पोखरा/जेनजी आन्दोलनले पोखरा महानगरपालिकासहित २३ वटा वडाहरुमा क्षति पुग्यो । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले हिंसात्मक रुप लिदा पोखरामा तीन जनाको मृत्यु भयो भने केहि घाइते भए । संगसंगै गण्डकी प्रदेशको राजधानी पोखरा जल्यो । सरकारी, व्यवसाय तथा नेताका घरहरु समेत जलाइयो । पोखरामा भदौ २४ गते १ बजेपछि जेन जी आन्दोलनले एकाएक अराजकता मच्यायो । पोखरा महानगरपालिकाबाट जलाउन सुरु गरेको आन्दोलनले प्रहरी कार्यालय समेत जलाए । आन्दोलनकारीले खोजी खोजी सरकारी कार्यालय जलाए । वडाहरु जलाए ।
पोखराका १३ वटा वडाहरु पूर्ण रुपमा जलेर खरानी भए । १० वटामा आंशिक क्षति हुन पुग्यो । अहिले खरानी टकटकाइएर उठिरहेको छ । वडा उठ्दा स्थानीय तथा सहयोगी दाताहरुले समेत हात दिएका छन् । कुनै वडा आफै उठिरहेको छ त कुनै वडा सहयोगीको साथ उठिरहेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले आन्दोलनकारी वडा कार्यालय पूर्ण रुपमा जलाएको सुनाए । असोज ९ गतेबाट नागरिकलाई पूर्ण सेवा दिएको र जलेको भवनको भुइ तलाबाट सबै सेवा दिएको सुनाए । उनका अनुसार वडामा रहेका सबै फाइल तथा भौतिक पूर्वाधार जलेर खरानी भएको थियो तर, स्थानीयहरुको सहयोगमा करिब २० लाख रुपैयाँ बराबरको सामान सहयोग प्राप्त भएको बताए ।
‘माथिल्लो तला ध्वस्त भएको छ केहि बाकी छैन त्यो दुई वर्ष अघि मात्रै बनाएका थियौं अहिले भुइँ तलबाट पूर्ण सेवा दिइरहेका छौं’ उनले भने, ‘हाम्रो वडामा १५ वटा गैरसरकारी संघ÷संस्था छन् ति बाट हामीलाई सहयोग प्राप्त भयो र समग्रमा २० वटा संस्थाले सहयोग गर्दा हामीलाई केहि अभाव छैन् । जलेका मेसिनरी र फर्निसिङ का सबै सामान हामीले पाएका छौं । अहिले वडाबाट हुने सबै सेवा निरन्तर भएको छ ।’
यस्तै वडा नम्बर १ का वडाध्यक्ष साहारा प्रधानले पनि पूर्ण सेवा दिएको बताए । वडा पूर्ण जलेपछि हुकुमवासीसहितको भेला बोलाएरै स्थानीयको सहयोगमा उठिरहेको सुनाए ।
पोखरा महानगरपालिका वडा ८ का वडाध्यक्ष रुद्र बरालले असोज २ गतेबाट वडाले सेवा दिइरहेको बताए । ९ महिनाअघि मात्रै नयाँ भवनमा सरेको वडामा महानगरपालिका आगजानी गरेपछि आएर आगजानी गरेको सुनाए । उनले जलेकै भवनको तेस्रो तलाबाट कामकारवाही अघि बढाएको सुनाए । जेन जी को नाममा घुसपैठ हुँदा पोखरा जलेको उनले बताए । वडामा एक करोड भन्दा बढीको क्षति भएको र अहिले स्थानीयको सहयोग प्राप्त भइरहेको बताए । सहयोग लिएका वडाहरूले नगद सहयोग भने लिएका छैनन् । उनीहरुले जिन्सी सामान सहयोग लिने गरेका छन् ।
