बागलुङ/धार्मिक गन्तव्यको रुपमा नाम कमाएको बागलुङ कालीकामा यतिबेला चहलपहल छ । भक्तजनहरु पुजाकालागि आइरहेका छन् । तर देशको राजनीतिक परिस्थितिले सोचेझै भक्तजन आएका छैनन् । अघिल्ला बर्षको तुलनामा यहाँ भक्तजन र पर्यटक आधा घटेका छन् ।
बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको तथ्यांकमा समेत अघिल्ला बर्षको तुलनामा भक्तजनको संख्या ५० प्रतिशत घटेको छ । अध्यक्ष कुमार खड्काले भक्तजनको आगमन ५० प्रतिशत घटेको स्पष्टै देख्न सकिने बताए । ‘दुई तीन लाइन गरेर पूजा व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने कालीकामा अहिले सहजै दर्शन गर्न सकिने अबस्था छ’ खड्काले भने, ‘देशको राजनीतिक परिस्थितिको असर यता पनि आइपरेको छ ।’ तीन साता अघि राजधानी सहित देशभर भएको जेनजी आन्दोलनपछि देशको अबस्था बिषम बनेको छ ।
एकसातादेखि अबिरल बर्षातले देशका मुख्य राजमार्ग समेत अबरुद्द छन् । यात्रामा निस्केका सयौं यात्री अलपत्र परेका दृश्य देखेपछि राजधानी सहित चितवन, बुटवल लगायतका स्थानबाट आउने भक्तजन र चाडपर्वमा घुम्न निस्कने पर्यटक समेत नआाएपछि मन्दिरमा पनि सोचेजस्तो भीड नभएको हो ।
यो मौषममा मुक्तिनाथ, ढोरपाटन र रारा जाने पर्यटक समेत हिडेका छैनन् । सडक र राजनीतिक परिस्थितिले अधिकांसले भ्रमण रद्द गरेका छन् । बिद्यालयहरुको परीक्षा संचालन भैरहेकोले कतिपय बिद्यार्थी र अभिभावक समेतले फुर्सद नपाएका हुन् । ‘ढोरपाटनको यात्रा गर्ने, बागलुङ कालीका पनि दर्शन गर्ने योजना राजनीतिक घटनाक्रमले अबरुद्द भयो’ काठमाण्डौका दिनेश रेग्मीले भने, ‘बर्षातले पनि यात्रामा निस्कन कठिन भयो ।’ उनले अहिलेको भ्रमणलाई हिउँदकालागि सारेको बताए ।
बागलुङ कालीका मन्दिरमा आउने भक्तजनको संख्या कम भएसँगै बागलुङ बजारको व्यवसायमा समेत असर परेको छ । ठेलमठेल मानिस देखिने बागलुङ बजारमा अहिले कमी देखिएको स्थानीयको भनाइ छ । ‘बजारभर मानिस देखिन्थे, सबै पसलमा व्यवसाय गर्ने फुर्सद समेत हुन्थेन’ बागलुङ नगरपालिका २ का राजु पौडेलले भने, ‘अहिले पसलमा को छिर्ला भन्नुपर्ने अबस्था छ ।’ दशैको रौनकता पछिल्ला बर्ष कम भैसकेको उनले बताए । राजधानी गएकाहरु गाउँ फर्कंदा आउने रौनक आजकल हराएको उनले बताए । अधिकांस सहर पसेकाहरु दशैमा समेत गाउँ नआउने गर्दा बाटोघाटो सफाइ गर्ने काम पनि नभएको बानपा १० का अध्यक्ष तिलबहादुर थापाको अनुभव छ । भन्छन्, ‘पहिला धेरै युवा जुटेर भत्केबिग्रेका सडक र गोरेटा बनाउनेहरु छैनन्, बरु भत्केको सडक बनाउन नगरको बजेट आस गर्ने बढेका छन् ।’
गत असार साउनमा भरिभराउ भएको ढोरपाटन समेत अहिले सुनसान जस्तै भैसकेको स्थानीयको भनाइ छ । मौषम सफा भएपछि घुम्न निस्कनेहरु यो बर्ष निस्केका छैनन् । रारा तालको यात्रामा निस्कने पछिल्लो समय बागलुङलाई समेत ट्रान्जिट बनाउन थालेका छन् । तर राजनीतिक र बर्षातले यात्रामा आउनेहरु नभएपछि त्यस्ता पर्यटक नदेखिएको होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीको भनाइ छ । उनले होटल भरिभराउन गराउने सिजन भएर पनि खाली भैरहेको बताए ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन शाक्यले देशको बिषम परिस्थितिले व्यवसायमा असर परेको बताए । कुनै घटनाक्रमले राजनीतिक परिवर्तन भएपनि पर्यटकहरु हिड्नै नसक्ने अबस्था आउन नहुनेमा त्यही भैरहेको उनले बताए । पर्यटकीय सिजनमा पोखरा, काठमाण्डौ र चितवन लगायतका स्थानमा होटल र अन्य स्थानमा भएका आगजनी समेतले पर्यटन व्यवसायलाई नकारात्मक असर परेको व्यवसायीको भनाइ छ । त्यो यथार्थता समेत भएको पोखरा र काठमाण्डौमा भएका प्रारम्भिक अध्ययन र क्षतिको मूल्यांकनले समेत देखाइसकेको छ ।





