बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

थासाङको बजेट साढे ३७ करोड

थासाङको बजेट साढे ३७ करोड


  • ढाेरपाटन संवाददाता
  • असार ११ २०८२, बुधबार

मुस्ताङ/  हिमालपारीको जिल्ला मुस्ताङको तल्लो भेगमा अवस्थित थासाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३७ करोड ५६ लाख ३९ हजार ९८ रूपैंया विनियोजन गरेको छ । बजेट अन्तर्गत गाउँपालिकाले विनियोजन गर्न मिल्ने २२ करोड १७ लाख ८५ हजार ७ सय ६० मा चालु तर्फ ११ करोड १३ लाख ३५ हजार ७ सय ६० (५०.१९ प्रतिशत) र पुँजीगत तर्फ ११ करोड ४ लाख ५० हजार (४९.८० प्रतिशत) रकम विनियोजन गरिएको छ ।

उपाध्यक्ष सोमल हिराचनले गाउँ सभाको १६ औँ अधिवेशनमा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटको खर्च ब्यहोर्ने स्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ६ करोड ९४ लाख, संघीय राजस्व बाँडफाँटबाट ८ करोड २० लाख ९० हजार ७ सय, संघीय ससर्त अनुदानबाट १० करोड ९१ लाख ८४ हजार ३ सय ३८, संघीय विशेष अनुदानबाट २ करोड ६८ लाख, संघीय समपुरक अनुदानतर्फ ६७ लाख रुपैयाँ अनुमान गरिएको छ । यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९६ लाख ६३ हजार, राजस्व बाँडफाँटबाट ५३ लाख ९९ हजार, ससर्त अनुदानबाट ३९ लाख ६९ हजार, समपुरक अनुदानबाट ६० लाख प्राप्त हुने अनुमान गरेको उपाध्यक्ष हिराचनले बताए । यसैगरी आन्तरिक राजस्व ४० लाख प्राप्त हुने र साथै चालु आर्थिक वर्षको कार्यकम कार्यान्वयन पश्चात ५ करोड ५० लाख बचत हुने अनुमान उनले गरेका छन् ।

गाउँपालिकाका नागरिकको सुख र समृद्धिको चाहना, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रको काम र दीगोपना, पूर्वाधार विकास, रोजगारी सिर्जना, समावेशीता, सामाजिक परिचालन र ऐक्यवद्धता, पारदर्शिता, सुशासन र गुणस्तरीय सेवा प्रवाह जस्ता विषयहरूलाई जोड दिएर बजेट तर्जुमा गरिएको छ । चालु वर्ष गत वर्षको मौज्दात समेत गरी आन्तरिक आय तर्फ १० करोड ७९ लाख ७१ हजार ९ सय १८ रूपैंयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँट ४ करोड ५६ लाख, समानीकरण अनुदान ६ करोड ९६ लाख, सशर्त अनुदान १२ करोड २१ लाख ४० हजार, विशेष अनुदान १ करोड ४० लाख गरी ३५ करोड ९३ लाख ११ हजार ९ सय १८ रूपैंया रहेको उनले सुनाए । यसैगरी गण्डकी प्रदेश सरकारबाट राजस्व बाँडफाँट ४० लाख ६८ हजार समानीकरण अनुदान ६७ लाख ९० हजार, ससर्त अनुदान ४० लाख र समपुरक अनुदान ६० लाखसहित १ करोड ९८ लाख ५८ हजार हुने संशोधित अनुमान उनले गरेका छन् ।

कृषि पेशामा युवाको आकर्षण बढाई उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, लक्षित समुदायका नागरिकको रोजगारी र आयमा बृद्धि गर्दै आर्थिक असमानता कम गर्नु, सर्बसाधारणमा गुणस्तरीय सामुदायिक शिक्षाको पहुँच, पालिकाका सबै नागरिकलार्य स्वास्थ्य बीमाको दायरामा ल्याउनु, दीगो र भरपर्दो भौतिक पूर्वाधार, सहभागितामूलक विकास र प्राप्त लाभको समन्यायिक वितरणमा जोड, सुशासन प्रवद्र्धन मार्फत सार्वजनिक सेवा प्रवाहमा प्रभावकारितालाई बजेटले उद्देश्यमा राखेको छ । साथै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच, सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा, दिगो र उत्थानशील पूर्वाधार निर्माण, स्थानीय उत्पादन प्रवद्र्धन र कृषिको व्यवसायीकरण, सीप विकास र रोजगारी सिर्जना, सामाजिक सूरक्षा र समतामूलक समाजको स्थापना, समावेशी, समानुपातिक र सन्तुलित विकास, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखिएको छ ।

