बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङको राइनासमा युवकको हत्या, एक पक्राउ

लमजुङको राइनासमा युवकको हत्या, एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८२, सोमबार

लमजुङ/ लमजुङको राइनास नगरपालिका–४ सातबिसेस्थित निर्माणाधीन राइनास नगर अस्पतालमा कार्यरत २२ वर्षीय विशाल दाहालको आफ्नै साथीले हत्या गरेको खुलासा भएको छ।

आइतबार दाहाल कोठामा मृत फेला परेपछि प्रहरी चौकी तीनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनास्थलको निरीक्षण गर्दा मृतकको टाउको पछाडि चोट लागेको, नजिकै रगतले लतपतिएको ढुंगा भेटिएको र कोठाको ढोका बन्द तर झ्याल खुला अवस्थामा रहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रेशम बोहराले आफैं अनुसन्धान अघि बढाएका थिए।

गण्डकी प्रदेश प्रहरी कार्यालयमार्फत तालिमप्राप्त कुकुर समेत मगाई अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा मृतक केही समयदेखि राइनास नगरपालिका–४ का ३० वर्षीय सागर परियारसँग घुलमिल हुने गरेको, दुबैजना मादक पदार्थ सेवन गर्ने गरेको र घटनाको अघिल्लो रात शनिबार साँझ सँगै रहेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि परियारलाई सोमबार बिहान ४ बजे सदरमुकाम बेसीशहरस्थित उनको साथीको कोठाबाट पक्राउ गरिएको हो। सोधपुछमा उनले शनिबार बेलुकी छिमेकको पसलबाट रक्सी र मासु किनी दाहाल बस्ने कोठामा गएको र विहानपख ३–४ बजेसम्म दुबैजना बसेर रक्सी खाने क्रममा विवाद हुँदा ढुंगाले प्रहार गरी दाहालको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय, आफन्त र जनप्रतिनिधिको रोहबरमा ढोका फोडी भित्र हेर्दा मृतकको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको पुष्टि भएको बताएको छ। प्रारम्भिक अनुसन्धान र मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ। हाल आरोपी सागर परियार प्रहरी नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->