‘दु:ख त्यहि हो जुन बुझाउन सकिन्न।’
प्रायःजसो विदेशी भुमिमा नेपाली हजुरबाआमाहरूको अनुहारमा नदेखिने पीडा झल्किरहेको हुन्छ । व्यङ्ग्यात्मक रूपमा जे भनिएपनि अहिलेको पुस्ताका धेरै नेपाली आमाबुबा अमेरिका, अस्टे्रलिया, युरोप, क्यानडा जस्ता देशहरूमा पुगेका छन्। यसरी पुग्नुमा रहर र बाध्यता दुबै मिसिएको छ। विकसित देशका विकासका बखान मात्र सुनेकाहरूले पनि देख्न अनुभव गर्न पाएका छन । अहिले विकसित देशमा जान पाउनु आफैमा एउटा उपलब्धी मानिन्छ। यसरी आउनेहरू अधिकांश नातिनातिना स्याहारको प्रयोजनका लागि हुन्छन्।
जेष्ठ एकल वा जोडिको आगमनमा पनि दु:खको स्तर र रूप फरक हुने ठानिन्छ। जेहोस् एकल (आवाधिक वा सधाको लागि) का थप पीरहरू छाँया झै जहाँ गएपनि पछि लाग्ने नै भए। उमेर, रोग र मानसिकताको भिन्नताले दुखसुख सुजबुझको स्तर र रूप निर्धारण हुने कुरा पनि स्वभाविकै मान्नु पर्छ। यस लेखमा यस्तै समग्र हजुरबाआमाहरूको तन र मनले बोकेका असहजताहरू बारे केही कुरा राख्ने जमर्को गरिएको छ।
पहिलोचोटि विदेश आउन पाउँदाको उत्साह र खुसी केही प्रतिशत ट्रान्जिट लिनुपर्ने एरपोे्र्टको हुइलचेरमा हराइ सकेको हुन्छ। भाषागत र प्रक्रियागत झन्जट न्यून गर्न नेपालमा मैहुँ भन्नेपनि लाज मानिमानि हिड्न नसक्ने बनेका हुन्छन्। सफा शहर, फरक मौसम, विदेशी जीवनशैली देख्दा सुरुमा जोकोहि पनि रनभुल्ल पर्छ। त्यसपछिका दिनहरू उनीहरूका लागि एक्लोपन, मौनता र अलमलका हुन पुग्दछन्। उमेरले कमजोर भैसकेका आँखाले मान्छे त देख्दछन् तर आत्मियता र अपनत्वविहीन अनुहारहरूले अर्काको भिडमा आफन्त हराए जस्तो अनुभूति दिलाउँछ।
नेपाल फर्किएपछि कतिले भन्नको लागि मात्र भएपनि धेरै राम्रो रहेको प्रतिक्रिया दिन्छन्। विदेशी सरसफाइ, बाटा र सिस्टमलाई नेपालसँग तुलना गरि व्यवस्था अवस्था र नेताको आलोचना गर्दछन्। तर आफ्नै नजिककालाई भन्ने गर्छन्- “रमाइलो छैन परदेशको जीवन। फेरि जान मन छैन। बोलाए जानै पर्ने होला —–।” यो केवल भावुकताको झल्को मात्र होइन; गहिरो मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक कारणले जरा गाडेको सत्य हो।
भाषा, मौसम, समय, सामाजिक र भौतिक संरचनाबाट सुरू भएको प्रतिकूलता क्रमशः हजुरबाआमाको अमूर्त पक्षतिर सर्दै जान्छ। तिनीहरूले न छिमेकीको बोलावट सुन्न सक्छन् न बिहानै उठि आँगन सफा गर्न पाउछन्। प्रसिद्ध मनोविश्लेषक कार्ल युङले भनेका छन्—“हामी संसार घुम्छौँ, तर अन्ततः हामी आफूभित्रै फर्कनुपर्छ।” तर परदेशमा आफूभित्र फर्किन चाहँदा पनि त्यो ‘आफू’ कताकता हराएको हुन्छ। विज्ञान सानो कुरामा हुन्छ भनिन्छ। विदेशी भुमिमा सानै देखिने कुराले पनि हजुरबाआमाको मन भाँचिन पुग्छ।
छोराछोरी बस्ने घरभित्र प्रवेश गरेदेखि एकपछि अर्को समस्याहरू तिनीहरूको सामु तेर्सिन थाल्दछन्। विकसित देशमा धेरै नेपाली भाडा तिरेर बस्दछन्। त्यसैले चुक्कुल खोल्दा, हिड्दा, खोक्दा समेत तर्सनु पर्दछ। पश्चिमका सुकिला कोठा अझ बढी चिसो लाग्छन्। छतमा परेको हिउँ आफैँ पगाल्नुपर्छ, तातो बनाइएको घर पनि आत्मा चिसो नै रहन्छ। सुनको पिजडामा राखिए पनि चरा खुलेको आकाशमै रमाउँछ। हजुरबाआमाहरूलाई भान्छा प्रवेश सीमित हुन्छ। भान्छा आफ्नै हो कि पराइको हो ?
