सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पदयात्रामा नजान र केही स्थानका लागि चार बजेपछि सवारी नछुटाउन कास्की प्रशासनको अनुरोध

पदयात्रामा नजान र केही स्थानका लागि चार बजेपछि सवारी नछुटाउन कास्की प्रशासनको अनुरोध


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०८२, शुक्रबार

पोखरा / ग्रामीण इलाका क्षेत्रमा आकर्षक र रमणीय पदयात्राका लागि प्रख्यात रहेको कास्कीमा शुक्रवारदेखि चार दिनसम्म पदयात्रा नजान जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमान गर्दै असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुनसक्ने बताएपछि प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो अनुरोध गरेको हो । पूर्वानुमानका आधारमा उत्पन्न हुनसक्ने बाढी, डुबान, पहिरो, भूक्षय, हिमपात लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना समेतलाई मध्यनजर गर्दै पदयात्रामा नजाने सहितका अन्य अनुरोधहरू प्रशासनले गरेको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकोले जिउ ज्यानको सुरक्षालाई ख्याल गर्दै अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका कुनै पनि स्थानमा पदयात्राका लागि ननिस्कन, अत्यन्त जरुरी काम नभई घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाहरूलाई पालना गर्न अनुरोध गरिएको छ । पहिरोका उच्च जोखिम रहेका स्थान र नदी किनारका बासिन्दाहरू बाढीको उच्च बहाव हुन लागेमा जोखिमयुक्त स्थानमा नबसी अन्य उपयुक्त र सुरक्षित स्थानमा बस्न भनिएको छ ।

जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूले आपतकालिन अवस्थामा उपयोग गर्नको लागि आवश्यक पर्ने सामग्री, औषधि, महत्त्वपूर्ण कागजात तथा धनमाल सहितको झटपट झोला तयार गर्न, राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारी साधनलाई संयमपूर्वक सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन लगायत सुरक्षित यात्राका लागि सतर्कता अपनाउन यातायात व्यवसायीले आफू मातहतका सवारी चालक एवं सहचालकहरूलाई सचेत गराउन, पनि प्रशासनले अनुरोध गरेको छ ।

यस्तै पर्यटकीय क्षेत्र विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रकु र काहुँखोलादेखि ताङतिङ, सिक्लेस जाने सवारी साधनहरू असोज १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दिउँसो चार बजेभित्र प्रस्थान बिन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने र एवं सोही सडक हुँदै फर्किने सवारी साधनहरू असोज १८ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि बिहान पाँच बजेपछि प्रस्थान बिन्दुबाट गन्तव्यसम्मका लागि छुट्ने व्यवस्था मिलाउन भनिएको छ ।

सिद्धार्थ राजमार्ग, भूपी शेरचन राजमार्ग (पोखरा–बागलुङ), बेगनास ताल–भोर्लेटार सडक खण्ड, मुग्लिन–पोखरा सडक खण्ड र अन्य जोखिमयुक्त सडक खण्डहरूमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर, लोडर लगायतको हेभी इक्युपमन्टहरु सम्बन्धित कार्यालय, आयोजना तथा निजी क्षेत्रले तयारी अवस्थामा राख्न, स्थानीय तहहरू, नेपाल रेडक्रस सोसाइटी, साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाज तथा सरोकारवाला नियकाहरु विपद् पूर्व तयारीमा जुट्न र आवश्यक प्रतिकार्यको लागि तयारी अवस्थामा रहन पनि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->