आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एक्लेसालको पहिरो हटाइयो, दक्षिणको यात्रा सहज

एक्लेसालको पहिरो हटाइयो, दक्षिणको यात्रा सहज

असारदेखिनै निरन्तरको पहिरो खस्ने क्रम चलेपछि सडक ठप्प थियो । पानी रोकिन लागेपछि नगरपालिका सडक संचालनमा अग्रसर भएको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८२, बिहिबार

बागलुङ/वडादशैंलाई लक्षित गरेर बागलुङ नगरपालिकाले झण्डै तीन महिना ठप्प रहेको मालढुंगा–कुश्मीसेरा सडकअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १० एक्लेसालको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएपछि सवारी चल्न थालेका छन् ।

एक्लेसालको पहिरोले पछिल्लो पाँच वर्षदेखि दक्षिण बागलुङबासीलाई सास्ती दिँदै आएको थियो । असारदेखिनै निरन्तरको पहिरो खस्ने क्रम चलेपछि सडक ठप्प थियो । पानी रोकिन लागेपछि नगरपालिका सडक संचालनमा अग्रसर भएको हो ।

नगरपालिकाले आफ्नै खर्चमा यो सडक खुलाउन लागेको हो । जति बजेट खर्चिए पनि पहिरोले सडक बगिरहेपछि खर्च धान्न नसकेर यो वर्ष काम भएको थिएन । मालढुंगा–कुश्मीसेरा सडक अवरुद्व भएपछि बागलुङ नगरपालिका–१२, १३ र १४ सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने यात्रीले सास्ती खेप्दै आएका थिए ।

वैकल्पिक सडकको रुपमा कालीगण्डकी करिडोरको कालाखोलामा गत साउन २४ गते खसेको पहिरोको जोखिम भने हटेको छैन । उक्त सडक खण्डमा पिकअप र जिप मात्र चल्ने गरेका छन् । बस र मालबहाक चल्न नसक्दा बुटवलबाट आउने ट्रकले खाद्यान्न लगायतका सामग्री ढुवानी गर्न सकेका छैनन् ।

‘‘पहिरोका कारण बलेवाको माथिल्लो भेगका नागरिक, भैरवस्थान मन्दिर जाने पर्यटक र दक्षिण बागलुङबासीलाई निकै दुःख भएको थियो’’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘‘पहिरो पन्छाएपछि दक्षिण बागलुङको यात्रा सहज भएको छ, अब कामना गरौं सडक अवरुद्व हुने गरी पानी नपरोस् ।’’

यात्रीको हित र दशैमा आउने पाहुनाले सहज यात्रा गर्न सकुन् भनेर सडक खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । मालढुंगा–कुश्मीसेरा सडकको दिगो व्यवस्थापन नभएपछि चालु आर्थिक वर्ष गण्डकी प्रदेश सरकारबाट ३ करोड रुपियाँ विनियोजन गरी पहिरो नियन्त्रण तथा सडक स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->