आधुनिक सामाग्रीहरू(चुलो,फ्रिज,धारा,वासिनमेसिन सेन्सरयुक्त ढोका आदि) चलाउन नजान्नु पनि पिरलोमा पिरलो थप्ने कारण बन्न जान्छ। गुन्द्र’क पकाउदा बा सेलरोटी पकाउदा सेन्सर बज्नुदेखि जताततैका सिसि क्यामराको निगरानीले पनि तिनीहरूलाई तर्साउने गर्दछ। धनी देशमा सबै कुरा राम्रा हुन्छन् भन्ने हुदैन। शौचालय संस्कृतिमा विकसित भनिने देशहरू पछि परेको प्रतीक हुन्छ। पानीले सफा गर्ने बानी भएका व्यक्तिका लागि टिस्यु पेपर प्रयोग गर्नु केवल असहजता मात्र होइन, ‘अपमानको अनुभूति’ हो। यही विषयमा प्रसिद्ध मनोवैज्ञानिक अब्राहम म्यास्लोको भनाइ याद आउँछ-“मानव आवश्यकताको आधार हो आत्मसम्मान। जब यो टुट्छ, व्यक्तित्व कुहिन थाल्छ।”
अरू कुरा जेसुकै भएपनि नेपालमा डक्टरसँग भेट हुन सजिलो छ। नेपालमा सानोतिनो स्वस्थ्य समस्यामा पनि ल्किनिक र औषधि पसल धाउने नेपाली मानसिकता विदेशमा पुग्दा तिलबिलाउन थाल्दछ। बीमा गरेकाहरूको लागि समेत उपचार सुबिधा लिन अप्ठ्यारो, खर्चिलो र समय लाग्ने अवस्था रहेको परिस्थितिमा हजुरबाआमाले उपचार के पाउन सक्लान्! डाक्टरको अपोइन्टमेन्ट लिनु पर्ने, बीमा कम्पनीसँग प्रक्रिया बुझ्नुपर्ने, औषधि पाइने–नपाइने अन्योल—यी सबै वृद्ध व्यक्तिका लागि अझै तनावको कारण हुन्छन्। सामान्य भिजिटरहरूको लागि पुराना रोगहरूको उपचार गर्न बिमा चाहेर पनि गर्न नसकिने हुन्छ। त्यसैले धेरै हजुरआमा–हजुरबुवा भन्छन्—“यहाँ त रोगभन्दा औषधि किन्न गाह्रो !”
