पोखरा/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएको मन्त्रिपरिषदलाई जानकारी गराएका छन ।
बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा देवकोटाको राजीनामाबारे जानकारी गराइएको थियो ।
जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ मा १९ युवाको मृत्यु भएपछि देवकोटाले राजीनामा घोषणा गरेका थिए ।
त्यतिबेला मुख्यमन्त्री पाण्डेचाहिँ युएईमा एक कार्यक्रमको लागि पुगेका थिए ।
केन्द्र सरकारले १९ जनाको हत्या गरेको, युवाको सहादत र सयौं घाइते भएको घटनाले मर्माहत बनाएको भन्दै देवकोटाले राजीनामा दिएका थिए । देवकोटा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का तर्फबाट मन्त्री बनेका हुन् । मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका थिए । उनी माओवादी केन्द्रको चुनाव चिह्नमा गोरखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बिहिबारको मन्त्रीपरिषद बैठकमा प्रदेशसभा भवनको विकल्पमा पनि छलफल गरिएको जानकारी दिए ।
आन्दोलनको क्रममा नदीपुरमा गण्डकीको प्रदेशसभा भवन खण्डहर बनेको छ ।
यो भवनको पुनप्रयोगको सम्भावना पनि छैन । नियमित अवस्था भएको खण्डमा गत भदौ २५ गतेको लागि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।
तर, त्यसको एकदिन अगाडि प्रदर्शनकारीले प्रदेशसभा भवन देखि सचिवालय, पुस्तकालयलाई खण्डहर बनाएका थिए भने सरकारी सवारी देखि सभामुख र उपसभामुखको निवासमा पनि आगजनी गरेका थिए ।
खण्डहर प्रदेशसभाको विकल्पमा सरकारले जिल्ला समन्वय समिति कास्कीको हल र कृषि मन्त्रालय मातहतमा रहेको तालिम हललाई विकल्पको रुपमा अगाडि सारेको छ ।
“विकल्पमा छलफल भइरहेको छ, निर्णयमा पुगिसकेका छैनौँ ।” गुरुङले भने, “प्रदेशसभाको नयाँ भवन निर्माणाधीन नै छ, त्यो नबन्दासम्म प्रदेशसभा कहाँ बस्नेबारेमा छलफल भइरहेको छ ।”
बिहिबार नै सरकारले आगजनी, तोडफोडबाट प्रदेश मातहतका सवारी देखि संरचनामा पुगेको क्षति करिब दुई अर्ब रहेको अनुमान गरेको छ ।
“४९ वटा चारपाङ्ग्रे र ११६ वटा दुइपाङ्ग्र्रे सवारीमा क्षति पुगेको छ । कति भवनलाई प्रयोगमा ल्याउन मिल्छ कतिलाई मिल्दैन त्यसको लागि भौतिक मन्त्रालयले एउटा समिति बनाएको छ । कतिवटाको बिमा छ, त्यसको बारेमा बिमा कम्पनीलाई सूचना पठाएका छौँ ।” उनले भने । “प्रारम्भिक रुपमा दुई अर्बको क्षति पुगेको हाम्रो अनुमान छ ।”





