पोखरा/ गण्डकी प्रदेश सभाका तीन ठूला दलका प्रमुख सचेतकहरुले आम नागरिक र युवा पुस्तामा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरु पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताएका छन् ।
उनीहरुले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी विगतका कमजोरीहरुको आत्म समिक्षा गर्दै, सच्याउँदै युवा पुस्तासहित नागरिकमा विस्वास र भरोसा वढाउँदै जानुपर्ने यथार्थतालाई विना हिच्किचावट स्वीकार गर्नुपर्ने समेत जनाएका छन् । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपाली र माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढा पुनले विज्ञप्ति मार्फत भदौ २३ र २४ गते जेन जी पुस्ताका युवाहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
‘जेन जी पुस्ताका युवाहरुले उठाएका भष्ट्राचार नियन्त्रण र सु–शासन कायम गर्ने लगायतका जायज मागहरुलाई पुरा गर्दै संबिधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजवुत र समृद्ध वनाउनु आजको आवश्यकता रहेको छ र यसलाई सवैले आत्मसात गर्नुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
जेन जी को प्रदर्शन शान्तीपूर्ण हुने आयोजकहरुको पुर्व घोषणा बिपरित देशको प्रमुख प्रशासकीय भवन सिंहदरबार, सर्वोच्च अदालत, संघिय संसद भवन, राष्ट्रपति भवन, प्रदेश सभा भवन, प्रदेशका अधिकांश सरकारी कार्यालयहरु, नीजि आवास भवनहरु लगायत सयौं भौतिक संरचना माथि आगजनी, तोडफोड तथा विध्वंस हुनु जस्तो दुःखद कार्यको भत्र्सनासमेत उनीहरुले गरेका छन् । प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सम्वन्धमा छानविन गरी सो कार्यमा संलग्नलाई कानूनी दायरामा लिई कारवाही गर्न सम्वद्ध निकायको गम्भिर ध्यानाकर्षण उनीहरुले गराएका छन् ।
यस विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता लगायत सबैमा धैर्य र संयम रही थप एकताबद्ध भएर राष्ट्रको विकास र समृद्धिको यात्रामा लाग्न उनीहरुको अपील छ । संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको एक दशक पुरा भएको भन्दै उनीहरुले शुभकामना पनि दिएका छन् ।