चालु वर्ष संघ र प्रदेश सरकारको राजश्व परिचालनको लक्ष्यमा गिरावट आउँदा संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणको रकम घटेर प्राप्त भएको उनले बताए । गाउँपालिकाको राजश्वको दायरा अत्यन्त संकुचित हुँदा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा भर पर्नुपर्ने यथार्थलाई पनि नकार्न नसकिने भन्दै उनले जिम्मेवारी र उपलब्ध सीमित स्रोतको बीचमा सामञ्जस्य कायम गर्दै गाउँपालिकावासीको विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने ठुलो चुनौती रहेको उनको भनाई छ ।

क्षेत्रगत रुपमा गाउँपालिकाले पूर्वाधार विकासतर्फ पालिकाको प्रशासकीय भवन निर्माणका लागि २ करोड, मुस्ताङको पहिचान र राष्ट्रिय राजमार्गको प्रत्यक्ष पहुँचमा नरहेका कालीगण्डकीपारीका बस्तिहरूको आर्थिक उन्नयनको माध्यमको रूपमा रहेको पर्यटकीय पदमार्ग निर्माणका लागि संघीय सरकारको समपुरक अनुदानसँगै कार्यान्वयन गर्नेगरी ९७ लाख विनियोजन गरिएको छ । यसैगरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूको मर्मत संभारका लागि १६ लाख, धम्पुदेखि कोखेठाँटीसम्म मोटरबाटो निर्माणका लागि १ करोड, झोङ्गो कृषि सडकको स्तरोन्नती, विभिन्न समाजघरहरूमा आवश्यक पूर्वाधार निर्माण, नुप्साङ खर्क जाने मोटरबाटो निर्माण र विभिन्न सांस्कृतिक सम्पदाहरूको सबलीकरण लगायतका विषयलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजन गरिएको छ । यस्तै आर्थिक विकास अन्तर्गत कृषितर्फ खेतियोग्य जमिनको संरक्षण गरी जंगली जनावरबाट अन्नबाली तथा फलफुल खेती संरक्षणका लागि तारबार गर्न ४० लाख, कृषि उत्पादनमा बढोत्तरी गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि किसानलाई मिनिटेलरमा दिइने अनुदानको कार्यक्रमलाई निरन्तरता दिनका लागि २० लाख, स्याउको उत्पादनलाई बढाउँदै स्थानीय जनतालाई आत्मनिर्भर बनाउन कृषकलाई प्रदान गर्दै आएको सर्भो तेल र कपर स्टिम पेष्टको अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । किसान तालिमलाई १० लाख, उत्कृष्ट कृषक सम्मान र प्रोत्साहन, किसानलाई अवलोकन भ्रमणका लागि बजेटको व्यवस्थापन गरिएको छ । पशुमा लाग्ने रोगहरूको समयमै पहिचान र निदानका लागि घाँसा, लेते र टुकुचेमा प्रयोगशाला स्थापनाका लागि ४ लाख, पशुपालक किसानलाई तालिम, दुध उत्पादनमा आत्मनिर्भर बन्नका लागि स्थानीय सँगको साझेदारीमा उन्नत जातका गाई÷भैंसी तथा राँगो वितरण गर्नका लागि ४० लाख, परम्परागत याक÷चौरी÷च्याङ्ग्रा÷थुमा पालनलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यक्रमका लागि बजेट छुट्टाइएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमै केहि गर्न चाहने युवाहरूलाई सीपमूलक तालिमको माध्यमबाट उत्प्रेरित गर्नका लागि ५ लाख, होटल व्यवसायलाई प्रोत्साहन गर्नका लागि होटल व्यवसायिलाई अनुदान कार्यक्रम अन्तर्गत २५ लाख, महिलालाई घरायासी कामसँगैं व्यावसायिकताको विकास गर्न कुखुराको खोर निर्माण तथा चल्ला वितरणमा अनुदानको व्यवस्था गरिएको छ । मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेका टिटी, सेकुङ र भुतर्छो तालको संरक्षणका लागि पूर्वाधार निर्माण गर्न ३० लाख, पर्यटकीय स्थलहरूको आवश्यक प्रचार प्रसार र प्रवद्र्धनका लागि सूचनामूलक बोर्ड र होडिङ बोर्ड र ब्रोसर वितरणको कार्यक्रमलाई निरन्तरता, लेतेमा परम्परा झल्कने गरी ढुङ्गेधारा र चौतारो निर्माण गर्न १० लाख विनियोजन गरिएको छ । साथै आयुर्वेदिक उपचार पद्धतीमार्फत थासाङवासीको स्वास्थ्य प्रवद्र्धन गर्नका लागि एकमुष्ट ८ लाख, पालिकाबासीको निःशुल्क रूपमा स्वास्थ्य बीमाका लागि २५ लाख, लेते प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्वास्थ्य संस्थाको सुदृढिकरणका लागि आवश्यक मेसिनरी सामग्री खरिद गर्न ४५ लाख, लेते प्राथमिक केन्द्रमा फार्मेसी, ानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न ३ लाख छुट्टाइएको छ । बालबिकासदेखि ५ कक्षासम्मका बालबालिकाहरूको लागि दिवा खाजा, विद्यालय मर्ज र त्यसपश्चातको व्यवस्थापनका लागि १५ लाख, कक्षा १–५ को पाठ्यपुस्तक छपाई र ६ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक निर्माण गरी प्रयोगमा ल्याउनका लागि ८ लाख स्यानीटरी प्याड वितरण, ज्ञानोदय माध्यमिक विद्यालयमा प्लस टु सञ्चालन तथा व्यवस्थापनका लागि १३ लाख ८० हजार विनियोजन गरिएको छ । स्थानीय स्तरका कला, संस्कृति, साहित्य, पर्व, मेला, जात्रा, नाच आदिको संरक्षण र प्रवद्र्धन गरी पर्यटनसँग जोड्न आवश्यक व्यवस्था गरिएको छ भने जेष्ठ नागरिक एवम् मुखियाहरूको आवश्यक सहयोगमा स्थानीय प्राकृतिक, सांस्कृतिक एवम् अमुर्त सम्पदाहरूको यथार्थ तथ्याङ्क सङ्कलन र प्रकाशनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । बौद्ध संस्कृतिको पहिचान र धरोहरको रूपमा रहेको माने निर्माण संवद्र्धन र प्रवद्र्धन, भूपि पुस्तकालयलाई साङ्गितिक आयामसँग समेत अगाडि बढाउन संगित अध्ययन सामग्री खरिदका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । संघीय सरकारको विशेष अनुदानबाट गुरूसाङ्वो खानेपानी आयोजनालाई अगाडि बढाउन ६८ लाख, फोहरमैलाको स्रोतमा वर्गिकरण र व्यवस्थापनका लागि ५ लाख, पालिका खेलको रूपमा रहेको तारा खेललाई प्रवद्र्धन गर्न तथा नयाँ खेलाडि उत्पादनलगायत कामका लागि ८ लाख, बालमैत्री स्थानीय शासनलाई अवलम्बन गर्नका लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।

