सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

‘गोली लागेर माटोमा रगत मिसिँदा खुसी छु’

‘गोली लागेर माटोमा रगत मिसिँदा खुसी छु’

पुलिसले मलाई बोकेर जिपमा हालेर अस्पताल लैजाने कोशिस गर्दा आन्दोलनले गर्दा जाने अवस्था थिएन । एम्बुलेन्सलाई फोन गरेर बोलाएपछि मात्र म अस्पताल आइपुगे । एक घण्टा बढि म यसै लडिरहेको थिए ।


  • विजय नेपाली
  • असोज ५ २०८२, आइतबार

पोखरा/सामाजिक सञ्जालमा नेपो बेविजको जीवनशैली पोष्ट गर्दै एउटा अभियान चल्यो । विशेषगरि सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमा राजनीतिक नेताका छोराछोरी (नेपो बेविज) ले बिताइरहेका जीवनशैलीका लागि पैसा कहाँबाट आयो भनि यो अभियान सुरु भएको थियो ।

त्यहि अभियानले आन्दोलनको रुपमा लियो । भदौ २३ गते पहिलो दिनको आन्दोलनका क्रममा पोखरामा सुरक्षाकर्मीसंग झडप भयो । प्रहरीले गोली चलायो । ४ जनालाई गोली लाग्यो । गोली लागेकामध्ये गोरखाको बारपाकका १८ वर्षीय विवश घर्ती र पोखरा–२५ हेम्जाका ३२ वर्षका रेशम शर्मा अहिले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत छन् । स्याङ्जा मिर्मीका २१ वर्षीय निश्चल भट्टराई र पर्वतका २६ वर्षका सरोज क्षेत्री पनि घाइते भएकोमा उनीहरु उपचारपछि फर्किएका छन् ।

ढाडमा गोली लागेका विवशको अवस्था गम्भिर थियो । गोली लागेर ढलेका उनलाई तत्कालै अस्पताल पु¥याउन सकिएको थिएन । रेशमको कम्मरमा लागेको गोली पेटभित्रै छिरेको थियो । विवश आन्दोलनमै सरिक भएका थिए भने रेशम आफ्नो श्रीमती संगीताको राष्ट्रिय परिचय पत्र बनाउन गएका थिए । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

घटनाको दिन सम्झदै विवश भन्छन्, ‘प्रहरीले अश्रु ग्यास हान्यो भनेर भागेका थियौं । ग्यास फाल्दै आयो म पुल पारी थिए, भाग्दा ढाडमा गोली लाग्यो र छातीबाट निस्कियो । त्यहि ढले, पुलिसले मलाई बोकेर जिपमा हालेर अस्पताल लैजाने कोशिस गर्दा आन्दोलनले गर्दा जाने अवस्था थिएन । एम्बुलेन्सलाई फोन गरेर बोलाएपछि मात्र म अस्पताल आइपुगे । एक घण्टा बढि म यसै लडिरहेको थिए ।’

आफुहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा कसरी गोली हान्ने सम्मको स्थिति बन्यो त्यो बारेमा केही थाहा नभएको उनी सुनाउँछन् । उनका अनुसार भदौ २३ गते पोखराको सभागृहबाट शान्तिपूर्ण ¥याली सुरु भएको थियो । आन्दोलनको सुरुबाटै उनी सहभागि भएका थिए । उनका अनुसार पोखराको सभागृहबाट सुरु भएको ¥याली न्यूरोड, मानवअधिकार चोक, सिद्धार्थचोक, सिर्जनाचोक हुँदै शहिद चोकतर्फ हिडेको थियो । त्यसपछि निषेधाज्ञा तोड्दै मुख्यमन्त्री कार्यालय अघिबाट बढेर जिरो किलोमिटरतर्फ जाँदा गोली लागेको हो ।

पोखराको रामबजारस्थित एसओएस बालग्रामको संरक्षणमा रहेर गण्डकी बोर्डिङमा इन्जिनियरिङ साइन्स पढ्दै आएका उनले देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य भएको हेर्न चाहन्छन् । ‘अहिले देशमा सरकार परिवर्तन भएको छ । सरकार परिवर्तनले मात्रै हुँदैन हामीले जुन मागसहित आन्दोलन गरेका हौं त्यो पुरा हुनुपर्छ’ उनले भने, ‘अब आउने जेनेरेसनले भ्रष्टाचारविरुद्ध बाहिर निस्कदा गोली खान नपरोस् । जेनजीको नाममा होस् या जेन अल्फा अब कसैले गोली खान नपरोस् ।’

