएर काँधीकाठ गर्न लगाए । ऊ बेहोसमै थिई । शंख फुक्दै धनेलाई घाटतिर हिँडाले,महिलाहरूले सुन्तलीलाई पँधेरातिर लगे । मलाई सबैभन्दा नरमाइलो त्यो डेढबर्षे बालकको कपाल खौरेको । भर्खर फूल झरेको डल्ले फर्सि जस्तै चिल्लो, ऊ पनि बाबा,बाबा भन्दै रोइरहेको थियो । उसलाई पनि बाबाको पछिपछि हिड्न लगाए।  त्यो दृश्य न हेर्न सकिने थियो, न सहन सकिने थियो । जे जस्तो भए पनि सहनै पर्ने, बारीको टुप्पो बेचेर भए पनि तेर्हौ दिनको काजकिरिया उमक्याएर छोरोलाई आसाको केन्द्रबिन्दु मानेर दिनचर्या अगाडि बढाइ रहिन् । आज भोलि पर्सि हुँदै छोरो हुर्कँदै आयो, उनका अतीतका पीडाहरू पनि टाढा हुँदै गए ।

उनले सधैँभरि साडीले टाउको तथा दाहिने आँखा छोपेर साडीको टुप्पो दाँतले टोकेकी हुन्थिन् । एकदिन उनलाई छोराले स्कूल गएर के गर्दो होला आज स्कूलमै गएर हेर्नुपर्यो भन्ने उत्सुकताले छोयो र स्कूलको एउटा कुनामा गएर लुकेर हेरिरहेकी थिइन् । छोरो साथीहरूसँग दौडने, उफ्रने, लख्ने, पढ्ने निक्कै हर्षित मुद्रामा रमाउने गरेको देखेर उनको पनि हर्षको सीमा रहेन, निकै खुशी हुँदै नजिकै पुगेर “मेरो बाबु” भन्दै छोरालाई च्याप्प समाउँदा मुखले च्यापेको साडी फुत्कियो । उनको दाहिने हात चल्दैनथ्यो, देब्रे हातले झ्याप्पै साडी उचालेर टाउको तथा आँखा छोप्न सकिनन् । छोराले मात्रै होइन उसका साथी सबैले उनको एउटा आँखा नभएको देखे । अब उसलाई उसका सबै  साथीहरूले सधैंभरि “ओ कानीका छोरा, तेरी आमा त एक आँखे, तेरी आमाको आँखामा त चराले गुँड लगाउने, तेरी आमाको आँखामा त एक माना मकै जाने, भनेर जिस्काउन थाले । कसै कसैले त “कानो गोरुलाई औँसी न पुर्णिमा, भदौमा आँखा फुटेको गोरुले चैतमा हरियो देख्छ अरे” आदि आदि भन्दै छेड हान्न पनि थाले । ती साथीहरूका अप्रिय वचन उसलाई असह्य भयो । उसले पनि अब घरमा गएर आमालाई “ यो कानी किन कानो आँखो लिएर स्कूलमा गएकी होली, तैँले गर्दा मलाई स्कूलमा साथीहरूले गिज्याउन थाले, म अरुको अगाडि बोल्नै नसक्ने भएँ ।” उसले आमालाई ओइ कानी भनेर बोलाउँथ्यो, दिनदिन गाली गर्थ्यो । उनले कुनै प्रतिवाद गर्दिनथिन् । उनले सधैँ बाबु भनेर बोलाउथिन् ।

उसले स्कूलको पढाइ सकेपछि सहर पस्यो, काठमाडौंतिर लाग्यो । उतैतिर पढ्न लाग्यो, जागिर पनि खान थाल्यो, घर र आमालाई चटक्ककै भुल्यो । अझै बेला बेलामा आमा कानी भएको कुरा कसैले श्रीमतीलाई भनि दिने पो हुन् कि भन्ने डरले सताइ रहन्थ्यो । आमा दिन प्रतिदिन बुढी हुँदै गइन्, पढ्न गएको छोरो पक्कै पनि फर्किने छ भन्ने विश्वासमा थिइन् तर छोरो फर्केन । उनलाई छोरोको यादले सताउन थाल्यो । एक दिन त भित्र अगेनोमा आगो फुक्दै थिइन्, बाहिरबाट “मा मा” भन्ने आवाज आयो, उनले मेरो छोरो आयो भन्दै हतपतिदैं बाहिर निस्किँदा त आरुको बोटमा काग “का का” कराएको रहेछ। सायद छोराको साह्रै याद भएर होला काग कराउँदा छोराको बोली सुनेको । अब उनी ढुक्क भइन् आज मलाई छोराको झल्को लाग्यो, छोरो पक्कै आउँछ, तर छोरो आएन ।

