पोखरा/ नवरात्रको पहिलो दिन सोमबार देशभरका कोतहरु र दसैंघरमा विधिपूर्वक जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा विधिपूर्वक जमरा राखिएको हो ।
यसैगरी आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् । गण्डकी प्रदेशको गोरखास्थित गोरखकाली र गोरखनाथ मन्दिरको दसैंघरमा जमरा राखिएको छ । यसैगरी प्रदेशका विभिन्न कोतहरुमा उक्त समयको साइतमा जमरा राखिएको छ । दसैंघरमा जमरा राख्ने साइतमा स्थानीयहरूले पनि घर/घरमा जमरा राख्ने प्रचलन रहँदै आएको छ ।
घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ ।
शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ । हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्रीदेवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।