छोराछोरीको आफ्नै घर भएपनि ऋणमै किनिएको हुन्छ। हजुरबाआमाले आफ्नो स्वामित्व नभएको घर आफ्नो ठान्दैन्न। त्यसैले धेरैले यहि अनुभूत गर्दछन्, “ठूलो घर छ, तर हाम्रो ठाउँ छैन। बस्न पाइन्छ, खान पाइन्छ, तर ‘अधिकार’ हुँदैन। एउटै ओछ्यानमा पनि सिमान्तकृत महसुस हुन्छ। यही विषयमा अस्तित्ववादी दार्शनिक ज्याँ पॉल सार्त्रले भनेका छन्- “स्वतन्त्रता भनेको तपाईंमाथि जे भएको छ, त्यसको जवाफमा तपाईं के गर्नुहुन्छ भन्ने हो।” तर यहाँ के गर्ने भन्ने स्वतन्त्रता नै छैन। कतिपय अवस्थामा आफ्नै छोराबुहारीसँगभन्दा छोरीज्वाइँसँग बसेपछि केही सहज महसुस हुन्छ भनेको सुनिन्छ। यसमा मनोबैज्ञानिक कारण लुकेको छ। छोरीको मायामा स्वार्थको अपेक्षा कम हुन्छ, सेवा स्वाभाविक लाग्छ। छोराको घरमा भने मायासँगै सामाजिक जिम्मेवारी र अधिकारको सन्तुलनको अपेक्षा मिसिन्छ। सम्बन्ध झन्झन नाजुक बन्छ। यही मनोविज्ञानको गहिराइमा डुबेका कारणले गर्दा नै यस्ता नेपाली उखान बने होलान्—“नाताले होइन, माया र व्यवहारले नाता गाँसिन्छ।”
परदेशको विलासिता, कार, सफा सडक र राम्रो घर—यी सबै कुनै दृष्टिकोणबाट मन लोभ्याउने हुन सक्छन्। तर आत्माले खोज्ने त अपनत्व हो। प्रसिद्ध साहित्यकार एर्नेष्ट हेमिङ्वेले लेखेका छन्—“हामी सबै कुनै न कुनै रूपले भत्किएका छौं। यसरी भत्किएको ठाँउबाट प्रकाश भित्र पस्छ।” बुढेसकालमा मानिस टुटेको हुन्छ, अनि अपनत्वको उज्यालोले मात्र त्यो टुटाइमा अर्थ आउँछ। तर जब त्यो उज्यालो छैन, जीवन मधुरो लाग्ने गर्छ।
कसै-कसैको अवस्था झन् असहजपूर्ण भएको देखिन्छ जो ग्रिन कार्ड लिएर परदेशमा वा देशमा बसेका छन् तर फर्कने वा जाने योजना छैन। छ महिना भन्दा बढी नेपाल बसे भने कार्ड जान्छ। मानौ, न अमेरिका पुग्दा आफ्नो घर जस्तो लाग्छ, न नेपाल पुग्दा आफ्नो घरमा बस्न पाउँछन्। यस्ता व्यक्तिहरू खर्चको हिसाबले गर्दा पनि ओहोरदोहोर गर्न सक्दैन्न। तिनीहरूको तन र मन एकै ठाउँमा हुदैन। यो स्थिति नेपाली उखान ‘न गाई घरको, न गोरु वनको’ जस्तै हुन्छ।
डिभि चिट्टा बाहेक धेरै युवा वर्ग विद्यार्थीको रूपमा आउने गर्छन्। पाएको छात्रवृत्ति र कामले गुजरा चल्न धौधौ परेका बेला अझ बाआमा र बच्चाको दाइत्व थपिन पुग्दछ। विदेशमा डलर रूखैबाट टिप्न पाइने जस्तो मानसिकता नेपालमा रहने अरू परिवारजनमा रहेको हुन्छ। यसले पनि खुसी हरेको पाइन्छ। अहिले एउटा भनाइ सुन्ने गरिन्छ- डलरलाई नेपाली रूपैयाँमा हिसाब गर्नेले चैन पाउदैन। एक कप कफीको मूल्यमा नेपालमा एक बोरै चामल पाइन्थ्यो भन्ने सम्झन्छन्। यहीँबाट रमाउन नसक्ने यात्रा सुरु हुन्छ। कार्ल युङले भनेका छन्-“जो बाहिर हेर्छ, उ स्वप्न देख्छ; जो भित्र हेर्छ, उ बिउँझिन्छ।” तर विदेश आएका धेरै अभिभावक र छोराछोरीहरू अझै बाहिरी तुलना र मूल्यमा अल्झिरहेकाले बिउँझिन सकिरहेका छैनन्।
