पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जेन जी आन्दोलनका क्रममा प्रदेशमा भएको भौतिक संरचना पुर्ननिर्माणका लागि पुर्ननिर्माण कोष स्थाना गर्न प्रदेश सरकारसंग अनुरोध गरेको छ । उक्त कोषमा दलको तर्फबाट १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।
कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा विहीबार बसेको संसदीय दलको बैठकले आन्दोलनमा सहादत प्राप्त गर्नेप्रति मौनधारण समेत गर्यो । आन्दोलनका क्रममा प्रदेश भित्र सार्वजनिक तथा निजी भौतिक संरचना र सवारी साधनमा ठूलो क्षति भएको जनाउँदे दलले उक्त क्षतिको यकिन विवरण तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो । ‘जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएकाले पुनर्निर्माण कोष स्थापना गर्न गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ’, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने ।
बैठकले भदौ २३ गते जेनजी युवाद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका होनहार युवाहरू, सुरक्षाकर्मीहरू तथा दिवंगत भएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । यस्तै भदौ २३ र २४ गते भएका ज्यादती तथा ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाहीको माग पनि दलले गरेको छ । जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरू, सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासनको प्रत्याभूति गर्नुपर्ने बारे आफुहरु प्रतिबद्ध रहेको भन्दै यस सन्दर्भमा नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले मितव्ययिता कायम गर्न चालु खर्च घटाउने, दरबन्दी कटौती गर्ने, कार्यालय समायोजन गर्नेजस्ता सुशासनमैत्री कार्यहरूको प्रशंसा गर्दै, अझ जनमैत्री र उत्तरदायी ढङ्गले अघि बढ्न आग्रह गरिएको छ ।
नेपाली जनताले लामो संघर्षपछि निर्माण गरेको संविधानकै मार्गबाट मुलुकको समुन्नति र नयाँ पुस्ताको चाहना पूरा हुनसक्ने भएकाले संविधानको रक्षा तथा सुदृढीकरण गर्नु सबैको कर्तव्य रहेकाले संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा निर्वाह गरेको अभिभावकत्वप्रति राष्ट्रपति रामचन्द्र पौडेलप्रति आभार व्यक्तसमेत बैठकले गरेको छ । मुलुकमा रोजगारी सिर्जना र राजस्व उत्पादनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिइरहेको निजी क्षेत्रमाथि भएको आक्रमणको भत्र्सना गर्दै, लगानीमैत्री वातावरण पुनःस्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध पनि गरिएको छ । आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेताहरु लगायत आम नागरिकमाथि भएको आक्रमणको घोर भत्र्सना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाको निर्णय पनि दलले गरेको छ ।
न्यौपानेका अनुसार यस विषम परिस्थितिमा सम्पूर्ण राजनितिक दलहरु, नागरिक समाज, युवापुस्ता लगायत सबैमा धैर्य रही संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकताबद्ध हुन सबैमा अपिल पनि बैठकले गरेको छ ।