अब उनलाई कपाल सेतै फुलेकी, दाँत झरेकी, आँत सुकेकी, मुख चाउरेकी, दुब्ली पातली, थोत्रा कपडा लाएकी वृद्ध विधवा देखेपछि बोक्सी भन्न थाले । तेरो आँखा झाँक्रीले फुटालि दिएका हुन्, तेरो हात धामीले बसाली दिएका हुन् । तँ बोक्सी राँडीफुँडी रन्डी, पोइ टोकाहा, छोरो धपाएर एक्लै खान पल्केकी डङ्किनी अब यसलाई लछारपछार गर्दै गाउँबाट धपाउनुपर्छ, मट्टीतेल छर्केर आगो लगाउनुपर्छ यसलाई दिशा पिसाबखुवाउनुपर्छ । गाउँमा कसैका भैँसीले दूध दिएन भने उनैलाई पोल्थे, कसैका बच्चाबच्चीलाई टाउको दुख्यो भने उनैलाई सराप्थे । यो कानी  केही गर्न नहुने भयो अब यसलाई गाउँबाट नधपाई भएन, यसको अर्को आँखा पनि नफुटाली भएन भन्दै गाँउमा धामी झाँक्री बसे भने उनकै घरमा लगेर पात्लो फाल्थे । मौखिक छेडछाडका कुरा त केही बाँकी थिएनन्, अब कतिबेला साङ्घातिक हमला गर्ने हुन् उनी त्यही पर्खिरहेकी थिइन्, उनले जस्तोसुकै यातना र लाञ्छना पनि सहन बाध्य थिइन् । किनभने उनको आफ्नो भन्नु कोही थिएन, आफू असक्त थिइन् ।

त्यही  पेरिफेरिमा स्कूलले   स्वर्ण महोत्सवको आयोजना गर्यो । प्रमुख अतिथिको रुपमा आफ्नै स्कूलबाट एस.एल.सी. उत्तीर्ण गरेको, नेपाल सरकारको उच्च पदस्थ कर्मचारी भएको धुर्वलाई ल्याउने निर्णय गर्यो । विभिन्न पत्र पत्रिकाबाट, पोष्टर-पम्पेलिङ र माइकिङबाट प्रचार-प्रसार गरियो । सबैको घर घरमा निमन्त्रणा पठाइयो तर ती बृद्धा महिलालाई कसैले पनि सम्झेन । तैपनि उनले त्यो कार्यक्रमको बारेमा जानकारी पाएकी थिइन् । कार्यक्रम सुरु भयो, प्रमुख अतिथि धुर्व सेतो प्लेटको चिल्लो कारमा आयो । सबैले धुर्वको जयजयकार गरे । सबैले फुल माला, अवीर,खादा दोसल्लाले ढाके र डोर्याउँदै मञ्चमा लगेर आसन ग्रहण गराए । दुई चार हजार मान्छेहरू,कलाकारहरू, गाउने, नाच्ने बजाउने र भाषण गर्नेको दिनभरि भिडै लाग्यो । सबैले धुर्वकै प्रशंसा गरे । प्रमुख अतिथि धुर्वले पनि भाषण गर्यो, यहाँको लागि के चाहिन्छ म सबै गरि दिन्छु भन्यो, सबैले तररर ताली पिटे, कार्यक्रम धुमधामले मनाइयो । उनले त्यो सबै दृश्य माथि हरिलालको बारीको कुनामा अम्रिसो र ऐँसेलुको झ्याङबाट लुकेर हेरिरहेकी थिइन् । ध्रुवले भाषण गरेपछि मायाको चिनो ग्रहण गरेर उही चिल्लो कारमा चड्यो सबैले वाइवाइ गरे, उसले पनि वाइवाइ  गर्दै हात हल्लाउँदै पूर्व दिशातर्फ लाग्यो । उनले आफ्ना आँखाले भ्याउन्जेल हेरी रहिन्, छोराले डाँडो काट्यो, उनलाई पटक्कै दुःख लागेन, गर्व लाग्यो कि आज मेरो छोरो यति ठूलो भएछ भनेर ।