संवाद र समझदारी जहासुकै आवश्यक भएपनि विदेशमा यी अति आवश्यक हुन जान्छ। धेरैजसो अवस्थामा दुबै पक्षले खुलेर कुरा नगर्दा समस्या बढ्छ। मनोवैज्ञानिक कार्ल रोजर्सको भनाइअनुसार, “गहिरो समझदारी तब मात्र सम्भव हुन्छ, जब हामी कुनै पूर्वाग्रह बिना अर्कालाई सुन्छौं।” छोराबुहारीले अभिभावकको भावनालाई बुझ्नुपर्छ। अभिभावकले पनि सन्तानको व्यस्त जीवनशैली र थकानलाई बुझ्नुपर्छ। एकअर्कालाई सम्मानका साथ हेर्न सिक्नुपर्छ। चिनियाँ चिन्तक कन्फ्युसियसले भनेका छन्—“बाबुआमाको आदर गर्नु सबै सद्गुणको आधार हो।” विदेशमा रहेका सन्तानले अभिभावकलाई नातिनातिना हेर्ने सहयोगी होइन, परिवारका मूल स्तम्भको रूपमा हेर्नुपर्छ। उनीहरूको उपस्थितिले घरको ऊर्जा बढ्छ, तर उनीहरूलाई निरन्तर काममै लगाएर थकित बनाउनु अन्याय हो।
दुई पुस्ताबीचको खाडल सधै रहन्छ। एकतर्फ प्रविधिको गति, अर्कोतर्फ सम्झनाको गति। स्मार्ट फोन चलाउने नाति र रिमोट नचलाउने हजुरबा बीचको संवाद मौनतामा बिलिन हुन्छ। सिग्मण्ड फ्रायडले भनेका वन्, “मनको गहिराइमा पुरिएका कुरा नै हाम्रो व्यवहार तय गर्छन्।” यी गहिराइहरू नबुझिँदा दूरी अझै बढ्छ। तिनीहरू बिर्सन्छन्—“हामीले जे रोप्यौं, त्यही उम्रन्छ।” समयमै संस्कार रोप्न चुकेपछि, सन्तानले सम्पत्ति बाँड्न सक्छन्, तर संवेदना होइन। ग्याब्रियल गार्सिया मार्क्वेजले भनेका छन्—“सम्बन्ध कहिल्यै समयको हिसाबले टुट्दैन, तर बुझाइको अभावले टुट्छ।” बुझाइ पुनः स्थापित गर्ने प्रयास नै पुनः जीवनको यात्रा हो।
अहिले देशमा होस् वा विदेशमा सम्बन्ध बिग्रने मूल कारण अनावश्यक मान्छेसँग कुरा गर्दा नै हो। नीतिशास्त्रमा भनिएको छ- धनको नाश,मनको पीर,घरभित्रको किचलो,आफू ठगिएको कुरा र मानहानी भएको कुरा बुद्धिमानीले कहिल्यै प्रकाशमा ल्याउदैन। कुरैको लेना कुरैको देना गर्दा नै सम्बन्ध बिग्रिरहेका छन्। बुहारीको बिषयमा फोनबाट नराम्रो कुरा सासुले आफन्तलाई सुनाइ रहेकी हुन सक्छिन्। त्यहि कुरा कल डाइभर्स गरेर बुहारीले पनि सुनिरहेकी हुन सक्छिन्। हुन त यसरी कुरा सुन्नुलाई अनैतिक मानिन्छ। बिदेशको ठाँउमा प्रबिधिको अत्यधिक प्रयोग गरिएको हुन्छ। घर बनाउन समय लाग्छ। छोटै समयमा घर भत्काउन सकिन्छ। यो कुरा हजुरबाआमाले बुझ्न आवश्यक हुन्छ।
