काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक सुरक्षाबाट बाहिरिएका छन् । उनी भक्तपुरको भाडाको घरमा बस्ने टुंगो लागेको छ । ओलीलाई स्वागत गर्न महासचिव शंकर पोखरेल, महासचिव पोखरलको पत्नी तथा एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्य, पोलिटव्यूरो सदस्य महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महराज गुरुङ, नेतृ अञ्जना अधिकारी, ओलीका सचिवालयका किरण पौडेल लगायतका नेताहरु गुन्डु पुगेका थिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको पुष्टि गरेका छन् । सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित एक घरमा उनका लागि डेरा खोजिएको छ । जेनजी ध्वंशको क्रममा बालकोटस्थित घर आगजनीबाट खरानी भएपछि उनी भाडाको घरमा बस्न लागेका हुन् । ओलीको लागि भाडामा लिइएको घर एमालेका एक स्थानीय कार्यकर्ताको हो । पोलिटब्युरो सदस्य महेश बस्नेतको घर पनि गुण्डुमै पर्छ ।
बस्नेतले केही दिनअघि दशौँ हजार युवाले स्वागत गर्दै अध्यक्ष ओलीलाई सार्वजनिक गरिने बताएका थिए । ओली संविधान दिवसको कार्यक्रममा सहभागी हुने भएका छन् । एमाले मुख्यालय च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा सार्वजनिक हुने एमालेका एक नेताले बताए ।
जेनजी समूहको प्रदर्शन राज्यको नियन्त्रणबाहिर पुगेपछि पद छाडेर बालुवाटारबाट हेलिकोप्टरमा बेपत्ता ओलीलाई नेपाली सेनाले शिवपुरीस्थित स्टाफ कलेजमा सुरक्षा दिएर राखेको थियो ।