एक दिन उनलाई मेरो छोरो कस्तो भएको होला भन्ने यादले सताउन थाल्यो । अब सायद धेरै दिन पनि बाँच्दिन होला, मर्नु भन्दा अघि एक पटक छोराको मुख देख्छु भनेर छोराले भाषणमा भनेको ठेगानाको आधारमा सहरतर्फ लागिन् । सोद्धै खोज्दै छोरो बसेको घरमा पुगिन् । मेरो बाबु बसेको घर यही हो भन्दै गेटबाट भित्र पनि छिरिन् । भित्रबाट एउटा बाबु र एउटी नानी अघि लाएर एउटी सहरिया युवती बाहिर निस्किन् । ती युवतीले उहाँ काममा जानुभएको छ यहाँ क कति कामले पाल्नुभएको होला भन्न थालिन् । उनले केही बेर धोको पुगिन्जेल ती नानी बाबुलाई हेरिरहिन् । यी पक्कै मेरा छोराका अनुहारका मेरा नाति नातिनी हुनुपर्छ भन्ने अडकल काटिन् । उनलाई अर्को याद आयो, मेरो छोराको पनि यत्रै उमेरमा आँखो फुटेको थियो । उनी केही अगाडि सरेर “ नानी मलाई एउटा सानो कागज र कलम दिनुहोस् न ” भन्दै पेटीमा थुचुक्क बसिन् । त्यो सानो बाबुले भित्रबाट एउटा कागज र कलम ल्याएर दियो, त्यो कागजको सिरानमा यस्तो लेखिएको थियो :

बाबु छोरा ध्रुव ! आज म तिम्रै  कागजमा दुईवटा अक्षर लेख्दै छु । बाबु ! मेरो उपस्थितिले तिमीलाई बिरसिलो बनाउला । कोखीको आगो जति टाढा भयो उति पोल्दो रहेछ । मेरो कारणले बाबु अपहेलित हुनु परेको होला, मलाई क्षमा दिनु बाबु । म मर्नु अघि छोराको मुख देखेर मरेँ भने स्वर्गको ढोका खुल्छ भनेर तिम्रो मुख  देख्न आएकी थिएँ, तिम्रै प्रतिनिधि नाति र नातिनी देखेँ, अब मेरा स्वर्गका दसै ढोका खुले । बाबु तिम्रो उन्नति प्रगति सबै थाहा पाएँ । म धेरै धेरै हर्षले गदगद भएँ, मेरो खुसीको सीमा रहेन । बाबु ! सुखमा नमात्तिनू, दुःखमा नआत्तिनू, हारे मरिन्छ जिते बाँचिन्छ, सबैभन्दा ठूलो आत्म हो, आत्म कमजोर भएको हात्तीलाई माउतेले खेद्छ तसर्थ स्वाभिमानसँग बाँच्न सिक्नू, कहिल्यै पनि साख नगुमाउनू, नूर नगिराउनू, निरीह र लाचारी नहुनू, ईश्वर, इमान र इज्जतलाई ख्याल राख्नू बाबु ।

