पोखरा/गण्डकी प्रदेशकी तेक्वान्दो खेलाडी सुुस्मिता थापा मगरले मुुआथाईमा लगातार सफलता हार पारेकी छन् । उनले शनिबार काठमाण्डौमा प्रो–फाइटमा बेल्ट जितेकी हुन् ।
बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न महिलातर्फ नेपालकै उत्कृष्ट महिला प्रोफाइटर रोजिना विष्टलाई हराउन सफल भइन् । सुस्मिताले पाँच राउण्डमा नै उत्कृष्ट अंक हात पारिन् । रोजिना नेपाली मुआथाई प्रोफाइटमा लामो अनुभव संगालेकी खेलाडी हुन् ।
उपाधिसँगै सुस्मिताले नगद ५० हजार र आकर्षक बेल्टसमेत हात पारेको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । आइटिएफ तेक्वान्दोकी खेलाडी समेत रहेकी उनी हाल पोखरा साक–यान्त मुआथाई प्रशिक्षणमा प्रशिक्षणरत रहेकी छन् । सुस्मिताले जितेको यो प्रो फाइट उपाधि नेपाली व्यावसायिक मुआथाई फाइटकै उच्च रहेको प्रशिक्षक क्षेत्रीले बताए ।
क्षेत्रीले भने,‘मलाई लागेको थिएन सुस्मिताले यो फाइटमा यस्तो उत्कृष्ट प्रदर्शन गर्छिन भनेर । तर, खेलमा उनले आफ्नो शत प्रतिशत दिइन् । उनले फाइट मात्रै जितेकी थिइनन् । पाँच राउण्डको फाइटमा पाँचै राउण्डमा नै विपक्षीविरुद्ध हावी रहिन् ।’
सुस्मिताको मुुआथाईमा यो तेस्रो सहभागिता हो र तेस्रो सहभागितासम्म नै उनी च्याम्पियन बन्दै आइरहेकी छन् । उनले आउने शनिबार बुढानिलकण्ठ नाइट फाइटमा भारतीय खेलाडी गीता नर्जिन्यारीसँग प्रतिस्पर्धा गर्नेछन् ।





