पोखरा / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी दिनमा उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै सडक विभाग मातहतका सम्पूर्ण कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
मन्त्रालयले विज्ञहरूको विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनालाई आधार मानेर आफ्ना सबै डिभिजन प्रमुख तथा योजना प्रमुखलाई कार्यालयका इन्जिनियर र अपरेटरसहित कार्यक्षेत्रमै सुरक्षित रूपमा उपस्थित रहन आग्रह गरेको हो।
मन्त्रालयले जारी गरेको निर्देशनमा भनिएको छ, ‘विपद्पछि चाहेर पनि कार्यक्षेत्रमा पुग्न नसक्ने अवस्था आउन सक्छ, त्यसैले अग्रिम तयारी स्वरूप आफ्ना स्थानमा सुरक्षित पुगेर ब्याकअप प्लान सहित सम्भावित विपद्को लागि तयार रहनु बुद्धिमानी हुनेछ।’ विशेष गरी नागढुंगा–मुग्लिन सडक, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, पूर्व पश्चिम राजमार्गको दाउन्ने लगायत खण्डमा जोखिम उच्च हुन सक्ने भन्दै मन्त्रालयले ती सडक क्षेत्रमा अतिरिक्त तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
मौसमविद्हरुको सुझाव– ‘भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित हुन्छ’
शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गर्नु नै उपयुक्त हुने सुझाव दिएका छन् ।
सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै उनीहरुले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् । मौसमविद्हरुका अनुसार, दशैंको दिन (विहीबार) देखि नै सामान्य झरी परेको थियो भने शुक्रबार अपराह्नदेखि काठमाडौं लगायतका ठाउँमा पानी पर्ने सम्भावना छ । भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ ।
भारतको मौसम विज्ञान विभागले शुक्रबार देखिनै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरेको छ । त्यहाँ विकसित भएको प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने मौसमविद्हरु बताउँछन् । शनिबारदेखि नै वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेशभर नै पानी पर्नेछ ।
पश्चिममा बुटवल र भैरहवादेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ ।
जोखिमयुक्त राजमार्ग मात्रै होइन, अति भारी वर्षाका बेला काठमाडौं उपत्यकाकै आवतजावत नियन्त्रित हुनुपर्ने विज्ञहरु बताउँछन् ।
यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका ठाउँमा शनिबार र आइतबारसम्म सक्रिय हुँदै पूर्वी नेपालबाट बाहिरिने छ । देशभरको मौसममा क्रमिक सुधार हुन सोमबार बिहानसम्म लाग्ने मौसमविद्हरुको आँकलन छ ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक अवस्था देखाए पनि गत वर्ष ११–१२ असोजकै हाराहारीमा पानी पर्ने सम्भावना रहेको मौसमविद् डा. विनोद पोखरेल बताउँछन् । ‘शनिवार अपरान्हदेखि नै राजमार्ग बन्द गरिदिनु उपयुक्त हुन्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अध्यापक पोखरेल भन्छन्, ‘चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएकाले यात्रुहरुको चाप बढी हुने ती ठाउँका राजमार्ग बन्द गर्नु नै उचित हो ।’
यसपालि भारी वर्षा हुने सम्भावित ठाउँमा काठमाडौं उपत्यका र विशेष गरी दक्षिणी भाग देखिएको छ । त्यस्तो अवस्थामा राजमार्ग सञ्चालन गरेर यात्रुहरुको ज्यान जोखिममा पार्नुभन्दा बन्द गर्नु नै उचित हुने पोखरेलको सुझाव छ । काठमाडौं भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन–नागढुंगा राजमार्गका विभिन्न ठाउँहरु यसै पनि पहिरोको जोखिममा छन् । त्यसैगरी हेटौंडाबाट काठमाडौं आउने सडक, बनेपा–बर्दिबास राजमार्ग अनि वरपरका जिल्लाबाट राजमार्ग छिर्ने सडकहरुलाई बन्द गर्नु उचित हुने उनीहरु बताउँछन् ।
केही मोडेलहरुले मुग्लिन आसपासको क्षेत्रमा पनि भारी वर्षा हुने सम्भावना देखाएको छ ।
भारी वर्षाको प्रक्षेपणसँगै बीपी राजमार्ग, काठमाडौं–हेटौंडा जोड्ने कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाइसकेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ ।