अँ साँच्चै बाबु  पक्कै पछि तिमीलाई मेरी आमाको दाहिने आँखा कसरी फुटेको होला, दाहिने हात किन नचलेको होला ! भन्ने उत्सुकता जाग्न सक्छ । म त्यसको सत्य पनि बिसाइ दिन्छु । तिमी सानो हुँदा निकै राम्रा थियौ, पानीमा बढी खेल्थ्यौ, सफा-सुग्घर हुनचाहन्थ्यौ । एक पटक खोप लगाउने भनेर त्यही पर बरको बुटाको चौतारोमा मामाले ल्याइदिएको नैनसुतले छाएको भोटो र ढाकाको झुम्कासहितको टोपी  लगाइ दिएर लगेर गएकी थिएँ ।  तिनी नयाँ घरे बुलाराज त्यति बेला जिल्ला पञ्चायतका सभापति भएका थिए उनले “ खै ल्याऊ त भाउजू कति राम्रो हो यो भोटे कुकुरको छाउरो ” भन्दै तिमीलाई काँधमा राखेर वरपर डुलाए, सबैले तिमीलाई नै हेरिरहेका थिए । तिमी जति राम्रा थियौ त्यति चकचके पनि थियौ, भर्खर तिमी चार वर्ष पुरा गरेर पाँच वर्षमा प्रवेश गरेका थियौ । भोलि चैते दशैं कोट जाने भेली खाने भनेर रमाइ रहेका थियौ । तिम्रा साथीहरू आएर तिमीलाई त्यही परको वरको बुटाको चौतारोमा लगेर गए । म पनि एक्लै घरम के गरेर बसूँ भनेर तिम्रै पछिपछि गएँ । तिमीहरू कति बेला ढुङ्गाका गाईगोरू बनाउने, घरगोठ बनाएर बाँध्ने र फुकाउने, कति बेला चिलाउनेका गेडाको गुच्चा र भुरुङ खेलाउने, कति बेला चौतारोबाट चहुरमा हाम फाल्ने र उक्लने गर्थ्यो । तिमीले कता के गर्छौ मैले त्यही हेरिरहेकी थिएँ  । तिमी चौताराबाट चहुरमा हाम फाल्दा पुछारघरको तोपेले बाँस काटेर घँसेटो कुनामा फालेको रहेछ, तिमी थचक्क बस्दा तिमीले घँसेटोको एउटा टुप्पामा टेक्यौ अर्को टुप्पो तिम्रो दाहिने आँखामा । तिम्रो आँखा फ्वात्त बाहिर निस्कियो, तिमीले आँखो समायौ, घँसेटो आँखामै झुन्डिएको थियो, तिमी एकै पटक आमा भनेर चिच्यायौ, तिम्रो रुवाई फर्किन गाह्रो भयो, आँखाबाट रगतका धारा छचल्किन थाले, तिमी रातोबाट नीलो भएर ढल्यौ बेहोसै भएछौ ।

बाबु ! अनेक हार गुहार गर्दै माइतीले दिएको चिनो नाक कान रित्याएर काठमाण्डौतिर लागेँ ।  कसैले आँखा दान दिएनन्, किन्न पनि दिएनन्, दिए पनि किन्ने औकात कहाँ थियो र !  तिम्रो कलकलाउँदो देहमा एउटा आँखा फुटेको मैले देख्न सकिन अनि मैले दाहिने आँखा झिकेर दिएकी हुँ बाबु । तिम्रो रगत ओ नेगेटिभ छ , झ्याप्प कसैसँग मिल्दैन त्यसैले तिम्रो अप्रेसनको क्रममा मेरो दाहिने हातबाट पहिला एक प्वाइन्ट दिएँ, तर त्यसले पुगेन र पछि फेरि अर्को प्वाइन्ट पनि त्यही हातबाट दिएँ । मेरो आत्म कति कमजोर रहेछ बाबु ! त्यही बेलादेखि मेरो हात चल्न छोडेको हो । ल हुन्छ बाबु !  अब धेरै गन्थन के गरौँ गल्ती भएको भए क्षमा दिनू म बिदा हुन्छु बाबु ।

मेरा सन्तानको उत्तरोत्तर उज्ज्वल भविष्यको कामना ।

सुन्तली

उही तिम्री अभागी आमा

 

उनले त्यो पत्र लेखेर नजिकैको टेबुल माथि राखेर बाहिरतिर लागिन् ।

धुर्व अफिसबाट आएर गाडीबाट ओर्लेर ब्रिफकेस टेबुलमाथि त्यो पत्र देख्यो र पढ्यो ऊ तुरुन्तै आमा गएको दिशातर्फ दौडियो । केही पर एउटा मन्दिरको छेउमा एउटी बुढी आइमाई घोप्टो परेर लडेको देख्यो । नजिकै  गएर हेर्दा मुखले साडी च्यापिएकै थियो, दाहिने आँखा र हात ढाकिएकै थियो तर निश्चल, निर्विकार र सु शान्त । ऊ एकै चोटि चिच्यायो “मेरी आमा—–।” अनि आमाकै छेउमा घुप्लुक्क घोप्टियो ।

मेलै त्यो मेरो शिष्यले पठाएको महात्माको सन्देश राम्ररी पढेँ, म पनि भाव विह्वल भएँ अनि यो कथाको शीर्षक “ मेरी आमा ” राख्नू बाबु भनेर सल्लाह दिएँ ।

(बागलुङको गल्कोटस्थित गल्कोट माविका प्रधानाध्यापक देबेन्द्र खत्रीको प्रकाशोन्मुख कथा संग्रह ‘अनुभूती’ को यो एउटा कथा आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा प्रकाशन गरिएको हो । सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->