बागलुङ/बागलुङमा भएको प्रथम केआइइसी अन्तरविद्यालय एसएलसी फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल ‘बी’ले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफ ‘बी’ले आदर्श विद्यामन्दिर माविलाई ११–५ गोलले पराजित गरेको हो । खेलमा चिल्ड्रेनका सौरव गौतमले ८ गोल गरेर उत्कृष्ट खेलाडी घोषित भए । त्यसअघि फाइनल यात्राका लागि चिल्ड्रेनलाईफ बोर्डिङ स्कुलको ‘बी’ टिमले अमर आदर्श बोर्डिङ स्कुल र आदर्श विद्यामन्दिर माविले फ्युचर ब्राइटर बोर्डिङ स्कुललाई पराजित गरेका थिए ।
माध्यामिक तहसम्म अध्ययन गर्ने विद्यार्थी अर्थात् कक्षा १२ को परीक्षा दिएर बसेकाहरुले पनि प्रतियोगितामा भाग लिएको केआइइसी बागलुङ शाखाका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । खेलमा बागलुङ, गलकोट, कास्की र म्याग्दी गरी १६ टिम सहभागि थिए ।
खेलमा प्रथम भएको चिल्ड्रेन लाइफले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आदर्श विद्यामन्दिरले १५ हजार पुरस्कारमा चित्त बुझायो ।
यसैबीच फाइनल खेल अघि भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघले आयोजक केआइइसीलाई पराजित गरेको छ । महासंघले केआइइसीलाई १५–९ गोलले पराजित गरेको हो । महासंघलाई आयोजकले प्रमाणपत्र प्रदान गरेको छ । पछिल्लो समय महासंघले विभिन्न कार्यक्रममा मैत्रीपूर्ण फुटसल खेल्दै आएको छ ।