वडा नम्बर ११, २ र ३ ले भने आफै उठ्ने साहस गरेको छ । आफुहरु स्थानीय सरकार भएकाले जनतासँग सहयोग लिन नमिल्ने भन्दै आफ्नै बजेटमा वडा बनाउने बताए । वडा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले वडा कार्यालय जलेर ध्वस्त भएका कारण तत्काललाई किरिया पुत्री भवनबाट सेवा दिएको सुनाए । अहिले सम्पत्ति करका लागि नयाँ सिस्टम लागु भएको हुनाले त्यसमा केहि ढिला भएको र त्यो बाहेक अन्य सबै सेवा दु्रत गतिमा चलिरहेको सुनाए । स्थानीयहरु वडा बनाउन र आवश्यक सहयोगका लागि आएपनि वडा नागरिकको सेवा लिने नभइ सेवा दिने स्थान भएकाले आफै बनाउने बताए ।
‘हाम्रो भवन अहिले संचालनमा छैन । हामीले बनाएको किरिया पुत्री भवन थियो अहिले त्यहीबाट सेवा दिइरहेका छौं । जनतासँग हामीले भोट माग्यौ अब अरु किन माग्ने ? आफैँ बनाउने महानगरको क्षमता छ । योजनाहरु कटौती गरेरै भएपनि हामी बनाउछौं’ उनले भने, ‘अहिले सेवा लिदा भोलि समस्या पनि त आउन सक्छ । कसैको सेवा लिने कसैको नलिने गर्न मिल्दैन तर सबै सहयोगी हरुको भावना स्वच्छ हुन्छ भन्ने पनि त हुँदैन ।’ उनको जस्तै वडा २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गको पनि छ । जलेको भवन सफाइमा अर्चलबोट र विन्ध्यवासिनी क्लबले सहयोग गरेपनि अन्य कुनै सहयोग वडाले नलिने सुनाए ।
‘खरानी भएका सामान टकटकाइएर हामी उठेका छौं । हामीलाई सहयोग गर्न प्रतिष्ठित व्यवसायीहरु पनि आउनुभयो तर, हामी जनतासँग सहयोग लिन सक्दैनौं । हामी सहयोग गर्ने राज्यको निकाय हौं’ उनले भने । जेन जी आन्दोलनको नाममा आतंककारी हमला भएको भन्दै लुटपाट, आगजानी र चोरी गर्नेहरुको पहिचान भएको र दशैँ लगत्तै उनीहरुलाई कारवाहीको दायरामा ल्याउने उनले बताए । दशैँ आएसँगै अहिले समाज असुरक्षित हुँदा नागरिक स्वयमले सुरक्षा गर्न आवश्यक रहेको र सबैले आफ्नो सुरक्षा आफै गर्नुपर्ने बताए । ‘जेन जी आन्दोलनको घटनापछि देश अहिले असुरक्षित छ । पोखरामा पनि धेरै चोरी, लुटपाट, कुटपिटदेखि सांकेतिक हमलाहरू भइरहेका छन् यो बेला आफै सुरक्षित हुने हो ।’ उनले भने ।
वडा ४ का वडाध्यक्ष देव कृष्ण पराजुलीले वडा कार्यालयबाट सेवा दिने अवस्था नभएकाले वडाले बनाएको बहुउद्देश्यीय भवनबाट सेवा दिइरहेको बताए । नागरिक तथा सहयोगीसहित संग कुनै सहयोग नलिएको र वडा आफै वडा बनाउन लागिपरेको उनले बताए ।
पूर्ण रुपमा जल्ने वडामा वडा नम्बर १, २, ३, ४, ५, ८, १०, ११, १२, १३, १४, १५ र १६ रहेका छन् । आंशिक हुने वडाहरु ६, ७, १७, १८, १९, २०, २५, २९, ३० र ३२ हुन् । १० वटा वटा सुरक्षित छन् । जसमा वडा नम्बर ९, २१, २२, २३, २४, २६, २७, २८, ३१ र ३३ रहेका छन् ।
यि मध्ये सम्भव हुनेले वडा भवन सेवा दिइरहेका छन भने सम्भवना नहुनेले अन्य विकल्पबाट भएपनि नागरिकका लागि सेवा दिइरहेका छन् । पोखरा महानगरपालिकाको कार्यालयले समेत पोखरा सभागृह र दमकल मार्गबाट सेवा दिइरहेको छ ।





