गुन्डु, ललितपुर / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको बडादसैंको अवसरका खुला भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं रु हामीले यो देश बनाउनुपर्नेछ । फेरि संवैधानिक मूलधारमा देशलाई ल्याउँछौं । शान्ति सुशासनमा फर्काउँछौं ।’
बर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड आगजनीबाट बनेको ओलीले आरोप लगाए । आफूले कुनै षड्यन्त्र नगरेको भन्दै उनले थपे, ‘यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्यायोस् । हिम्मतका साथ प्रकाशित गरोस् । मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्यायोस् ।’
उनले आफू अहिले बसेको घर लोकेट गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासो गरे । ‘अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर लोकेट गरेर हमला गर्न जाओं भनेर तोकिएको छ, सरकार के हेरेर बसेको छ ?’ उनले भने, ‘सरकार अहिले सुविधा फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा लाउँछु भन्दै छ । असुरक्षामा देश हाल्ने अनि सुरक्षा दिनुपर्छ कि पर्दैन ?’
उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन ? भनेर प्रश्न समेत गरे । ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?,’ ओलीले भने, ‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?’
उनले मौसम पनि सधैं एकनास नहुने बताउँदै फेरि मुसुक्क हाँस्ने बताए । ‘खैर म भन्न चाहन्छु, मौसम पनि सधैं एकनास हुँदैन । फेरि मुसुक्क हाँस्छ । झरी बादलको समय आयो भनेर फेरि मुसुक्क हाँस्छ,’ उनले भने ।