यो अवस्थालाई सहज बनाउने जिम्मेवारी दुवै पक्षको हो। बिदेशमा रहेका सन्तानले आमाबुवाको स्वास्थ्यसम्बन्धी आवश्यकतामा पूर्वतयारी (औषधि, बीमा, आपतकालीन सम्पर्क) गर्नुपर्छ। उनीहरूलाई सामाजिक घेरामा ल्याउने-नेपाली समुदाय, मन्दिर, पार्क, वा साथीभाइ भेट गराउने काम पनि बिर्सनु हुदैन। मोवाइलका सामान्य कुरा बावुआमालाई सिकाउनु पर्छ। समय दिनुपर्छ। आवास र खानाको व्यवस्था नै पर्याप्त हुदैन।
आजको युग संचारको युग हो। घरै बसिबसि मान्छे भेट्न सकिन्छ, पुस्तक पढ्न सुन्न सकिन्छ, कयौं मनोरञ्जनात्मक कुरा हेर्न सकिन्छ। जान्ने र नजान्नेबीच धेरै अन्तर हुदैन भनिन्छ। थोरै अभ्यासले पनि धेरै कुरा सिक्न सकिन्छ। यसतर्फ हजुरबाआमाले चासो राख्नु पर्छ। तर यो वस्तु खेलाउदा सतर्कता अनिवार्य हुन्छ। नत्र ‘सुकाइदे गाँड भन्दा थपिदे गाँड’ हुन सक्छ। आमाबुवाले पनि नयाँ संस्कारलाई आत्मसात गर्न प्रयत्न गर्नुपर्छ। आफूलाई लचक बनाउने—खानपिन, समय तालिका, भाषा, व्यवहारका सानातिना कुरामा चित्त दुखाउने बानी छोड्नु पर्छ। आफूले आफैलाई टाढाको होइन, परिवारको हिस्सा ठान्नु पर्छ। जेष्ठ नागरिकको अवस्था भनेको केवल उमेरको अवस्था होइन, अनुभव, स्मृति र ममताको अभिव्यक्ति हो। यसलाई स्नेह र सम्मानले मात्र फूलझैँ फुलाउन सकिन्छ।
अहिलेको पाको पुस्ता दुई संस्कृतिको विचको पुल बन्न सकि रहेका छैनन्। न नेपालको जस्ता सानासाना रमाइलो कुराहरू छोड्न सक्ने अवस्थामा छन्, न नयाँ देशको जीवनशैलीमा पूर्ण घुलमिल हुन सक्ने उमेरमा। तर यदि सबैले मनको ढोका खोलेर व्यवहार गरे भने—हृदयको घर जस्तो केही हुँदैन। ग्याब्रियल गार्सिया मार्क्वेजको भनाइ यहाँ सम्झन लायक हुन्छ, “धन गुम्दा जीवन सकिँदैन, तर मन गुम्दा आत्मा मर्छ।”
समाधान भनेको कुनै चमत्कार होइन, परस्पर आत्म–चेतनाको पुनर्जागरण हो। सन्तानले स्नेह, समय र सम्मान दिन जान्नुपर्छ; बाबुआमाले सन्तानको संघर्ष बुझ्नुपर्छ। जब यी दुई चेतनाहरू एकआपसमा जुध्दैनन्, बरु मिल्दछन्, यो मिल्ने,मिलाउने र जन्मने ठाउँ हो—‘प्रच्छन्न इन्द्रिय’—एक गहिरो, तर मौन संवेदनशीलता। यो इन्द्रिय खुलेपछि अरू खोल्नु पर्ने केही बाँकि रहदैनन्। यस चेतनाले भुतको शोक र भविष्यको सूर्ता मेटाउन मद्दत गर्दछ। जीवन भनेकै वर्तमान हो। यसले परिवारको आत्मा जिउँदो राख्दछ; मर्नै लागेको पारिवारिक सम्बन्धलाई पनि पुनः जीवन्त बनाउन सक्छ। सबैका सबै सकारात्मक सम्बन्धहरू जुटुन्! वर्तमानमा रमाऔँ, शुभकामना ! जय होस् !
लेखक पाँण्डेय ज्येष्ठ नागरिक समाज, नेपालका केन्द्रीय सदस्य हुन । उनी हाल अमेरिकाको क्यालिफोर्नियामा छन्।- सम्पादक





