पोखरा/ जेन जी को प्रदर्शनका क्रममा भदौ २४ मा आगजनीमा परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सहिदचोकस्थित निवासमा फेरि आगजनी भएको छ । गए राति मध्यान्हतिर अज्ञात व्यक्तिहरूले आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतले मुख्यमन्त्रीको निवासमा दोस्रोपटक भएको आगजनीको पुष्टी गरे । ‘मुख्यमन्त्री निवासमा दोस्रोपटक गएराती आगजनी भएको हो’, बस्नेतले भने, ‘आन्दोलनकारीले हो की अरु कुनै समुहबाट हो, अनुसन्धानमा छौ ।’ कास्कीका प्रमुख जिल्ला अधिकारीका लागि बनाइएको उक्त भवनमा ०७४ मा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री बस्दै आएका थिए । निवासमा भदौ २४ गते जेन जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएकाे थियाे । प्रदेश सरकारले बनाएको भवन प्रयोग गर्न मिल्ने/नमिल्ने प्राविधिक समितिले यस भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भन्ने प्रतिवेदन बुझाएको थियो । प्रयोग गर्न मिल्ने प्रतिवेदन आएपछि भवनलाई मर्मत गर्ने तयारी गरिरहेको बेला फेरी आगजनी भएको हो । पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी खाट, कार्पेटलगायत सामान राखिएको थियो । आफ्नो निवासमा आगजनी भएपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।
जेनजी प्रदर्शनको आगजनीमा परेका गण्डकी प्रदेशमा १२ वटा कार्यालय प्रयोग गर्नै नमिल्ने गरी ध्वस्त बनेका छन् । ४८ भवनमा क्षति पुगेको छ । सरकारले उक्त आन्दोलनका कारण प्रदेशका संरचनामा मात्रै दुई अर्बको क्षति पुगेको निष्कर्ष निकालेको छ । प्रदेश प्रमुखको निवासमा सबैभन्दा बढी क्षति पुगेको प्राविधिक समूहको निष्कर्ष छ । प्रदेशसभा परिसरभित्रको संसदीय दलका कार्यालयहरू, कर्मचारी निवास र सोही परिसरमा रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन पूर्णरूपमा ध्वस्त भएको छ ।
सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालयको मुख्य भवन र शिक्षा विकास महाशाखालाई पनि पुनः प्रयोग गर्न नमिल्ने भनिएको छ । मुख्यमन्त्री निवासको हल, नीति तथा योजना आयोगको मुख्य भवन, योजना आयोग उपाध्यक्षको क्वाटर, यातायात व्यवस्था कार्यालय (सवारी), यातायात व्यवस्था कार्यालय (लाइसेन्स), आर्थिक मामिलामन्त्रीको क्वाटरलाई पनि पुनः प्रयोग नगर्न वा तत्काल भत्काउन भनिएको छ । प्रतिवेदनअनुसार, ‘रातो’ सूचीमा परेका भवनहरू अत्यन्तै जोखिमपूर्ण र तत्काल प्रयोगका लागि पूर्ण रूपमा असुरक्षित छन् ।
प्रतिवेदनअनुसार, १६ वटा भवनहरू पहेँलो सूचीमा छन् । अर्थात्, मध्यमस्तरको क्षति भए पनि तत्काल प्रयोगका लागि यी भवन पनि असुरक्षित मानिएका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको मन्त्री निवास, प्रदेश सभाको ‘लाइब्रेरी तथा गार्ड रुम’, ‘सुरक्षा क्वाटर’ र प्रदेश योजना आयोगका भवन परेका छन् ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, यातायात कार्यालय )सवारीका दुई भवन), यातायात कार्यालय (लाइसेन्सको एउटा भवन)०, वन तथा वातावरण मन्त्रालय र क्वाटर, प्रदेश प्रमुख कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र कृषि, सहकारी तथा भूमी व्यवस्था मन्त्रालयका भवन पहेँलो सूचीमा छन् ।