बचत छोराछोरीलाई सुरक्षा जीवनभरीलाई भन्ने मन्त्र सहित यस गाउँपालिकामा स्थायी बसोबास गरेका बाबुआमाबाट जन्मिएका छोराछोरीको उज्ज्वल भविष्य निर्माणका लागि गाउँपालिकाले बचत गर्ने उद्देश्यले आवश्यक बजेट विनियोजन गरिएको छ । सामयिक रूपमा आउने विपद्सँग जुध्दै अगाडि बढ्नका लागि सहज होस भनि प्रकोप व्यवस्थापन कोषको लागि ६० लाख, सिर्कुङमा विपद् व्यवस्थापन सेन्टर स्थापना गर्न १२ लाख, कमजोर भूभाग र तटीय क्षेत्रका कारण जोखिममा रहेको कोखेठाँटी बस्ति संरक्षण योजना मार्फत ९ लाख विनियोजन गरिएको छ । यसका साथै विभिन्न प्रकारका व्यवसाय दर्तामा महिलालाई २० प्रतिशत छुट दिने कार्यक्रमको सुरूवात गरिएको छ । साथै पालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजश्व संकलन र राजश्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको आर्थिक विधयेक, २०८२ र गाउँपालिकाको सेवा तथा कार्यका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विनियोजन विधयेक, २०८२ पनि उपाध्यक्ष हिराचनले प्रस्तुत गरे । प्रस्तुत बजेटको कार्यान्वयनबाट उत्पादन र उत्पादकत्व वृद्धि भई स्थानीय अत्यावश्यक पूर्वाधारको निर्माण गर्न सहयोग पुग्ने अपेक्षा उनले गरे ।