भदौ २३ को पहिलो दिन आन्दोलनकारीले निषेधाज्ञा तोड्दा समेत प्रहरीले बल प्रयोग गरेको थिएन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कारागार, गण्डकी प्रदेश प्रहरी कार्यालय लगायत थुप्रै कार्यालय रहेको उक्त क्षेत्रमा आन्दोलनकारीले मुख्यमन्त्री कार्यालयको झ्याल ढुंगाले हानेर फुटाएपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । त्यही आन्दोलनले हिंसात्मक रुप लिदैं गर्दा आन्दोलन राष्ट्रिय परिचयपत्र नबन्ने भएपछि आन्दोलन हेर्न पुगेका रेशम पनि गोलीको सिकार हुन पुगे ।

२३ गते विहान रेशम दम्पत्ती पोखरा–२५ वडा कार्यालय पुगेर विवाह दर्ता गरे । श्रीमती संगीताको राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्की जादै थिए । एक वर्षअघि भारतमा इलेक्ट्रोनिक एण्ड कम्युनिकेशनको अध्ययन सकाएर आफ्नै गाउँठाउँमा केही गर्ने भन्दै उनी फर्किएका थिए । साउन अन्तिममा विवाह गरे । छिटै नै आफ्नो पढाई अनुसारको व्यवसाय गर्ने योजना बनाएका उनी पोखराको जिरो किलोमिटरबाट मासबार हुँदै जिल्ला प्रशासनतर्फ लागेका थिए ।

आन्दोलनकारीले उनको स्कुटर रोके । त्यत्तीकै बस्नु भन्दा भनेर चटपट खान रोकिए । सोही क्रममा रेशमले आन्दोलनमा आफुले चिनेजानेका साथीभाई देखे । उनीहरुकै पछि लागेर आन्दोलनमा सहभागी हुन पुगे । ‘आन्दोलनका कारण जिल्ला प्रशासन जाने अवस्था रहेन । श्रीमतीलाई चटपट सकेपछि खबर गर्नु भनेर म पनि आन्दोलन हेर्न गए’ रेसमले भने, ‘अचानक भागाभाग भयो, म सुरक्षित ठाउँमै थिए, हातमा हेल्मेट थियो । एक्कासी दाइने खुट्टामा केही भयो जस्तो लाग्यो, पेटभित्र पनि असहज भयो त्यसपछि ढले । मलाई आन्दोलनकारीले नै गाडीमा हालेर मेट्रोसिटी अस्पताल पु¥याए त्यहाँबाट मेरो श्रीमतीले नै मलाई यहाँ (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) ल्याइनन् ।’

जेन जी आन्दोलनलाई समर्थन गरेपनि २४ गते लुटपाटसहित भएको घटनाप्रति भने उनीहरु पनि दुखि छन् । जेनजीले भ्रष्टाचार विरुद्ध छेडेको आन्दोलनले नयाँ सरकार बनेको र यसले युवा पुस्ताको मागको सम्बोधन हुनेमा आफु आशावादी रहेको उनले सुनाए । आफु राजनीतिप्रति समेत रुचि राख्ने व्यक्ति भएको सुनाउँदै रेसमले अब पनि राजनितिक दलका नेताहरु नसुध्रिए देशले निकास नपाउने भन्दै गुनासो पोखे ।

‘म गोली लाग्यो भनेर कत्ति दुखि छैन, मैले मेरो माटोको लागि रगत बगाए भन्ने लागेको छ’, रेशमले भने, ‘गोली लागेर देशमै रगत बगाउने अवसर रहेछ, त्यही भएर विदेश नगएको रहेछु । राज्यले केही नगरे पनि म आफै केही गर्नेछु । रगतले बोलाएको भएर आएको रहेछु जहाँ मलाई गोली लाग्यो त्यहाँ गएर आफैले ११ वटा नरिवल फोड्ने छु ।’ उनले अव राजनीतिक दल र नेताहरु परिवर्तन हुनुपर्ने र सरकारी सेवा प्रवाहलाई चुस्त बनाई नागरिकलाई कुनै पनि हिसावले दुख दिन नहुने भन्दै जन्मदेखि मृत्य दर्तासम्ममा पैसा तिर्न नपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । गोलीले आफ्नो कुनै पनि आत्मबल नगिरेको भन्दै उनले घटनाको छानविन भएर दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।

