बागलुङ/एमालेका स्थायी कमिटि सदस्य तथा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जेनजी आन्दोलनको नाउँमा अन्य राजनीतिक दलका संगठित सदस्यहरुको घुसपैठ भएको आरोप लगाएका छन् ।
उनले कतिपय पार्टीले आफ्ना संगठित कार्यकर्ता नै परिचालन गरेर एमाले सहितका पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गरेको बताएका छन् । राजनितिक प्रतिशोध साँध्नेहरुले एमाले सहितका कार्यालय तोडफोडमा जेनजी आन्दोलनभित्र घुसपैठ गरेको बताए ।
जेनजी आन्दोलन र भदौ २४ गते भएको आगजनीपछि पार्टी कार्यालयहरुको क्षती निरीक्षण तथा अनुगमन र कार्यकर्ता भेटघाटमा आएका अधिकारीले संगठित रुपमै एमाले कार्यालयमा आक्रमण भएको बताए । उनले जेनजीको नाउँमा घुसपैठ भएको पनि आरोप लगाए । ‘यो अपराध जेनजी समूहले गरेको होइन भन्ने प्रष्टै छ, अझै सुक्ष्म अध्ययन भैरहेको छ’ अधिकारीले भने, ‘त्यसको बास्तविक प्रतिवेदन आएपछि सबै कुरा खुल्दै जान्छ ।’ साथै, उनले पार्टी कार्यालयहरु ध्वस्त भएपनि कार्यकर्ताको मनोबल ध्वस्त हुन नदिने बताए ।
शनिबार अधिकारीले बागलुङ, पर्वत र म्याग्दीका कार्यालय निरीक्षण तथा अनुगमन गरेका थिए । साथै, पार्टीका नेता तथा कार्यकर्तालाई भेटेर धैर्य रहन र पार्टी संगठनमा लागिरहन निर्देशन दिए । उनले पार्टीको बैठकबाट सबै समीक्षा गर्ने पनि बताए ।
पछिल्लो समय भएका घटनाक्रममा पार्टी नेतृत्वको कमजोरीले जिल्ला तहसम्मका कार्यालय जलेको टिकाटिप्पणी भैरहेको छ । अधिकारीले भने तत्काल उक्त कुरा बताउन चाहेनन् । ‘हामी पार्टीको बैठक बस्छौं, कमीकमजोरी भए समीक्षा गर्छौ, आत्मआलोचना पनि हुनेछ’ उनले भने, ‘९० प्रतिशत कार्यकर्ताहरु अब राजनीतिक लयमा आइसकेका छन् ।’ कार्यकर्ताहरु हतोत्साही नभएको उनले जिकिर पनि गरे ।
जेनजीले उठाएका सुशासनको एजेण्डामा पार्टी सहमत भएको पनि उनले बताए । त्यस बाहेक सार्वजनिक पदमा बसेकाहरुको सम्पत्तिको छानविन लगायतका बिषय सार्वजनिक चासोको कुरा भएको उनको भनाइ छ । तर आगजनी, तोडफोड र हिंसात्कम घटनाको भने उनले बिरोध गरेका छन् ।
आगजनी भएको दश दिनपछि मात्र एमाले पार्टी कार्यालय सरसफाइ गरेर झण्डा र व्यानर राखिएको थियो । त्यो समयमा जिल्लाका नेता कार्यकर्ता सार्वजनिक रुपमा देखिएनन् । कतिपयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बिरोध समेत गर्थे । कतिपयले सामाजिक संजालमा लेखेर पनि आलोचना गरेका थिए । अधिकारीले भने पार्टीको सचिवालय बैठक बसेर जिल्ला तहदेखि केन्द्र सम्मका सबै प्रतिवेदनहरु अध्ययनपछि मात्र पार्टीको आधिकारिक धारणा आउने बताए । गत बिहिबार एक कार्यक्रम गर्दै एमाले बागलुङले पार्टी कार्यालयमा झण्डा र व्यानर पनि राखेको थियो । त्यसको दुइ दिनपछि अधिकारी जिल्लामा आएका हुन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीले पार्टी कार्यालयका सामाग्री जलाएका थिए । कार्यालय संचालनको क्रममा एमाले अध्यक्ष हिराबहादुर केसीले पनि जेनजी आन्दोलनका जायम माग पुरा गर्नुपर्ने धारणा राखेका थिए । सो अवसरमा पोलिटब्यूरो सदस्य मन कुमारी केसी, केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, युवा विद्यार्थीहरुले पनि आआफ्ना भनाई राखेका थिए ।
अनुगमनका क्रममा पर्वत पार्टी कार्यालयमा भएको आगजनीबारे गोविन्द पहाडी, घरमा आगजनी भएकोबारे पदम गिरी, बागलुङमा भएको तोडफोडबारे अध्यक्ष हिराबहादुर केसी, म्याग्दी पार्टी कार्यालयमा भएको तोडफोडबारे अध्यक्ष बालकृष्ण सुवेदीले नेता अधिकारीलाई जानकारी गराएका थिए ।
पार्टी संसदीय दलका नेता अधिकारीको नेतृत्वमा प्रदेशका क्षतीग्रस्त सवै जिल्ला र पार्टी कार्यालयको निरीक्षण, अनुगमन कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने पार्टी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले बताए ।