यसअघि अध्यक्ष प्रदीप गौचनले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकालाई समृद्ध तथा समुन्नत बनाउने अभिभारा सुम्पे अनुसार उक्त जिम्मेवारी तथा जवाफदेहिताप्रति पालिका पूर्ण प्रतिवद्ध रहेको बताएका थिए । पालिकाबासीको चाहना र आकांक्षा बमोजिम विकास निर्माणका कार्यक्रमहरु अघि बढाउन दृढ संकल्पित रहेको र सबैको साथसहयोगको अपेक्षा उनले गरे । गाउँपालिकामा कृषि, पशु, पर्यटन व्यवसायको प्रचूर संभावना रहेको र जनताको विकासको चाहनालाई परिपूर्ति गर्ने किसिमले नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको उनले उल्लेख गरे । चालु खर्चलाई मितव्ययी बनाउँदै पूजीगत खर्च बढाउने, संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरिने, समृद्ध, समावेशी, स्वच्छ, सुरक्षित, स्वावलम्बी र सुशासित समुदाय निर्माण गर्ने उद्देश्य लिएको उनले जनाए ।

गाउँपालिकामा २२ वटा एकल अधिकारसहित विविध साझा अधिकार किटान हुनु, शिक्षामा सबैको पहुँच पुराउनु, स्वच्छ पिउने पानीको व्यवस्था र पालिकाका सबै नागरिकलाई स्वास्थ्य विमामा आवद्ध गराउनु, आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानुन तर्जुमा, मापदण्ड कार्यविधि निर्माण योजना तर्जुमाको अभ्यास हुनु, विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु, गाउँपालिकाभित्र भौगोलिक, राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक विविधता हुनु, सवै वडामा पक्की सडक पूर्वाधारको पहुँच, कृषिजन्य उत्पादनलाई बजारसम्मको पहुँच, भवनसंहिता पालना हुने क्रम बढ्नु तथा नक्सापास गर्न नागरिकको आकर्षण बढ्नु र पर्यटन पूर्वाधारका प्रचूर संभावनाका क्षेत्रहरु हुनु पालिकाको अवसर रहेको उनले बताए । यसैगरी युवा जनशक्तिलाई कृषि, पशु र पर्यटन व्यवसायप्रति आकर्षित गर्न र व्यवसायिक कृषकको संख्या बृद्धि गर्न नसक्नुलाई उनले चुनौतीका रुपमा प्रस्तुत गरे । त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त युवाको सीप तथा पूजीलाई उद्यम विकासमा उपयोग गर्न नसकिएको, सिमित जग्गाको मात्र नापीनक्सा भएको तथा विगतदेखि नै सार्वजनिक जगामा घरबास भएको तर त्यसलाई व्यवस्थित गर्न नसकिएको, प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको मापदण्ड अवलम्बन नगरी अत्याधिक दोहन रोक्नु तथा खेर गईरहेका प्राकृतिक स्रोतसाधन (ढुंगा, गिटी बालुव, काठ वन पैदावर) को समुचित उपयोग गर्न र सो वापतको कर उठाउन नसकिनु पनि चुनैति उनले औल्याए । अव्यवस्थित बस्ती बिस्तारको क्रम रोक्न तथा व्यवस्थित बस्ती बिकास गर्न, वैज्ञानिक, जलवायु उत्थानशील तथा व्यवहारिक एवं उपयुक्त भूउपयोग योजना तर्जुमा गरी लागु गर्न, ) गाउँपालिकाको आन्तरिक आम्दानीका स्रोत न्यून भएका कारण गाउँपालिकाले चाहेजस्तो कार्यक्रम कार्यान्वयनमा समस्या, सडकलगायत पूर्वाधारको उपयोग, डिजाइन तथा ड्रइङविना गरिने सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु, निर्माण भएको पूर्वाधारको मर्मतसंभार पद्धतिको बिकास गर्न नसकिएको जस्ता चुनौति उनले नीति र कार्यक्रममा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->