यसरी आयो गोली चल्ने स्थिति
इन्डोनेसियाबाट फिलिपिन्स हुँदै नेपाल भित्रिएको ‘नेपो बेबी’ अभियानमा संलग्न युवा समूहले भदौ २३ मा प्रदर्शनको आव्हान गरिएको थियो । त्यहि बेला नेपालमा सामाजिक सञ्जालहरु समेत बन्द भए । नेपालमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको छोरा जय वीर देउवा, सर्वहाराको दल दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी गंगा, नातिनी स्मिता, पूर्व मिस नेपाल श्रृंखला लगायत अन्य नेपालमा रहेका नेताका छोराछोरीहरूको महँगो शौक लगायतको तस्बिर र भिडियो सार्वजनिक गरेर यसको स्रोतबारे प्रश्न गर्दै अभियान अघि बढ्यो ।

नेपो वेविजको सो आन्दोलनले नेपा वेविज मात्र नभए भ्रष्टाचारको मुद्धालाई समेत अघि बढायो । २३ गते देशभर विरोध आयोजना गर्ने नेपो वेविज अभियान थालेको थियो ‘जेन जी पुस्ता’ ले । प्रविधिको युग सुरु भएपछि हाल १३ वर्षदेखि २८ वर्षका युवाको जेनेरेसनले गरेको आन्दोलन पोखरामा समेत भयो । हजारौं युवा सडकमा ओर्लिए ।

पोखराको सभागृहचोकदेखी सुरु भएको विरोध ¥याली न्यूरोड हुँदै मानवअधिकार चोकमा आयो त्यसपछि आन्दोलनकारी बाडिदै कोही महेन्द्र पुलतर्फ त कोही शहिद चोकतर्फ लागे । मानवअधिकार चोक देखी सिद्धार्थचोक, सिर्जनाचोक, रत्न चोक हुँदै शहिद चोकमा पुगेको भीडले निषेधाज्ञा तोड्दै मुख्यमन्त्रीको कार्यालयतर्फ हानियो । निषेधाज्ञा तोडेर अघि बढेको भिडलाई प्रहरीले छाड्यो तर, मुख्यमन्त्री कार्यालयमा एकाएक ढुंगा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त हुन पुग्यो ।

त्यतिबेला दिउँसो २ बजिसकेको थियो । त्यसपछि आन्दोलनकारीले सवारी साधन जलाएपछि गोली चलेको थियो । राज्यले बर्बर दमन गर्दा देशभर १९ भन्दा बढीले ज्यान गुमाएका थिए त्यसैको आक्रोशमा २४ गते भएको आन्दोलनले विद्रोहको रुप लियो । सिंहदरबारदेखि वडासम्म सबै जलाए । जेन आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

अवस्था सुधारोन्मुख छ : अस्पताल प्रशासन
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. भरत बहादुर खत्रीले गोली लागेको तीन जनाको उपचार भएको बताए । तीन जनामध्ये विवशको अवस्था केहि गम्भिर भएपनि हाल सुधारोन्मुख भइसकेको बताए ।

‘हामीले अस्पताल ल्याउने वित्तिकै उपचार गरायौं । आन्दोलनमा घाइते हुन सक्ने भन्दै हामीले आकस्मिक र आईसीयू तयार गरेर राखेका थियौं । २३ गते नै हो गम्भिर प्रकृतिका घाइते आएका अहिले उनीहरुको अवस्था सामान्य भइसकेको छ’ उनले भने ।

उनका अनुसार घाइतेको सबै खर्च राज्यले व्यहोरेको छ । जेन आन्दोलनमा उपचारको क्रममा एक जनाको मात्रै मृत्यु भएको उपकुलपति खत्रीले बताए । चितवनको भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल पोखरा–१६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको थियो । उनको ७० प्रतिशतभन्दा बढि शरिरको भाग जलेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->