पोखरा/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक कार्यक्रमको सिलसिलामा युएई थिए । भदौ २२ र २३ गते जेनजीको प्रदर्शनमा भएको विध्वंस उनले प्रत्यक्ष देखेनन । तर, सामाजिक सञ्जालबाट थाहा पाए ।
उनी नेपाल फर्किँदा त सरकार फेरिइसकेको थियो । प्रतिनिधीसभा विघटन भइसकेको थियो ।
प्रदेशसभा विघटन नभएका कारण उनी अहिले पनि मुख्यमन्त्री नै छन् ।
तर, उनी मुख्यमन्त्री भएर काम गर्ने प्रशासनिक भवन छैन । प्रदर्शनकारीले पेट्रोल छर्केर आगजनी गरेका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सग्लो छैन । खरानी र आगोको राग केही मत्थर भएको छ ।
कार्यालयको सरसफाइ चलिरहेको छ ।
काम गर्ने कार्यालय मात्रै होइन, मुख्यमन्त्रीको निवास पनि प्रदर्शनकारीले छाडेनन् ।
त्यसपछि उनी मुख्य सचिव बस्ने क्वार्टरमा सरे । अहिले उनको निवासको सरसफाइ चलिरहेको छ ।
गण्डकीका नौमध्ये मालेपाटनमा रहेको भूमि, व्यवस्था तथा कृषि र रामघाटमा रहेको स्वास्थ्यबाहेक सबै मन्त्रालय आगजनीमा परे ।राष्ट्रबैंक चोक आसपास रहेको प्राय सरकारी कार्यालयमा आगजनी भयो ।
राष्ट्रबैंक चोकभन्दा केही तलमात्रै गण्डकीका मन्त्री क्वार्टर छन् ।
मन्त्रालयसँगै निवास पनि आगजनीमा परेपछि आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ पनि सचिव निवासमा बसिरहेका छन् ।
उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालको निवासमा आगजनी चाहिँ भएन । तर, लुटपाट भयो । केही पनि सामान बाँकी नरहेपछि बस्याल आफू प्रदेशसभा सदस्य हुँदा भाडामा लिएको डेरामा सरेका छन् ।
एकदुई दिन साथीहरुकहाँ बसेपछि भूमि व्यवस्था, कृषिमन्त्री पद्या जिसी श्रेष्ठ अहिले नवलपुरको आफ्नै घरमा छन् । उनी कहिले फर्किन्छन, निश्चित छैन । जिसीको मन्त्रालय भवन जोगिएतापनि निवासमा भने आगजनी हुन पुगेको थियो ।
घरदेखि, व्यावसायिक भवन, रिसोर्ट लगायतमा आगजनीबाट ठुलो क्षति व्यहोरेका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा भने काठमाडौंमा छन् । प्रदर्शनको बेला उनी पनि बाहिर थिए ।
मन्त्री भएर पनि क्वार्टर सुविधा नलिएका थापाको नयाँबजारको घर प्रयोग गर्न नमिल्नेगरि ध्वस्त भएको छ । उनको बगैँचा रिसोर्टदेखि अंशुभरा ग्रुपको कार्यालयमा समेत आगजनी भयो । एकजनाको व्यापारिक भवनभित्रै जलेको शव भेटिएको थियो । प्रदर्शनकारीले उनका भाइ धु्रव थापाको घर र हिमालय गु्रपको भवन पनि जलाएका थिए । यो घरमा पनि एकजनाको शव भेटिएको थियो ।
उनको सचिवालयका अनुसार बस्न मिल्ने ठाउँबारे अध्ययन गरिएको र तत्काल मर्मत पनि गरिनेछ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबाहादुर केसीको पनि मन्त्री निवासदेखि घरमा समेत आगजनी भयो । केसीले आफ्नो घरलाई मर्मत गरेर त्यहीँ बस्न थालेका छन ।
गण्डकी सरकारले सभामुख, उपसभामुखदेखि मन्त्रीहरुलाई आवास सुविधा उपलब्ध गराउँदै आएको छ ।
तर, प्रदर्शनकारीको निशानामा परेर आगजनी भएपछि गण्डकीकी उपसभामुख बिनाकुमारी थापाले पनि साथीहरुको घरमा केही दिन बिताइन् । नागढुंगामा रहेको सभामुख र उपसभामुख निवाससहित प्रदर्शनकारीले प्रदेशसभा नै खण्डहर बनाएका छन ।
सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभा प्रयोग नै गर्न नमिल्ने गरि ध्वस्त भएको छ । उपसभामुखको निवासमा धेरै क्षति पुगेको छ भने सभामुख निवासमा पनि केही क्षति पुगेको छ ।
उपसभामुखको निवास प्रयोग गर्न नमिल्ने भएपछि सभामुख निवासकै केही कोठालाई उपसभामुख निवास बनाइएको छ ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले सरकारी निवासमा भएको क्षतिको मूल्यांकनसहित त्यसलाई पुनप्रयोग गर्न मिल्ने वा नमिल्ने भन्नेबारे मंगलबार समितिले प्रतिवेदन बुझाउने बताए ।
पुनप्रयोग गर्न मिल्ने निवासलाई तत्काल शेयरिङमार्फत् बस्ने व्यवस्था मिलाइने उनले जानकारी दिए । सरकारी कर्मचारीहरुलाई पनि शेयरिङमा बस्न आग्रह गरिएको उनले जानकारी दिए ।
सरकारी संरचनाको मर्मत गर्ने वा निर्माण नै गर्ने भन्नेबारेमा यकिन भइनसकेको उनले जानकारी दिए । गुरुङका अनुसार प्रदर्शनका कारण गण्डकीका सरकारी संरचनामा मात्र दुई अर्बको क्षति पुगेको छ ।





