सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखराका राजु आचार्य एसियाका उत्कृष्ट १०० वैज्ञानिकमा, उल्लु संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मान

पोखराका राजु आचार्य एसियाका उत्कृष्ट १०० वैज्ञानिकमा, उल्लु संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मान


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८२, बिहिबार

 

पाेखरा/  एसियन बैज्ञानिकको एकसय सूचीमा यस वर्ष पोखराका वातावरणविद् तथा संरक्षण अभियन्ता राजु आचार्य समावेश भएका छन् । एसियन साइेन्टिस्ट पत्रिकाले प्रकाशित गरेको एशियन साइेन्टिस्ट १०० सूचीमा उनी परेका हुन् ।

सन् २०१६ देखि हरेक वर्ष प्रकाशन हुँदै आएको यो प्रतिष्ठित सूचीमा परेका आचार्य नेपालका पक्षी तथा वन्यजन्तु संरक्षण क्षेत्रका स्थापित व्यक्तित्व हुन् । पत्रिकाले एसियाका उत्कृष्ट वैज्ञानिक र अनुसन्धानकर्ताको नाम सार्वजनिक गर्ने क्रममा आचार्यलाई ‘२०२४ को व्हिट्ली अवार्ड’ प्राप्त भएको उपलब्धिका आधारमा सूचीमा राखेको हो। उनले नेपालमा उल्लुहरू (लाटोकोसेरो) को बासस्थान सुरक्षित गर्ने, सिकार रोक्ने र अवैध व्यापार नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी ढंगले अघि बढाएका छन्। सोही योगदानका कारण उनीलाई संरक्षण क्षेत्रमा उत्कृष्ट कार्यका लागि ‘ग्रीन नोबेल’ भनिने यो अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको थियो।

एसियन साइेन्टिस्ट पत्रिकाको मान्यताअनुसार यस सूचीमा पर्नका लागि वैज्ञानिक वा अनुसन्धानकर्ताले अघिल्लो वर्ष कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको वा महत्त्वपूर्ण वैज्ञानिक खोज तथा शैक्षिक वा औद्योगिक क्षेत्रमा उल्लेख्य नेतृत्व देखाएको हुनुपर्छ।

आचार्य फ्रेन्ड्स अफ नेचर नेपालका संस्थापक हुन्। उनले करिब दुई दशकदेखि नेपालमा जैविक विविधता संरक्षण, विशेषगरी उल्लु र अन्य पक्षीको अनुसन्धान तथा संरक्षणका क्षेत्रमा योगदान दिँदै आएका छन्। आचार्य नेतृत्वको टोलीले नेपालभरका विभिन्न क्षेत्रमा उल्लु गणना, जनचेतना अभिवृद्धि, विद्यार्थी तथा स्थानीय समुदायलाई संरक्षण अभियानमा सहभागी गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनको नाम एसियाली बैज्ञानिकको सूचीमा पर्नु नेपालका लागि गौरवको विषय बनेको र संरक्षण क्षेत्रमा सक्रिय अन्य अभियन्ताले आचार्यको यो उपलब्धि नेपालमै मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई पनि प्रेरणादायी सन्देश भएको बताएका छन्।

बैज्ञानिकमा सूचीकृत भएपछि आचार्यले आफ्नो फेसबुकमा लेखेका छन्, ‘एशियन साइण्टिस्ट नामक पत्रिकाले प्रकाशित एसियाका उत्कृष्ट १०० वैज्ञानिकहरूको सूचीमा मेरो नाम पनि देखेर खुसी लागेको छ। यो सूचीले एशियाभरका प्रभावकारी विज्ञान र नेतृत्वलाई सम्मान गर्छ। यो यात्रामा साथ दिनुभएका सबैलाई धन्यवाद ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->