पोखरा/जेनजी आन्दोलको क्रममा कास्कीको रुपा गाउँपालिका ५, का अमृत गुरुङको हत्या गरियो । आपराधिक समूहले प्रहरी सहायक हवलल्दार पदमा कार्यरत उनलाई प्रहरी प्रभाग कोटेश्वरमा नै पसेर धारिलो हतियारले आक्रमण गरेका थिए । कतिसम्म भने, भुइँमा ढलेका उनको कुटीकुटी पाशविक हत्या गरिएको थियो । ३१ वर्षीय गुरुङले ९ महिनाअघिमात्र आमा गुमाएका थिए । अमृतको हत्यापछि ६० वर्षीय पिता, श्रीमती कान्ति र २ वर्षको छोराको सहारा गुमेको छ ।
अमृतमात्र हैनन्, जेनजी आन्दोलनको क्रममा महाराज वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) मिलन राय र दार्चुलाका उत्तम थापालाई पनि आन्दोलनकारीले कुटीकुटी मारे । मृत शरीरलाई घिसारेर सडकमा ल्याउने र शवमाथि पिसाब फेर्ने घृणित कार्य पनि भयो । आन्दोलनको क्रममा जनपद सयौं प्रहरी घाइते बनेका छन् । कति उपचारपछि घर फर्केका छन् त केहीको चोट अझै निको भएको छैन । सबैभन्दा ठूलो चोट त उनीहरुको मनमा परेको छ ।सधैं अग्रपंक्तिमा खटिने जनपद प्रहरीले जेनजी आन्दोलनको क्रममा सुरक्षाका बाँकी दुई अंग नेपाली सेना र सशस्त्र प्रहरीबाट पनि सहयोग पाएन । माथिल्ला हाकिमहरुले भदौ २४ गते गोली चलाउने आदेश पनि दिएनन् ।
‘हाम्रा हाकिमहरुले समयमै भीड रोक्ने रणनीति बनाएको भए, आर्मी र सशस्त्रले सहयोग गरेको भए हाम्रा साथीहरु मर्दैनथे, घाइते पनि कम हुने अवस्था थियो तर हाकिमहरु दिउसै आर्मीको ब्यारेक र अन्यत्र गएर सुरक्षित बने,’ जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरीले भने,‘साँझतिर आफ्नो सुरक्षा गर्ने, हतियार पनि लिएर हिँड्ने भन्ने आदेश आयो । आँखै अगाडि हतियार लुटियो । तोडफोड र आगजनी भयो । त्यो दिन साह्रै नरमाइलो लाग्यो ।’
त्यस दिन भोगको त्रासदीबाट उनी र उनीजस्ता प्रहरीहरु मुक्त हुन सकेकै छैनन् । मानशिक रुपले काममा फर्कने जाँगर पनि देखिएको छैन ।
‘देशको सेवा गरेको छु, सरकारको नुन खाएको छु भन्ने थियो तर अहिले बाहिर निस्केर प्रहरी हुँ भन्न पनि लाज लाग्ने भएको छ,’ उनले गुनासो पोख्दै भने, ‘आन्दोलनमा हाम्रा साथी मारिए, घाइते भए तर हाम्रोबारे कसैले बोेलेनन् । श्रद्धाञ्जली दिन पनि कञ्जुस्याइँ गरियो । साथीहरुले पहिल्यै जागिर छाडेर विदेश हानिएर ठीक गरेछन् भन्ने भएको छ ।’
मानशिक रुपले विक्षिप्त रहेका तिनै प्रहरीहरुलाई यो दशैं पनि नआउने भएको छ । सुरक्षा संयन्त्रमा काम गर्नेहरुले चाडबाड भन्न पाउँदैनन् तर पालो मिलाएर प्रहरीले दशैंमा बिदा दिने गरेको थियो । अहिले चाहिँ सुरक्षा अवस्था देखाउँदै दशैंमा बिदा दिइएको छैन । जेनजी आन्दोलनले सुरक्षा चुनौती थपेको र त्यसको सामना गर्नुपर्नै भन्दै प्रहरीमा दशैं, तिहार तथा छठमा बिदा नदिने निर्णय भएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले दशैंको समयमा समेत प्रहरी नागरिकको सुरक्षामा खटिने जानकारी दिए । जेनजी आन्दोलनपछिको अवस्थाका कारण नागरिकमा डर–त्रास पैदा भएको स्थिति रहेको छ । सोही अवस्थालाई अन्त्य गर्दै शान्ति सुरक्षा कायम गराउनका लागि प्रहरी बिदामा जान नपाउने भएका हुन् ।
‘अहिले त माहोल यस्तो छ । अब सुत्केरी बिदा, किरिया बिदा, बिरामी त्यस्तो भएकोलाई आवश्यकता अनुसार दिइएको (बिदा) छ । अब सबैलाई बिदा दिने अवस्था नै छैन । चाडपर्वमा सबै खटिएको छ धेरै खटिएकाले पठाउने अवस्था नै कम होला,’ उनले भने, ‘जेनजीको असर परेको छ । प्रदेशभर चाडपर्व लक्षित सुरक्षा योजना अघि सारेका छौं । नागरिकले ढुक्क भएर चाडपर्व मनाउन सक्नुहुनेछ ।’
प्रदेशभर ५ हजार ५ सयभन्दा बढी प्रहरी खटिएका छन् । प्रदेश देखी जिल्लाहरुमा कमान्ड पोष्ट निर्माण गरिएको उनले बताए । जेनजी आन्दोनलको क्रममा क्षति भएका भवनको सुरक्षा, कारागारबाट भागेका कैदी र हराएका हतियारको खोजी कार्यसमेत तीव्र भइरहेको उनले सुनाए ।
‘सबै सुरक्षा निकायसँग समन्वय र सहकार्य भइरहेको छ । यतिबेला हराएका हतियारको खोजतलास, कारागारबाट भागेका मान्छेहलाई ल्याउने वातावरण, ट्राफिकसँग सम्बन्धित विषयलाई ध्यानमा राखेर सबै जिल्लामा हेल्प डेस्कसमेत राखेका छौं । जिल्ला र त्यहाँका बसपार्कहरुमा परिचालन भएको छ,’ कार्कीले थपे, ‘कहीँकतै केही भएमा वा समस्यामा परेमा तत्काल प्रहरीलाई खबर गर्न पनि अनुरोध गर्छौ ।’ प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन, गस्ती क्षति भएका भवनको सुरक्षाका लागिसमेत आवश्यक योजना अघि सारेको उनले सुनाए ।
प्रदेशको राजधानी पोखरामा जिल्ला प्रहरी कार्यालय कास्कीलेसमेत चाडपर्व विशेष सुरक्षा योजना अनुसार नौ सय २३ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङखल गतिविधि नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाई अशान्ति फैलाउने, जुवा–तास खेल्ने खेलाउने जस्ता गतिविधि नियन्त्रण गर्न सो योजना अघि सारेको हो । प्रहरीले यो समयमा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारवाही समेत गर्नेछ । सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारवाही तथा सहजीकरण गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दैनिक रुपमा कुकरसहितको चेकिङ गर्नेछ ।





